बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जसपाले भाग पाएको वीरगञ्ज महानगरपालिकामा काँग्रेसको नयाँ प्रस्ताव

शनिबार, १० वैशाख २०७९, १६ : ०८
शनिबार, १० वैशाख २०७९

सत्ता गठबन्धनमा भएको केन्द्रीय सहमतिअनुसार जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिकामा मेयर पाएपछि काँग्रेसमा स्थानीय कमिटी असन्तुष्ट बन्यो ।  काँग्रेसले मेयर नपाएपछि नेता कार्यकर्ताले विरोध जनाएका छन् । यहीबीच अहिले काँग्रेसले राखेको नयाँ प्रस्तावले जसपा अप्ठ्यारोमा परेको छ । 

काँग्रेसले वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहको विकल्प दिन जसपा समक्ष प्रस्ताव गरेको छ । पर्सामा जसपा र काँग्रेसबीच शुक्रबार भएको छलफलमा काँग्रेसले आफूहरू जसपालाई मतदान गर्न तयार रहेको तर राजेशमान सिंहबाहेक अरूलाई मेयर बनाउनुपर्ने प्रस्ताव गरेको हो ।  

वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाले राजेशमान सिंहलाई उम्मेदवार बनाउने लगभग निश्चित भइसकेको छ । तर औपचारिक घोषणा भएको छैन । महानगरपालिकाको मेयर बनाउनकै लागि लोसपाबाट एमालेमा गइसकेका राजेशमानलाई जसपाले आफ्नो पार्टीमा भित्र्याएको थियो । 

मेयरको टिकट दिने सर्तमा उसलाई जसपामा ल्याइएको थियो । त्यही भएर राजेशमान सिंह वीरगञ्ज महानगरपालिकाको मेयर हुने कुरामा ढुक्क देखिन्छन् । यस्तो अवस्थामा काँग्रेसको यस्तो प्रस्ताव आएको हो । 

काँग्रेस पार्टीका पर्सा सभापति जनार्दन सिंह क्षेत्रीले राजेशमान सिंहको विषयमा काँग्रेसले ठोस रूपमा प्रस्ताव नगरे पनि छलफलको विषय बनेको बताए । उनले भने, ‘काँग्रेसले जसपालाई मत दिने भइसक्यो, असन्तुष्टिहरूलाई थामथुम पार्ने प्रयास भइरहेको छ तर काँग्रेसले महानगरपालिकाको मेयर चुन्दा कस्तो चुन्नेमा मत राख्न सक्छ ।  त्यही सन्दर्भमा राजेशमान सिंहको विषयमा कुरा आएको हो । सबै कुरा फाइनल भइसकेको छैन, अहिले हामी छलफलमै छौँ ।’

वीरगञ्ज महानगरपालिकामा काँग्रेस पार्टी पर्सा गठबन्धन गर्ने पक्षमा थिएन । छुट्टाछुट्टै चुनाव लड्ने भनी त्यहाँ जसपा र काँग्रेसका अध्यक्षद्वय बीच सहमति पत्रमा हस्ताक्षर पनि भएको थियो । तर गठबन्धनको निर्णयले मेयर जसपालाई र उपमेयर काँग्रेसलाई दिने निर्णय भएको छ । 

काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल (पर्सा) ले मेयर जसपामा भागमा परेपछि पार्टीका नेता तथा कार्यकर्तामा आक्रोश रहेको बताउँदै अहिले त्यो विस्तारै सेलाउँदै गइरहेको बताए । यद्यपि अझै पार्टीभित्र त्यसको बारेमा छलफलहरू चलिरहेको बताए ।

जसपा नेपालका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले भने राजेशमान सिंहको बारेमा काँग्रेसबाट त्यस्तो कुनै प्रस्ताव नआएको दाबी गरे । उनले भने, ‘चुनावको विषय लिएर काँग्रेससँग अहिलेसम्म औपचारिक छलफल भएको छैन, काँग्रेसका नेताहरूसँग अनौपचारिक कुराकानी चलिरहेको छ  । त्यस कुराकानीमा पनि कुनै प्रस्ताव आएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप