सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी

सोमबार, ११ साउन २०८३, ०० : ०७
सोमबार, ११ साउन २०८३

सारांश

  • पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई पुनः धोका दिएका छन्।
  • नागढुंगा-सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिने भए पनि सर्वसाधारणका सवारीसाधनले तत्काल प्रयोग गर्न पाउने छैनन्।
  • सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा श्रम रोजगार मन्त्रालयले आनाकानी गरेको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. प्रचण्डबाट आङ्बोलाई फेरि धोखा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि आफ्नै पार्टीका कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई धोका भएको छ । पटक–पटक मुख्यमन्त्रीको अवसर पाउने अवस्थामा पनि प्रचण्डले अरू पार्टीकै नेतृत्व स्वीकार गरिदिँदा आङ्बोमाथि धोका भएको मान्ने धेरै छन् ।

२. नागढुंगा सुरुङमार्गको उदघाटन भोलि

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार उदघाटन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले औपचारिक उदघाटनका लागि आवश्यक तयारी र निमन्त्रणाको काम पूरा भएको छ । सुरुङमार्ग उदघाटन भए पनि आम सर्वसाधारणका सवारीसाधनले भने तत्काल सो मार्ग प्रयोग गर्न पाउने छैनन् ।

३. ओली–प्रचण्ड मिल्दा रिसाए माधव

प्रदेशस्तरमा नयाँ सरकार गठन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको ३ बुँदे समझदारीप्रति नेकपाका सहसंयोजक माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।

४. एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपितको खुल्यो परिचय

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक गर्ने व्यक्ति संदिप सिंह रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–११ घर भएर भक्तपुर बस्ने ३३ वर्षीय सिंहलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले पुष्टि गरेका हुन् ।

५. मधेसमा तीन दलीय गठबन्धन जारी रहने सङ्केत

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले विभिन्न पाँच प्रदेशमा गठबन्धन गर्ने निर्णय गरे पनि मधेसमा भने नेपाली कांग्रेससहित नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीकै गठबन्धन कायम रहने सङ्केत देखिएको छ । मधेसका मुख्यमन्त्री कृष्ण यादवमात्र होइन, एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताले समेत तीन दलीय गठबन्धन कायम रहने दाबी गरेका छन् । अर्कोतिर गण्डकी प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार विस्थापन गरेर अर्को सरकार बनाउन त्यति सहज देखिएको छैन ।

६. कांग्रेसले प्रदेशमा गठबन्धनको प्रयास जारी राख्ने

नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान पार्टीका पदाधिकारी, सात प्रदेशका संसदीय दलका नेता, प्रदेश सभापति र मुख्यमन्त्रीहरूसहितको बैठकले प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने निर्णय गरेको हो ।

७. एमालेबाट मुख्यमन्त्री बन्न दौडधुप

एमाले र नेकपाबिच पाँच प्रदेशमा सत्ता समीकरणका लागि समझदारी भएसँगै नेकपा एमालेको भागमा परेका तीन प्रदेशमा मुख्यमन्त्री बन्न नेताहरूको दौडधुप सुरु भएको छ । त्यसअघि नेताहरूबिच प्रदेश संसदीय दलको नेता बन्न कतिपय नेताहरू शक्ति केन्द्र रिझाउन व्यस्त रहेका छन् ।

८. फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी

सर्वोच्च अदालतको संवैधानिक इजलासले ‘वैदेशिक रोजगारमा रहेका घरेलु कामदारको सुरक्षा र मानवअधिकार संरक्षणमा कदम चाल्न युवा तथा श्रम रोजगार मन्त्रालयलाई दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा आनाकानी गरेको छ ।

९. किशोरीको डिम्ब निकालेको घटनामा डा. नूतन शर्मा पनि अनुसन्धानको दायरामा

ललितपुरको बीएण्डबी अस्पतालमा एक जना किशोरीको डिम्ब निकालेको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । सो घटनामा वरिष्ठ स्त्रीरोग तथा टेष्टट्यु बेबी विशेषज्ञ डा. नूतन शर्मा पनि अनुसन्धानको दायरामा आएकी छन् ।

१०. लुम्बिनी सरकारबाट भोलि कांग्रेस बाहिरिने

सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन् । सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा बसिरहनु नैतिक रूपमा उचित नहुने निष्कर्षसहित कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन् ।

११. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा विवाद

शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्ति विवादमा तानिएको छ । स्वार्थ बाझिने व्यक्तिलाई राजनीतिक पहुँच र प्रभावका आधारमा नियुक्त गरिएको भन्दै विरोध भइरहेको छ ।

१२. सङ्कटमा परेको न्यायिक स्वतन्त्रता

भारतका प्रधानन्यायाधीश (सीजेआई) सूर्य कान्तको निमन्त्रणामा हाल भारत भ्रमणमा रहेका नेपालका वर्तमान प्रधानन्यायाधीश डा. मनोज शर्मा गत २० मे २०२६ का दिन, काठमाडौँको सिंहदरबार परिसरमा १५ सदस्यीय संसदीय सुनुवाइ समितिसामु उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप