शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उद्घाटन अघि दुलहीझैँ सिँगारियो रेल

शनिबार, १९ चैत २०७८, ०९ : ५१
शनिबार, १९ चैत २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने  कार्यक्रम रहेको छ । लामो समयको पर्खाइपछि जयनगर–कुर्था रेलसेवा औपचारिक रूपमा सञ्चालन हुने भएपछि उद्घाटन तयारीका लागि कर्मचारीहरू खटिएका छन् ।  उद्घाटन अघि भारतको जयनगरमा रेललाई फुलहरूले चिटिक्क पारेर सजाइएको छ । कम्पनीले खरिद गरेको करिब दुई वर्ष बित्नलाग्दा समेत रेल सञ्चालनमा  नहुँदा स्थानीय एवं रेलका कर्मचारी आत्तिएका थिए ।  आज रेलवे सेवा उद्घाटन हुने भएपछि उनीहरु उत्साहित देखिएका छन् ।

औपचारिक रुपमा जनकपुर–जयनगर रेल सेवाको उद्घाटन भएपछि यात्रुले विभिन्न नियमको पालना गर्नुपर्ने भएको छ । रेल उद्घाटन भएर सञ्चालनमा आएपछि रेलमा भारतसम्म जानका लागि नेपाली नागरिकले केही कागजातहरु साथमा राख्नुपर्ने गरी नियम बनाइएको छ ।  सुरक्षा र खुल्ला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने हुन्छ । नागरिकता नभएमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र भएपनि हुने झाले जानकारी दिए ।  यस्तै आकस्मिक प्रवेशका महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटो सहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ ।  त्यस्तै १० देखि १८ वर्ष उमेर मुनिका बालबालिकाको हकमा स्कुलको फोटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्ने झाले बताए ।

शनिवार १२ बजेदेखि १२:३० बजेसम्म रेल्वे उद्घाटनको समय तालिका रहेको छ । त्यसका लागि आवश्यक तयारी लगभग पुरा भएको छ ।  झाका अनुसार जनकपुर रेल्वे स्टेशनमा मञ्च निर्माण गरिँदैछ । जयनगरमा अतिविशष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको छ । दुबै देशका प्रधानमन्त्रीले रेल्वे उद्घाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ ।

प्रत्येक स्टेशनमा बालबालिका तथा छात्रछात्राले नेपाल–भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन् ।  यस्तै हल्ट स्टेसनमा स्वागत तथा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ । स्वागतका लागि बसेकालाई समेत सो रेलमा चढाएर कुर्थासम्म लगिने छ । कुर्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसमेत रेलमा चढेर जनकपुरसम्म आउने र त्यहाँ उद्घाटनको अन्य कार्यक्रम हुने कार्यतालिका रहेको छ । गत फागुन १ देखि नै जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रु बिनाको) रेल दैनिक एक पटक सञ्चालन हुँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप