जनपक्षीय पत्रकार पोखरेलको निधन
मङ्गलबार, ३१ साउन २०७९, ०८ : ४३

बुटवलका एकजना जनपक्षीय क्रान्तिकारी पत्रकार बसन्त पोखरेलको निधन भएको छ ।
मंगलबार विहान ६ बजे आफ्नै निवास बुटवल १३ बेलबासमा उनको निधन भएको हो । सधै निमुखा जनताको पक्षमा कलम चलाउने प्रगतिशील पत्रकार पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको हो । प्रेस स्वतन्त्रता सेनानीको सम्मान समेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष हुन् ।
वि.सं. २०११ सालमा प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन् । हाल बुटवलको बुटवल टुडे दैनिकमा सम्पादकको जिम्मेवारीमा कार्यरत पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको रोगी थिए । पोखरेल प्रेस सेन्टर नेपाल रुपन्देहीका सल्लाहकार थिए ।