बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् : अहिलेसम्म के के भयो ?

अब दोस्रो चरणको ‘ड्रिल’
बुधबार, २९ असार २०७९, २३ : ०८
बुधबार, २९ असार २०७९

 दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरणको काम अबको तीन महिनापछि सुरु हुने भएको छ । त्यसका लागि चिनियाँ प्राविधिक टोली आइसकेको छ । प्रोफेसर टानको नेतृत्वमा रहेको चिनियाँ टोली र खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीसहित नौ जनाको टोली यतिबेला प्रदेश राजधानी वीरेन्द्रनगरमा छ ।

केही दिन अघि दैलेख पुगेको टोली तीन दिन दैलेखमा बसेर अन्वेषणात्मक ड्रिलको लागि साइट (उपयुक्त स्थान) हेरेर सुर्खेत फर्किएको हो । भूगर्भविद् त्रिपाठीका अनुसार अबको तीन महिनाभित्र ‘ड्रिल’ गर्नेगरी तयारी भइरहेको छ । उनले भने, ‘दोस्रो चरणको कामको पूर्व तयारी गरिरहेका छौं । कोरोना महामारीका कारण झण्डै ३ वर्ष रोकिएको अन्वेषणको दोस्रो चरणको काम छिट्टै अघि बढ्छ । त्यसका लागि पूर्व तयारी गर्नुपर्ने हुन्छ ।’

पहिलो चरणको अन्वेषणका क्रममा पेट्रोलियम पदार्थ रहेको केही अवशेष फेला पारेको अन्वेषण टोलीले सन् २०२१ देखि दोस्रो चरणको काम अघि बढाउने तयारी गरे पनि एक वर्ष ढिलाई भएको छ । आयोजनाले लिएको लक्ष्य अनुसार काम अगाडि नबढाएपछि स्थानीय पालिकाका जनप्रतिनिधिहरुले पञ्चकोशी क्षेत्रको गुरुयोजना निर्माण, पञ्चकोशी क्षेत्रमा निर्माण गरिने भनिएको कृत्रिम ताल लगायतका आयोजनाको काम प्रभावित भएको गुनासो गर्दै आएका छन् ।

अन्वेषण अधिकृत त्रिपाठीले अहिलेसम्म पेट्रोलियम पदार्थ उत्खननका लागि अनुसन्धानको मात्रै ४० प्रतिशतको हाराहारीमा काम भएको बताए । ‘अहिलेसम्म सकारात्मक नतिजा दिएको छ,’ उनले भने, ‘अबको मुख्य काम भनेको ड्रिल नै हो । त्यसपछि मात्रै पेट्रोलियम पदार्थ छ, छैन भन्ने पुष्टि हुन्छ ।’

यो आयोजनाका लागि तीन चरणमा काम सम्पन्न गरिसक्ने लक्ष्य छ । अब हुने ‘ड्रिल’ को कार्य नै महत्वपूर्ण हो । ‘ड्रिलको काम हामीले सोचेभन्दा पनि धेरै कठिन खालको काम हो,’ त्रिपाठी भन्छन्, ‘त्यसका लागि चाहिने उपकरणहरु निकै भारी र समवेदनशील हुन्छन् ।’

यस्तो छ ‘ड्रिल’को पूर्वतयारी

विभागका अनुसार ‘ड्रिल’का लागि आवश्यक सामग्रीहरु नेपाल आएकै छैन । सामान ल्याउनुभन्दा पहिला सम्बन्धित क्षेत्रमा सडक पूर्वाधारको अवस्थाबारे जानकारी लिइने छ । यन्त्र, उपकरणहरु ‘ड्रिल’ गर्ने स्थानसम्म ढुवानी गर्न सडकको अवस्था र पुलहरुको भारवहन क्षमताको अध्ययन भइरहेको छ ।

अन्वेषण अधिकृत त्रिपाठीका अनुसार पहिला प्लानिङको काम फिक्स गरिसकेपछि प्राविधिक टोलीले सामग्री खरिदका लागि कम्पनीलाई जिम्मा दिन्छन् । सामान भारतको समुद्री बाटोबाट आउँछ भने केही साना–तिना यन्त्र, उपकरणहरु केरुङ नाकाबाट ल्याइने छ । त्यसका लागि केरुङको बाटो कस्तो छ, त्यसको पनि अध्ययन गरिने उनले बताए । ‘सामग्री आउन्जेलसम्म हाम्रो पक्षबाट गर्नुपर्ने जग्गा प्राप्तिको काम सुरु गर्छौं,’ उनले भने, ‘यी सबै काम सकिँदा सामग्री आयो भने बर्खापछि उपयुक्त समय निर्धारण गरेर ड्रिलको काम सुरु हुन्छ ।’

तीन ठाउँबाट ड्रिल गरिँदै

डा.त्रिपाठीका अनुसार पहिलो चरणको अध्ययन क्रममा तीन वटा ठाउँमा ‘ड्रिल’को सम्भाव्यताको काम अघि बढाइने भनिएको छ । त्यसमध्ये पनि सबैभन्दा उपयुक्त ठाउँ कुन हुनसक्छ, त्यहाँ सुरु गरिने उनको भनाइ छ ।

‘टोलीले एउटामात्र ठाउँ होइन कि सम्भावित रुटहरु कहाँ छन् भनेर अध्ययन गर्छ,’ त्रिपाठी भन्छन्, ‘एउटा रुट हामीले कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बड्डीचौर–तल्लो डुङ्गेश्वर निर्धारण गरेका छौं । अर्को, दैलेखको चामुण्डाबिन्द्रासैनीदेखि कर्णाली राजमार्ग र तेस्रो रुट दुल्लूबाट कर्णाली राजमार्ग निर्धारण गरेका छौं ।’

कसरी गरिन्छ ‘ड्रिल’को काम ? 

पहिलो चरणमा ‘सेस्मिक रेफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’ गरिएको थियो । सोही सर्भेका आधारमा ‘ड्रिल’को काम गरिनेछ । ‘तीन चरणमध्येको सबैभन्दा कठिन काम भनेकै यही हो,’ डा. त्रिपाठी भन्छन्, ‘करिब ४.५ किलोमिटर गहिराइमा ‘ड्रिल’ गरिनेछ । ड्रिल गर्नुअघि ‘जियोलोजिकल म्यापको अपडेट’ र ‘सेक्सन मेजरमेन्ट’ अन्तर्गत खोलामा गएर चट्टान कति गहिराइमा छ भन्ने पत्ता लगाउने काम हुनेछ ।’

अब पेट्रोलियम भण्डारण पत्ता लगाउने काम हुने उनको भनाइ छ ।

पहिलो चरणको अध्ययनले के भन्छ ?

सरकारले हरेक वर्षको नीति, कार्यक्रम र बजेटमा छिट्टै पेट्रोलियम पदार्थको उत्खनन् गरी भण्डारण थालनी गरिने बताए पनि अन्वेषणको काम भने त्यति सजिलो छैन । खानी तथा भूगर्भ विभागले पहिलो चरणको अध्ययनका क्रममा सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको केही वैज्ञानिक प्रमाण (इभिडेन्सेज) र आधारहरू फेला परेको दाबी गरेको छ ।

विभागका अनुसार दैलेखको सो क्षेत्रको करिब १४ किलोमिटरको दूरीमा ४५ वटा ग्यास चुहावट देखिएका छन् । दैलेखमा शदिऔँदेखि ज्वाला बल्दै आएको श्रीस्थान, नाबिस्थान, पादुका, तल्लो डुंगेश्वरलगायतका क्षेत्रलाई आधार मानेर पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् भइरहेको हो ।

विभागले पेट्रोलियम पदार्थ हुनसक्ने एउटा आधारको रुपमा बल्दै गरेको ज्वालालाई पनि लिएको छ । तथापि पहिलो चरणको अन्वेषणका केही तथ्यले पेट्रोलियम पदार्थ भएको अनुमान गरिए पनि पेट्रोलियम पदार्थ छ भन्ने अझै आधिकारिक रुपमा पुष्टि भएको छैन । पेट्रोलियम पदार्थ छ कि छैन भन्ने कुरा ‘ड्रिल’को कामसकेपछि मात्र थाहा हुने डा. त्रिपाठी बताउँछन् ।

यसरी भएको थियो कामको सुरुवात

दैलेखमा पट्रोलियम पदार्थ अन्वेषणका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका क्रममा नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भएको थियो । यो परियोजना सम्झौता अनुसार चिनियाँ प्राविधिक टोली सन् २०१६ को मेमा नेपाल आएर प्रारम्भिक अध्ययन गरेको थियो । 

प्रारम्भिक अध्ययन सकेर चिनियाँ टोली स्वदेश फर्केपछि नेपालमा पेट्रोलियम पदार्थको खोज अन्वेषणका लागि चीनले नेपाललाई २ अर्ब अर्ब रुपैयाँ सहयोगको घोषणा ग¥यो । त्यही घोषणाअनुसार २३ अगस्ट, २०१७ मा सो सहयोग सम्बन्धी सम्झौतामा अर्थ मन्त्रालय र चीन सरकारबीच हस्ताक्षर भएको थियो । सम्झौताअनुसार नै चाइना जिओलोजिकल सेन्टर, बेइजिङ र चेन्दुङका १९ सदस्यीय चिनियाँ प्राविधिक टोली नेपाल आएका थिए । सोही कार्यलाई निरन्तरता दिँदै २०७६ असार पहिलो साता चीन सरकारको विशेषज्ञ टोलीसहित नेपाल सरकारका तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले अन्वेषण कार्यको औपचारिक सुरुवात गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप