बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलको सडक विस्तार : ताकेता गर्दै उपमहानगर, सुस्ताउँदै ठेकेदार कम्पनी

सोमबार, २७ भदौ २०७९, १६ : ०५
सोमबार, २७ भदौ २०७९

भुवन कार्की

बुटवलको चौराहादेखि गोल पार्कसम्मको ६ लेन सडक विस्तारमा ढिलाई भइरहेको छ । बुटवल उपमहानगरले सडक विस्तारमा तीव्रता दिन ताकेता गरिरहे पनि ठेकदार कम्पनी सुस्ताएको छ । २०७३ साल चैतमा ठेक्का सम्झौता भएको सडक तीन वर्षभित्र सम्पन्न गर्नुपर्नेमा ६ वर्ष बितिसक्दा समेत निर्माणको काम सकिएको छैन ।

कहिले कोभिड–१९ ले त कहिले राजनीतिक दलको आडमा सडक छेउका घरबेटीले मुद्दा हाल्ने काम गरेर ढिलाई भएको सरोकारवाला बताउँछन् । पटकपटक समय थपिएको यो सडकको काम यही भदौ मसान्तसम्म सक्नुपर्ने, नभए ठेकेदार कम्पनीलाई कारवाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने चेतावनी बुटवल उपमहानगरले दिएको छ । तर ठेकेदार कम्पनी भने सुस्ताइरहेको छ ।

बुटवल उपमहानगरपालिकाले प्रशासकीय अधिकृत टेकराज पन्थीको संयोजकत्वमा सहजीकरण समिति नै बनाएर सडक निर्माणमा ढिलाई हुन नदिन ताकेता गरिरहे पनि ठेकेदार कम्पनीले चासो देखाएको छैन । एक महिना अघिदेखि काम सुचारु गरेको ठेकेदार कम्पनी फेरि सुस्ताएको छ । असार मसान्तसम्म काम सक्ने अवस्था नदेखेपछि सहजीकरण समितिले आइतबार बेलुका बैठक बसेर थप चेतावनी दिएको छ ।   

सहजीकरण समितिका अध्यक्ष पन्थीको अध्यक्षतामा तथा डिभिजन सडक कार्यालय बुटवलका प्रमुख होमबहादुर एसी, आयोजना कार्यालय निमित्त प्रमुख सविता ज्ञवाली, खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्ट, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल टेलिकमका उपप्रबन्धक नेत्रनारायण खनाल, ठेकेदार कम्पनीका प्रतिनिधि सलिल अन्सारी लगायतको उपस्थितिमा बसेको बैठकले सडक मर्मत गरी डेन्सीटी लिने कार्य निर्माण व्यवसायीले २०७९ भदौ २७ गते साँझसम्म सक्नुपर्ने निर्देशन दिएको छ ।

त्यस्तै डेन्सीटीको रिपोर्ट हेरी गम्भीर वर्षाको कारणले कालोपत्रे गर्न नसकिने परिस्थितिबाहेक २०७९ भदौ २९ सम्म प्राइम गरिसक्ने र सोको भोलिपल्ट कालोपत्रे गर्नुपर्ने, भदौ मसान्तसम्मको समयसीमा पनि सकिन लागेकाले सीमाभित्र तोकिएको एक लेयर कालोपत्रे नगरेमा निर्माण कम्पनीलाई कारबाहीका लागि पठाउने र २०७९ भदौ मसान्तभित्र कालोपत्रेको कार्य गरेमा कार्यको प्रगति सम्बन्धमा लेखी पठाउने निर्णय भएको पन्थीले बताए ।

यस्तै विद्युत पोल गाड्ने कार्यलाई तीव्रता नदिएको पाइएकाले बढीमा ५ दिनभित्र विद्युत पोल गाडीसक्न नेपाल विद्युत प्राधिकरण कार्यालयका प्रमुखलाई आवश्यक व्यवस्थापनको जिम्मेवारी तोक्ने, खानेपानी संस्थानबाट खानेपानीका पाइपलाइन विस्तार तथा उचित व्यवस्थापन गर्न तथा पाइपहरू चुहिएमा तुरुन्त प्राविधिक सहयोग पु¥याउने र पाइपलाइनको काम सम्पन्न गर्नका लागि र व्यवस्थापनका लागि संस्थानको प्रमुखलाई जिम्मेवारी तोक्ने, आयोजनाको क्षेत्रभित्र टेलिफोनको पोल, तार र क्याबिनेट बक्स उचित व्यवस्थापन कार्यमा ढिलाई भइरहेको पाइएकाले ५ दिनभित्र नेपाल टेलिकमका प्रमुखलाई आवश्यक व्यवस्थापनका लागि जिम्मेवारी तोक्ने निर्णय गरिएको पन्थीले जानकारी दिए ।

द कञ्चनजङ्घा बिरुवा जेभी कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा लिएको यो सडक विस्तारमा ढिला हुँदा यात्रुले सास्ती भोगेका छन् । हाल नयाँ बसपार्कदेखि ट्राफिक चोकसम्म सवारी साधनलाई एकतर्फी सञ्चालन गरिएको छ । एकतर्फी रुट बनाएपछि सवारी साधनको जामले यात्रु हैरानीमा परेका छन् । बिहान र बेलुका कार्यालय समयमा बुटवलमा यात्रा गर्न निकै कठिन हुने गरेको छ ।  

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले ढिलै भए पनि सडक विस्तारको काम जारी रहेको बताए । भदौ मसान्तसम्म सडक नबने ठेकेदारलाई कारवाही गरिने बताउँदै आएका पाण्डेले काम छिटो सक्न आफूले ताकेता गरिरहेको जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप