बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

झुटो कहानीले दिलाएको इनाम

सोमबार, २४ असोज २०७९, १० : ४९
सोमबार, २४ असोज २०७९

घटना निकै पुरानो हो । कुनै देशका राजा निकै विलासी थिए । उनी हमेशा राज्यका अन्य काम छाडेर मोजमस्ती र मनोरञ्जनमा दिन बिताउन चाहन्थे तर त्यतिबेला अहिलेको जस्ता मनोरञ्जनका विविध साधन थिएन । त्यसैले हरेक दिन भारदारहरूलाई बोलाएर अनेक किसिमका उटपट्याङ् प्रतियोगिता गराउँथे र त्यसैबाट आनन्द लिने गर्थे । यस्तैमा एक दिन उनले संसारकै ठूलो र विचित्र किसिमको झुटो कहानी प्रस्तुत गर्नुपर्ने प्रतियोगिता राखे, जसमा विजयी हुनेले पाँच सय असर्फी पाउने थिए । राजाका कुरा सुनेर दरवारी सबै खुसी भए र आ–आफ्नो क्षमताले भ्याए अनुसारको झुटो कहानी सुनाउन लागे । दरवारीहरू कहानी भन्दै गए उनी सुन्दै गए ।

यसैक्रममा उनीहरूमध्ये एउटाले भने–

‘मेरो गाउँमा एकपटक निकै ठूलो कमिलो देखापरेको थियो । ऊ यति ठूलो र बलियो थियो कि मत्ता हात्तीलाई समेत च्याप्प समातेर क्वाप्पै निल्न सक्थ्यो । त्यसैले मानिसहरू उसको डरले गाउँ छाडेर भाग्न विवस भए, जसले गर्दा कमिलो जिवित छाउन्जेल गाउँमा कोही पनि आएनन् । पूरा गाउँमा उसैको साम्राज्य छाएको थियो ।’

‘त्यो कुन ठूलो कुरा भयो ? त्यस्ता घटना त हाम्रा गाउँमा कति भएका थिए कति ।’ उनको कथाको प्रतिवाद गर्दै अर्का दरवारी बोले–

‘मैले त त्योभन्दा कति हो कति बढी विचित्रको घटना देखेको छु । कुरा त्यतिबेलाको हो जति बेला मेरा पिताजी आँगनमा बसेर काँक्रो खाँदै हुनुहुन्थ्यो झुक्किएर बियाँ पनि निल्नु भएछ । उहाँले लौ बित्यास प¥यो भन्दै एकपटक ख्वाक्क के खोक्नुभएको थियो मुखबाट यति लामो काँक्रोको झाल बाहिर निस्क्यो कि, जसमा काँक्राका थुप्रै चिचिला लागिसकेका थिए । त्यतिबेला तत्कालै भएको त्यति ठूलो चमत्कार भएको देखेर सबै आश्चर्यचकित भएका थिए ।’ 

एवंरीतले सबैले यस्तैयस्तै उट्पट्याङ कहानी भन्दै गए । कसैले केही भने कसैले केही तर कुनै पनि कहानीले राजालाई मनोरञ्जन दिन सकेन । उनी त्यस्तो झुटो कहानी सुन्न चाहन्थे, जुन संसारमा कहिल्यै सुनिएको नहोस् तर आफू समक्ष पेश भएका कहानीमा त्यस्तो केही पनि पाएनन् । त्यसैले दरवारका चतुर विद्वान् चट्टोपाध्यायतर्फ फर्कँदै भने–

‘भन्नुस् चट्टोपाध्यायजी ! तपाईँको खुराफाती दिमागमा कस्तो कहानी फुरेको छ ?’

राजाका कुरा सुन्नासाथ चट्टोपाध्यायले अदवसाथ भने–

‘दुःखको कुरा छ महाराज !’

‘दुःखको कुरा ?’ राजाले झस्किँदै भने–

‘के हो त्यो भनेको ? छिटो भन्नुस् ।’

चट्टोपाध्याय पनि के कम थिए र । उट्पट्याङ कुरामा विद्यावारिधि नै गरेका थिए । तत्कालै उत्तर दिए–

‘कुरो के भने नि महाराज ! तपाईँभन्दा मूर्ख मानिस संसारमा अर्को छैन । यस्ता मूर्ख मानिसललाई एक छिन पनि गद्दीमा बस्ने अधिकार छैन । जति बढी समय गद्दीमा बस्नुहुन्छ त्यति नै बढी मुलुकको अहित हुनेछ ।  त्यसैले तत्कालै गद्दी त्याग गरी सन्यास लिन आग्रह गर्छु ।’

उनको कुरा सुनेर राजा रिसले यति बढी चुर भए कि तत्कालै पक्राउ गरी कैदखानामा हाल्ने आदेश दिए । राजाज्ञलाई शिरोपर गर्दै जब सैनिकहरूले उनलाई पक्राउ गर्न खोजे तब मुसुक्क हाँस्दै भने–

यही हो महाराज ! संसारको सबैभन्दा ठूलो झुटो कहानी । यदि यसैलाई सत्य मानेर मलाई पक्राउ गराउनुहुन्छ भने भन्नु केही छैन । अहिले नै जेल जान तत्पर छु । होइन भने तपाईँले कबुल गर्नु भए अनुसारको इनाम प्रदान गर्न आग्रह गर्छु ।’

त्यसपछि विचरा राजा के गरुन् । चट्टोपाध्यायका कुरालाई संसारको सबैभन्दा ठूलो झुटो कहानी मान्नुको विकल्प थिएन । त्यसैले तत्कालै पाँच सय असर्फी दिएर विदा गरे । पाँच सय असर्फी लिएर चट्टोपाध्याय  खुसीले गदगद हुँदै घरतिर लागे अन्य दरवारी हेरेकाहेर्‍यै भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप