बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डेंगुको प्रकोप बढेको मौका छोपी परीक्षण शुल्कमा मनपरी

शुक्रबार, ३१ भदौ २०७९, १६ : ४४
शुक्रबार, ३१ भदौ २०७९

देशका विभिन्न भागमा झैं दाङमा पनि डेंगुको प्रकोप फैलिरहेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार साउन १ गतेदेखि भदौ २९ गतेसम्म दाङमा ६३९ जनामा डेंगु संक्रमण फेला परेको छ भने एक जनाको मृत्यु भइसकेको छ ।
अहिले दाङका अस्पतालहरू डेंगुका बिरामीले भरिभराउ छन् । डेंगु संक्रमण फैलिँदै गएको मौका छोपेर अस्पतालहरुले सेवाको नाममा व्यापार गरिरहेका छन् । अस्पतालपिच्छे डेंगु परीक्षणमा मनोमानी शुल्क लिँदै आइरहेका छन् ।

अस्पतालहरुले ७ सयदेखि १५ सय रुपैयाँसम्म परीक्षण शुल्क लिने गरेको सेवाग्राहीको गुनासो छ । माडी गाउँपालिका–६, रोल्पाका राजेश रोका उपचारका लागि घोराहीस्थित बुद्ध इन्टरनेशनल अस्पतालमा पुगे । अस्पतालले उनलाई डेंगु संक्रमणको शंका गरी परीक्षणको सल्लाह दियो । परीक्षण गर्दा डेंगु पुष्टी भयो । परीक्षणका लागि उनले अस्पताल १५ सय रुपैयाँ शुल्क बुझाए ।

घोराही उपहानगपालिका–३, मुसोटका जगप्रसाद वलीको भनाइ पनि उस्तै छ । डेंगु परीक्षणका लागि उनले पनि सोही अस्पतालमा १५ सय रुपैयाँ बुझाएका छन् ।

स्थानीय स्वास्थ्य संस्थामा निःशुल्क, निजीमा चर्को शुल्क

जिल्लाका दश स्थानीय तहका स्वास्थ्यसंस्थामा डेंगु परीक्षणका लागि स्वास्थ्य कार्यालयले आवश्यक परीक्षण सामग्री व्यवस्थापन गरेको छ, जहाँ निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ । प्रकोपका रुपमा फैलिरहेको डेंगु परीक्षणका लागि स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा निःशुल्क गरिए पनि जिल्लाका सरकारी तथा निजी अस्पतालले महँगो शुल्क उठाइरहेको स्वास्थ्य कार्यालय दाङको भनाइ छ ।

सरकारले कुनै ठोस योजना तय गर्न नसक्दा प्रकोपका नाममा अस्पतालहरुले मनपरी शुल्क लिने गरिरहेको डेंगु फोकल पर्सन देवीलाल डाँलीको भनाइ छ । उनले भने, ‘परीक्षण शुल्कको ठोस निर्णय सरकारले गरेको छैन । जसका कारण यस्तो समस्या देखिएको छ ।’

जिल्लाका सरकारी तथा निजी ठूला अस्पतालमा अहिले डेंगु संक्रमित बिरामी अत्यधिक रहेकाले परीक्षण सेवाका लागि समान शुल्क निर्धारण गर्न आवश्यक रहेको उनले बताए । डेंगु परीक्षणका लागि आवश्यक पर्ने ‘टेष्ट ¥यापिट किट’ बजारमा भने न्युनतम ३ देखि अधिकतम ५ सय रुपैयाँसम्म पर्ने गर्दछ । सोही किटमा परीक्षण गरिने भएकाले अस्पतालहरुले परीक्षण शुल्क महँगो भएको उनको भनाइ छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी भुषण सुवेदीले सरकारले किट व्यवस्थापन गर्न नसक्दा अस्पताल आफैले खरिद गरी परीक्षण सेवा दिँदा सेवाग्राहीले महँगो शुल्क तिर्नु परेको बताए ।

घोराही निवासी मोतीलाल घर्तीले प्रकोपको मौका छोपेर अस्पतालहरुले व्यापार गरिरहेको बताए ।

डेंगु संक्रमित बिरामीको दर बढेसँगै बजारमा डेंगु परीक्षण ‘टेष्ट ¥यापिट किट’ अभाव हुँदै गइरहेको छ । व्यापारीहरुले स्टक सकिएको भन्दै किटको कृत्रिम अभाव गराएको अस्पतालहरूको गुनासो छ ।

गोरखा अस्पताल प्रालिका व्यवस्थापक दिनेश आचार्यले किटको कृत्रिम अभाव बढ्दै गइरहेकाले अस्पतालहरुमा परीक्षण शुल्क अझै बढ्नसक्ने बताए । सरकारले किट उपलब्ध गराउँदै निश्चित शुल्क निर्धारण गरेमा सर्वसाधारणहरूले सस्तो सेवा पाउन सक्ने उनको भनाइ छ ।

कुन अस्पतालमा कति शुल्क ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप