बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भारत–चीन सम्बन्ध सुमधुर तुल्याउने साउथ ब्लकको चाहना

बुधबार, ०९ कात्तिक २०७९, २० : ५२
बुधबार, ०९ कात्तिक २०७९

लद्दाख सीमा झडप पछि चीनसँग चिसिएको भारतको सम्बन्धलाई पुनः सुमधुर तुल्याउने चाहना नयाँ दिल्लीले व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले भारतमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बेइजिङ फर्कन लागेका चिनियाँ राजदूत सुन वेइडोङसँगको बिदाई भेटपछि सामाजिक सञ्जालमा चीनलाई चिढ्याउने साउथ ब्लकको चाहना नभएको अभिव्यक्त सार्वजनिक गरेका हुन् । 

चीन–भारत सीमा क्षेत्रमा शान्ति कायम गर्न तथा शान्तिपूर्ण द्विपक्षीय सम्बन्धलाई अक्षुण्ण राख्न अपरिहार्य भएको बताउँदै  विदेशमन्त्रीले भारत–चीन सम्बन्ध सामान्यीकरण हुनु दुवै देशका लागि मात्र नभई  एशिया र समग्र विश्वको हितमा रहेको उल्लेख गरेका छन् । सन् २०२० को दोक्लाम झडपपछि दुवै पक्षले आपसी सम्बन्धलाई व्यवस्थित गर्ने प्रयास गरिरहेका छन् । भारत–चीन सम्बन्धको विकास आपसी हितका तीनवटा साझा मान्यताद्वारा निर्देशित भएको विदेशमन्त्रीले ट्वीटरमा दोहोर्याएका छन् ।

यसैबीच, चिनियाँ राजदूत सुनले भारत र चीन बीचका मतभेद समाधान गर्दै एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिएका छन् । “दुई देशको साझा हित मतभेदभन्दा बृहत्  छ भन्ने कुरामा हामी सचेत हुनुपर्छ, चीन र भारतका लागि विश्वमा पर्याप्त ठाउँ छ एक–अर्काको मामिलामा हस्तक्षेप नगरौं,” नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको राजदूत सुनको बिदाइ मन्तव्यमा भनिएको छ ।

बिदाइ वक्तव्यमा चिनियाँ राजदूतले महत्वपूर्ण छिमेकी चीन र भारतबीच केही मतभेद हुनु स्वाभाविक हो तर मतभेदलाई कसरी सम्हाल्ने भन्ने विषय महत्वपूर्ण भएको उल्लेख गरेका छन् । बेइजिङ र नयाँ दिल्लीले मतभेदको व्यवस्थापन र समाधानको प्रयास गर्नुपर्नेमा जोड दिँदै उनले चीन–भारत सम्बन्धलाई मतभेदले परिभाषित गर्नुको सट्टा वार्ता र परामर्शबाट उचित समाधान खोज्नुपर्ने तर्क गरेका छन् ।

हजारौँ वर्षदेखिको चीन र भारतबीचको मैत्रीललाई एक–अर्काका प्राचीन पूर्वीय सभ्यताले जोडेको बताउँदै चिनियाँ राजदूतले विश्वमा एक अर्बभन्दा बढी जनसङ्ख्या भएका दुवै देश राष्ट्रिय विकास र कायाकल्पको महत्वपूर्ण अवधिमा रहेका तथा विकास प्रयासमा भएका चुनौतीपूर्ण कार्य अतुलनीय रहेका उल्लेख गरेका छन् । 

‘चीन र भारतबीच सँगै विकास गर्न विश्वमा पर्याप्त ठाउँ रहेको, दुवै देशका जनताको शान्तिपूर्ण जीवनयापन गर्ने चाहनामा तुसारापात हुन नदिन एशियाका विशाल उदीयमान छिमेकी मुलुकबीच विजय–पराजयको होडभन्दा आपसी सहयोग बढाउनेतर्फ लाग्नुपर्नेमा उनले जोड दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप