शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख राजनीतिक दलहरूको घोषणापत्रः यस्ता छन् कला र कलाकर्मीको विकासका एजेन्डा

बुधबार, १६ कात्तिक २०७९, १४ : १५
बुधबार, १६ कात्तिक २०७९

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरिरहेका छन् । 

प्रमुख दलहरूको सार्वजनिक घोषणापत्रमा संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, निर्वाचित राष्ट्रपतीय व्यवस्थादेखि आर्थिक विकास, रोजगारी तथा भौतिक पूर्वाधार निर्माणलगायत विभिन्न विषयवस्तु अटाएका छन् । 

त्यस्तै, राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा नेपाली कला र संस्कृतिको उत्थानबारे पनि समेत समेटेका छन् । प्रमुख ४ राजनीतिक पार्टी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले सार्वजनिक गरेको घोषणा पत्रमा समेटिएका कला, संस्कृतिका विषय कस्ता छन् त ? 

नेपाली काँग्रेस  

नेपाली काँग्रेसले घोषणापत्रमा भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, चलचित्र र नाटक प्रदर्शनका लागि देशको सातै प्रदेशमा प्रेक्षालयको स्थापना कार्यक्रम अगाडि ल्याएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा स्रष्टा–सर्जकहरूको प्रतिलिपि अधिकारलाई कानुनी रूपमा थप मजबुत बनाउने नीति पनि समेटिएको छ । 

घोषणापत्रमा अन्य उल्लेखित विषय यस्ता छन्ः

–विभिन्न जातजाति, समुदाय र भूगोलको भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत एवम् इतिहास झल्किने कम्तिमा प्रदेशस्तरीय एक संग्रहालय स्थापना गरी पठनपाठनको व्यवस्था गरिने ।

–नेपाली भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, चलचित्र, रङ्गमञ्च आदि क्षेत्रका स्रष्टा सर्जक, कलाकारहरुलाई सम्मान, पुरस्कार र संरक्षणको व्यवस्था गरिने ।

–राज्यको लगानी अभिवृद्धि गर्दै स्रष्टा–सर्जकहरूको वृत्ति–विकास र क्षमता अभिवृद्धि गरिने ।

–नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलगायत देशका महत्वपूर्ण प्राज्ञिक संघ–संस्थाहरूलाई अझ प्रभावकारी बनाउने ।

–विद्यालय तहदेखि विश्वविद्यालय सम्मका पाठ्यक्रमहरूमा नेपाली साहित्य, कला, संस्कृति, इतिहास एवम् ज्ञान–विज्ञानका विषयवस्तुहरू समाहित गरी समय सापेक्ष परिमार्जन गरिने ।

–कला साहित्यका अन्य विधालाई जस्तै नेपाली चलचित्र र सम्बन्धित क्षेत्रलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत राखेर नियमनकारी संस्थालाई राष्ट्रिय चलचित्र आयोगको स्वस्यमा रुपान्तरण गरी पूर्ण स्वायत्त बनाइने ।

–स्रष्टा–सर्जकहरूका सिर्जनाहरूको सार्वजनिक प्रयोग हुँदा प्राप्त हुने वौद्धिक सम्पत्तिको अधिकार एवम् रोयल्टी कानूनबमोजिम अनिवार्य पाउने व्यवस्था मिलाइने ।

यस्तै, लोपोन्मुख लोकसंगीत सम्पदाहरूको संरक्षणका लागि प्रभावकारी कार्यक्रम गर्ने लगायत रहेका छन् ।

नेकपा एमाले 

नेकपा एमालेले नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तारको नीति लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणापत्रमा सबै प्रदेशमा फिल्म सिटी निर्माणसमेत उल्लेख छ । 

एमालेले सार्वजनिक गरेको घोषणा पत्रमा कलासंस्कृति सम्बन्धि अन्य उल्लेख्य विषय यस्ता छन्ः

–मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गरिने ।

–नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तार गरिने ।

–सामाजिक सद्‌भाव, राष्ट्रिय एकता, सांस्कृतिक र धार्मिक सहिष्णुता एवं उदार मूल्यहरूको अभिवृद्धि गरिने ।

–संस्कृतिको संरक्षण र विकास गरिने ।

–प्रत्येक प्रदेशमा कला, साहित्य र संस्कृतिको विकासका लागि प्रतिष्ठान स्थापना गरिने ।

–कलाकर्मी, स्रष्टा, साहित्यकारहरुको हक हित संरक्षण गरिने ।

–कलाकार, संस्कृतिकर्मी, स्रष्टा, सबै धार्मिक क्षेत्रका अगुवा

र समाजसेवीहरूलाई सम्मानित रूपमा राष्ट्र उत्थानमा उत्प्रेरित गरिने ।

नेकपा माओवादी केन्द्र 

नेकपा माओवादी केन्द्रले समाजवादी मूल्य स्थापित गर्ने फिल्म निर्माणका लागि अनुदान र प्रोत्साहन गर्ने घोषणा गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा प्रतिलिपि अधिकारको सुनिश्चितता र स्रष्टालाई रोयल्टी दिने नीति बनाउने समेत समेटिएको छ । घोषणा पत्रमा अन्य उल्लेख्य विषय यस्ता छन्ः

–सामन्ती संस्कृतिका सम्पूर्ण अवशेषहरु अन्त्य गर्दै समाजवादी राज्यको आधार निर्माण गर्न सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको निर्माणमा विशेष जोड दिइने ।

–नेपाली मौलिक संस्कृतिमाथि भएका बाह्य हस्तक्षेप एवम् अतिक्रमण रोक्दै समाजवादी मौलिक संस्कृति निर्माण गर्ने ।

–राष्ट्रिय मौलिक संस्कृतिको उत्थान र विकास, समाजवादी मूल्यको खोज एवम् अनुसन्धान र सांस्कृतिक रुपान्तरणका पक्षमा विविध विधाबाट योगदान गर्ने स्रष्टाहरुको अभिलेख तयार पारी उनीहरुलाई पुरस्कृत, सम्मानित र प्रोत्साहित गर्ने व्यवस्था गरिने ।

–संस्कृतिकर्मीहरुका लागि स्वास्थ्य बीमा र उपचारमा विशेष सहुलियतको व्यवस्था गरिने ।

–स्रष्टाहरुबीच प्रतिस्पर्धा गराई उत्कृष्ट सिर्जनाहरुलाई पुरस्कृत गर्ने, देशका सातवटै प्रदेशमा प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापना ।

–स्थानीय मौलिक संस्कृति, भाषा, भेषभुषा एवम् सांस्कृतिक धरोहरहरुको सम्वद्र्धन गरिने । त्यसका लागि स्थानीय तहसँगको सहकार्यमा सांस्कृतिक महोत्सव, कवि गोष्ठी, चलचित्र प्रदर्शनी, विविध साहित्यिक एवम् सांस्कृतिक प्रतियोगिताहरु गरिने ।

–स्रष्टाहरुको सिर्जनामा प्रचलित कानुनअनुसार दिइने रोयल्टीको प्रभावकारी कार्यान्वयन गरिने ।

–नेपाली लोकगीत, सङ्गीत र विभिन्न भाषाभाषी र समदायको ऐतिहासिक, सांस्कतिक र जातीय पहिचान झल्किने गीत, सङ्गीत र साहित्यलाई प्रोत्साहित गरिने  ।

–नेपाली परम्परा र मौलिकताको संरक्षण एवम् सम्वद्र्धन गर्न ललितकला, हस्तकला, वास्तुकलालगायत प्राचीन र ऐतिहासिक कलाको संरक्षण र त्यस्ता कलाकृतिको बजारीकरणका निम्ति सहजीकरण गर्ने ।

–नेपाली मौलिक संस्कृति र सभ्यता झल्किने गरी निर्माण गरिएका एवम समाजवादी मूल्य स्थापित गर्ने चलचित्र निर्माणका लागि राज्यका तर्फबाट अनुदान र प्रोत्साहनका कार्यक्रमहरु बनाउने ।

–सांस्कृतिक पर्वजस्तै दसैं, तिहार, न्हंदु, ल्होछार, उधौली–उभौली, मुस्लिमको इद, क्रिसमस आदिलाई कानुन बनाएर राष्ट्रिय पर्वको मान्यता दिने ।

व्यवहार प्रवद्र्धन गर्न भाषा, लिपि, कला, साहित्य, संस्कृति, सङ्गीत जस्ता प्रतिष्ठानहरु एउटै केन्द्रीय नीतिअन्तर्गत ल्याइनेलगायत रहेका छन् । 

नेकपा एकीकृत समाजवादी 

नेकपा एकीकृत समाजवादीले पनि आफ्नो घोषणापत्रमा कलाकार, साहित्यकार, संस्कृतिविद्लगायत राष्ट्रका प्रतिभाहरूको सम्मान गर्ने कार्यक्रम राखेको छ । सामाजिक विकासका लागि साहित्य, कला र संस्कृतिको संरक्षणसमेत भनिएको घोषणापत्रमा निम्न उल्लेखित मुख्य बुँदा समेटिएका छन्ः

–साहित्य, कला र संस्कृतिका मानवीय चेतनाको विकास, सामाजिक विकास र रूपान्तरणको कामलाई महत्व दिने ।

–पुस्तक मेला र साहित्यिक कार्यक्रमलाई समन्वयात्मक ढङ्गले अगाडि बढाउने र प्रत्येक प्रदेशमा कला, साहित्य र संस्कृतिको विकास र विज्ञान, प्रविधि र अन्वेषणसम्बन्धि प्रतिष्ठान स्थापना गर्न पहल गरिने ।

–मौलिक कला, साहित्य, संस्कृति, लोकदोहरी, गीत सङ्गीत र चलचित्रलगायत क्षेत्रका प्रतिभाहरूको सम्मानसहित उनीहरूको प्रतिभालाई राष्ट्र निर्माणमा सदुपयोग गर्न पहल गरिने ।

–सांस्कृतिक चेतना बढाउने लेखक, कवि, चलचित्रकर्मी, सञ्चारकर्मी, चित्रकार, मूर्तिकार, गीतकार, नर्तक–नृत्याङ्गनालगायत विविध विधाका कलाकारहरूलाई पुरस्कृत गरी प्रोत्साहित गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप