शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हेटौँडामा किन स्थापित हुन सकेन वैकल्पिक शक्ति ?

शनिबार, १० वैशाख २०७९, १३ : ५९
शनिबार, १० वैशाख २०७९

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वैकल्पिक राजनीतिको मुद्दा बोकेर विवेकशील नेपाली दल हेटौँडामा पनि प्रवेश गर्‍यो । देशमा संघीयता आएपछिको पहिलो निर्वाचनमा अन्य दलहरू भन्दा आफू फरक रहेको दाबी गर्दै विवेकशील नेपाली र नेकपा माओवादी केन्द्रबाट विभाजित डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले बागमती प्रदेशको राजधानी हेटौँडामा पनि आफ्नो प्रचार प्रसार राम्रै गरेको थियो । 

दुवै दलहरूले हेटौँडासहित मकवानपुरका अन्य स्थानीय तहमा पनि आफ्नो सञ्जालहरू विस्तार गर्ने क्रम तीव्र पारेको थियो । मकवानपुरका सबै पालिकामा नयाँ शक्तिको उपस्थिति थियो भने विवेकशील नेपाली दलको हेटौँडा उपमहानगरपालिकामा उपस्थिति थियो । विवेकशील नेपाली दलको मकवानपुरमा जिल्ला समिति र हेटौँडा उपमहानगरपालिका समिति गठन भई विभिन्न राजनीतिक गतिविधिहरू सञ्चलन गरिरहेको थियो भने नयाँ शक्ति नेपालले देश र जनताको समृद्धिको सपनालाई सम्बोधन गर्न वैकल्पिक राजनीति महाअभियानमा सुरु गरेको थियो । छोटो समयमा नयाँ शक्ति देशको वैकल्पिक राजनीतिक शक्ति बन्न अग्रसर भइरहेको थियो ।  

यता विवेकशील नेपाली दलले पनि हेटौँडा लगायतका क्षेत्रमा आफ्नो उपस्थिति र देश परिवर्तनमा युवाहरूको नेतृत्वको आवश्यकताका बारेमा वृहत् रूपमा प्रचारबाजी गरिरहेको थियो । युवाहरूको बाहुल्यता रहेको विवेकशील नेपाली दल २०७४ को स्थानीय तहको निर्वाचनमा सहभागी भएन । सो पार्टीले दल दर्ता नगर्दा निर्वाचनमा सहभागी हुन पाएन । विवेकशील नेपाली दलका उम्मेदवारहरू स्वतन्त्र रूपमा निर्वाचनमा होमिए तर पराजित भए ।

नयाँ शक्तिको विगतको हेटौँडाको नजिता 

नयाँ शक्ति नेपाल भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा सहभागी भयो । सो दलले तर्फबाट हेटौँडाको उपमेयर पदसहित वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएको थियो । हेटौँडाको उपमेयरमा नयाँ शक्ति नेपालकी पुनम भट्टराई खतिवडा उम्मेदवार थिइन् । उनले सो निर्वाचनमा १ हजार १५३ मतसहित चौथो स्थानमा सीमित भइन् । 

पार्टीले हेटौँडाको १९ वटा वडामध्ये १५ वटा वडामा उम्मेदवार उठाएको थियो । हेटौँडाको वडा नम्बर ७, १४, १६, १७ र १८ मा नयाँ शक्तिले उम्मेदवार उठाएन । सो निर्वाचनमा नयाँ शक्तिको हेटौँडा–१ का उम्मेदवार गणेशबहादुर विश्वकर्माले १२ मत, हेटौँडा–२ का हरिविष्णु वाइवाले १८ मत, हेटौँडा–३ का हितबहादुर पुलामीले २६ मत, हेटौँडा–४ का रामकुमार थापाले १३६ मत, हेटौँडा–५ का शिवबहादुर थापाले २० मत, हेटौँडा–६ का शिवप्रसाद भट्टराईले २३ मत, हेटौँडा–८ आइत सिं रुम्वाले २५ मत, हेटौँडा–९ प्रेमप्रसाद वोलखेले ९८ मत, हेटौँडा–१० कृष्णबहादुर लामाले १५ मत, हेटौँडा–११ गुणराज बानियाँ क्षेत्रीले ८ मत, हेटौँडा–१२ का औतार सिं गोलेले ६७ मत, हेटौँडा–१३ का विकास वाइवाले ६१ मत, हेटौँडा–१५ का ईश्वर पाख्रिनले ३० मत, हेटौँडा–१७ नारायण ढकालले ६ मत र हेटौँडा–१९ का राजकुमार भेटवालले ७६० मत पाएका थिए ।

संसदीय निर्वाचनमा विवेकशील साझाको अवस्था

गएको २०७४ सालको संसदीय चुनाव अघि विवेकशील नेपाली दल र साझा पार्टी बीच एकता घोषणा भयो र दुवै दल एक भएर चुनावमा होमिए । मकवानपुरमा पनि सो दलले निर्वाचनमा सहभागिता जनाएको थियो । सो निर्वाचनमा मकवानपुरमा विवेकशील र साझा पार्टीको एकताबाट बनेको विवेकशील साझा पार्टीले राम्रो नतिजा हात पर्ने आङ्कलन गरिएको थियो । तर त्यसो हुन सकेन । 

संसदीय निर्वाचनमा मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट सरोज कोइराला उम्मेदवार बने । उनले १ हजार ३५६ मत पाए भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट सिंहबहादुर मोक्तानले ४६९ मत पाए ।

प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र नम्बर १ (क)बाट मुकेश चौधरीले २८१ मत पाए भने १ (ख)बाट प्रतिभा डंगोलले १ हजार ६१४ मत पाइन् । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा तर्फ भने सो पार्टीले उम्मेदवार उठाएन ।

संसदीय चुनावमा नयाँ शक्तिको अवस्था

नयाँ शक्ति नेपालले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा प्रह्लाद लामिछानेलाई उम्मेदवार उठाएको थियो । उनी निर्वाचनको तयारीमा रहेका बखत केन्द्रीय निर्णय अनुसार उनलाई उम्मेदवारबाट फिर्ता बोलाइयो र काँग्रेस राप्रपाको एलाइन्स अनुसार कमल थापालाई सधाउन भनियो । 

उनले पार्टीको सो प्रस्ताव चित्त नबुझेको भन्दै नयाँ शक्ति नेपाल त्यागेर एमालेमा आबद्ध भए । उनले सो निर्वाचनमा १७१ मत पाएका थिए । हाल उनी एमाले छोडेर माओवादी केन्द्रमा आबद्ध भएका छन् । उनी २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट मकवानपुरको निर्वाचन क्षेत्र ३ बाट निर्वाचित सदस्य हुन् ।

यता २०७४ को संसदीय निर्वाचनमा नयाँ शक्तिले मकवानपुरको क्षेत्र नम्बर २ बाट सोनाम सिं स्याङ्तानलाई उम्मेदवार बनायो । उनले सो निर्वाचनमा ६२१ मत पाएका थिए ।

प्रदेशसभा तर्फ मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ (क)काट नयाँ शक्तिका नारायण प्रसाद सापकोटाले ५९ मत पाए भने क्षेत्र (ख)बाट राजन मैनालीले २४७ मत पाए । निर्वाचन क्षेत्र नम्बर २ (क)बाट ध्रुवराज ढकालले ३७९ मत र (ख)बाट प्रकाश कुमार मैनाली २९७ मत पाएका थिए । 

संसदीय निर्वाचन लगत्तै यी दुवै पार्टी भित्र तीव्र विरोध सुरु भयो र केही नेता तथा कार्यकर्ताहरू त्यहाँ बाट अलग भए । सोही क्रममा विवेकशील साझा पार्टी भने फुट्यो । 

राजनीतिक दलको टुटफुट कुनै नौलो कुरा होइन । तर वैकल्पिक राजनीतिका कुरा गर्ने दलको लागि यसले महत्त्वपूर्ण अर्थ राख्ने गर्दछ । त्यसैले विवेकशील साझा पार्टीको फुटले धेरै नेपाली जनतालाई झस्काएको छ । त्यसको असर मकवानपुरसहित हेटौँडामा पनि देखिएको छ । अहिले हेटौँडामा यी दुवै पार्टीको अस्तित्व नै सङ्कटमा रहेको छ ।

नयाँ शक्ति नेपाल पार्टी अहिले पार्टी एकीकरणपछि जसपा बनेको । जसले गर्दा केही हदसम्म हेटौँडामा यो पार्टीको राजनीतिक चहलपहल देखिन्छ ।  उता विवेकशील साझा पार्टीको भने न जिल्ला कमिटी नै बन्न सकेको छ न नै कुनै नेता तथा कार्यकर्ताहरू भेटिन्छन् । केही समय अघि सो पार्टीले हेटौँडामा एक कार्यक्रम गरेर जिल्ला कमिटी बनाउने घोषणा पनि गरेको थियो । तर, पद बाँडफाँड मै विवाद भएपछि हालसम्म सो कार्य हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप