मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा ड्रोनबाट जग्गाको नापजाँच
रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु भएको छ । बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम शुरु भएको हो ।
नापजाँच कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ड्रोन उडाएर शुभारम्भ गरे । जग्गा नापजाँचको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बताए । औद्योगिक क्षेत्र बनाउनयोग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्षेत्रका लागि सिफारिश गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने उनले बताए ।
‘यसअघि मोतीपुर औद्योगिक क्षेत्रको नाममा जग्गा ल्याउँदा अनुमानका आधारमा ल्याइएको रहेछ, उनले भने, ‘ड्रोनबाट गरिने नापजाँचपछि यो क्षेत्रमा कति जग्गा छ र कति जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्न सकिन्छ भन्ने कुरा यकिन हुनेछ, त्यसपछि औद्योगिक क्षेत्रको जग्गा पर्ने बुटवलसहितका पालिकाहरुले कार्यपालिका बैठकबाट निर्णय गरेर संघीय सरकारलाई पठाइनेछ ।’ उनका अनुसार संघीय सरकारले स्थानीय तहको सिफारिसका आधारमा औद्योगिक क्षेत्रका नाममा थप जग्गा ल्याउनुपर्ने या घटाउनुपर्ने भएमा निर्णय गरेर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउने छ ।
‘अहिले औद्योगिक क्षेत्रको जग्गा ८१३ बिगाहा भन्ने लालपूर्जा आएपनि कहाँदेखि कहाँसम्मको जग्गा भन्ने यकिन नभएकाले विवाद थियो, अब यो विवाद हट्नेछ, स्थानीयको पनि चित्त बुझ्नेछ र औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्नेछ’,पाण्डेले भने । कार्यदलका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले औद्योगिक क्षेत्र रुपन्देहीकै लागि महत्वपूर्ण भएकाले सबैलाई साथ दिन आग्रह गरे । उनले राजनीतिक दल, स्थानीयबासीलाई साथमै लिएर अघि बढ्नुपर्ने बताए ।
कार्यदलले प्रतिवेदन पेस गरेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाबाट निर्णय गरी सिफारिस गर्ने कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । औद्योगिक क्षेत्रमा कुन ठाउँदेखि कुन ठाउँसम्म कति जग्गा औद्योगिक क्षेत्रको नाममा रहेको हो भन्ने यकिन गर्न ड्रोनबाट नापजाँच गर्ने र त्यसैअनुसार प्रतिवेदन तयार गरेर बुझाउने सदस्य सचिव पन्थीले बताए ।
मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरणका लागि १० भदौमा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा कार्यदल बनेको थियो । लामो समय बसोबास गरेका र लालपुर्जा भएका स्थानीयले जग्गा खाली नगरेपछि ६ वर्षदेखि अलपत्र मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि बुटवल उपमहानगरपालिकाको पहलमा जग्गा यकिन हुन लागेको हो । पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भएपनि स्थानीयको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण