बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

झापाभरिको जनमत वाम पक्षीय छ : अग्नि खरेल

बुधबार, ३० कात्तिक २०७९, १० : ३५
बुधबार, ३० कात्तिक २०७९

झापा क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट राप्रपाको सहयोगमा अग्नि खरेल प्रतिनिधि सभाको उम्मेदवार छन् । उनको मुख्य प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् । शर्मा सत्तारुढ गठबन्धनका साझा उम्मेदावर हुन् ।

तर यो क्षेत्र लामो समयदेखि कम्युनिस्ट आन्दोलनको प्रभाव क्षेत्र भएकाले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्छन् खरेल । प्रस्तुत छ खरेलसँग रोहित दाहालले गरेको कुराकानी :

–प्रचार प्रसार कस्तो चलिरहेको छ ?

देखिरहनु भएको छ, तीव्र रूपमा चलिरहेको छ । अब केहीबरे बाँकी छ । प्रचार प्रसारको क्रमसँगै जाडो हट्दैछ र गर्मी बढ्दैछ । 

–सूर्य तात्दैछ ?

सूर्य यसै तातै हो, झन् सारो तात्दैछ । 

–रेस्पोन्स कस्तो पाउँदै हुनुहुन्छ ?

रेस्पोन्स एकदमै राम्रो छ । किनभने यो क्षेत्र लामो सयमदेखि कम्युनिस्ट आन्दोलनको प्रभाव क्षेत्र हो । यहाँका जनता कम्युनिस्ट आन्दोलनप्रति प्रभावित छन् । कम्युनिस्ट पार्टीलाई लामो समयदेखि साथ सहयोग र मतदान गर्दै आएका छन् । पार्टीले के गर्छ भन्ने कुरा यहाँका जनताहरूलाई थाहा छ । त्यसकारण यहाँका जनता व्यापक रूपमा क्रमशः उत्साहित हुँदै गएका छन् । निर्वाचन पनि क्रमशः निर्वाचनजस्तो हुँदै आएको छ । 

–जस्तै एउटा व्यक्ति नेपालभरि उठ्न पाउँछ, पर्यटक उम्मेदवार त म भन्दिनँ तर क्षेत्र अलिकति परिवर्तन भएपछि केही असहज भयो कि भन्ने छ नि ?

यो पुष्पकमल दाहाललाई भएको होला, मलाई भएको छैन । किनभने उहाँ त्यहाँको नागरिक होइन, म झापाको नागरिक हो । यो कुरा मलाई अफ्ठ्यारो परेको भए कृष्ण सिटौलालाई पनि हुृन्छ । उनको चुनाव क्षेत्र कहाँ हो थाहा छ तपाईंलाई ? मेरो क्षेत्र विर्तामाड हो । २ को मान्छे १ मा आउन मिल्छ, अनि १ को मान्छे ३ मा जान मिल्छ नि हैन । यो त कृष्ण सिटौलालाई अफ्ठ्यारो पार्न यहाँका साथीले उठाएको प्रश्न हो । यहाँ अग्नि खरेलका बारेमा प्रश्न उठाइयो भने त कृष्ण सिटौलाको हकमा पनि त १ को मान्छे ३ मा गएको अर्थ लाग्ने भयो नि ।  विश्वप्रकाशजीले घुमाएर उठाएको प्रश्न हो यो । 

–यो त जनताको प्रश्न हो ? 

जनताको कुरा होइन यो । यहाँ विगतदेखि जनताले यो क्षेत्रमा घर नभएका उम्मेदवारलाई मतदान गरेका गर्यै छन् त । घरले केही गरेन । मान्छेले के गर्छ भन्ने पो त । घरले केही गर्छ र ? राम कार्कीले ४ वर्षअगाडि यहाँ घर बनाउनुभयो त । अनि केही गरेन भन्ने आरोप किन आयो त ? 

प्रश्न के हो भने हामी जस्तो मान्छेले सञ्चार जगतले पनि सबै समाचार दिनुपर्छ । संविधानमा भएको व्यवस्था एकातिर छ अर्कोतिर समाचार हामी दिँदैछौँ । गलत हो नि । राइट टु फ्रिडमको गलत प्रयोग हो नि । 

–त्यही भएर मैले स्पष्टीकरण दिएँ कि जहाँ पनि उठ्न पाइन्छ भनेर । तर त्यसले उम्मेदवार व्यक्तिलाई असर गर्छ कि गर्दैन ?

जनतालाई गरेको छैन, मिडियालाई गरेको छ अहिले । 

–मिडियाप्रति किन आक्रामक हुनुहुन्छ यहाँ ?

मिडियासित आक्रामक भएको होइन म । मिडियाहरूले सङ्घीय निर्वाचन के हो भन्ने कुरा गलत ढङ्गले प्रचार गरे । कसैको हित र अहितमा ती कुराहरू गरिए । कसैका हित र अहितमा मिडिया लाग्नुपर्छ र ? मिडिया कसैको हित र कसैको अहित गर्न जन्मिएको हो र ? 

राइट टु इन्फर्मेसनका बारेमा म फेरि भन्दैछु । यसका लागि सबैभन्दा बढी लडेको मान्छे म हुँ । तर के इन्र्फर्मेसन सही दिइरहेका छौँ त मान्छेलाई ।  त्यसैले सङ्घीय निर्वाचन यस्तो हो, यसमा जो पनि लड्न पाउँछ । यो गलत कुरा उठिरहेको छ भनेर मिडिया किन बोल्दैन ? यो मेची नगरपालिकाको स्थानीय निर्वाचन हो र ? होइन नि । तर किन मिडिया चुप छ भन्दा यो कहीँ न कहीँबाटा प्रभावित छ । कसै न कसैको हितमा उसले काम गर्नुपर्छ । त्यसका लागि मिडियाले काम गरिरहेको छ । मिडियाले जे गरिरहेको देखिरहेको छु उसले मिडियाको रोल प्ले गरिरहेको छैन । म आक्रामक भएको होइन, मैले जनतालाई सही सूचना जतिखेर दिनुपथ्र्यो त्यतिखेर नदिएपछि त अब पाँच वर्षपछि मात्र दिनुहुन्छ नि त । अनि पाँच वर्षपछि फेरि कसैले मिडियालाई कसैले प्रभावित पार्छ । अनि फेरि त्यही सूचना दिन्छ भने त गाउँका मान्छेले ठीक समाचार नपाउने भए नि । धन्न मिडियाभन्दा गाउँका मान्छे ठीक छन् भन्ने म ठान्छु । कम्तीमा उनीहरूले त मिडियाले उठाए पनि यो कुरा गलत हो भनेका छन् । विकास निर्माण गर्ने मान्छे चाहिन्छ, हामीले चाहेको त विकास निर्माणमा हो, जो मान्छे जहाँबाट उठे पनि फरक पर्दैन भनेर बरु जनताले भन्दैछन् । 

–तपाईंको प्रतिपक्षी कांग्रेसको महामन्त्री पनि हुनुहुन्छ, तपाईंले अघि नाम  पनि लिइसक्नुभएको छ, चलन चल्तीको भाषामा भन्दा अलि हेभी वेट भन्ने खालको छ, तपाईंलाई प्रतिस्पर्धीका बारेमा के लागेको छ भनिदिनुस् न ?

प्रतिस्पर्धी अरु पनि हुनुहुन्छ । तुलनात्मक रूपमा नजिकको प्रतिस्पर्धी उहाँ हो । तर उहाँलाई प्रतिस्पर्धी पनि मिडियाले नै बनाइदिएको छ । त्यो उहाँलाई पनि थाहा छ, मलाई पनि थाहा छ । किनभने लेखिदिएको छ । लेखिदिएपछि क्याहो क्याहो भनेजस्तो मान्छेलाई हुने भयो नि । यहाको जनजीवनले त्यो भन्दैन । यहाँको पार्टीको गठनले त्यो भन्दैन । यहाँ पार्टी जसरी सञ्चालन भएका छन् तिनले भन्दैनन् ।  हिजोअस्तिको नजिकको निर्वाचनले पनि त्यो भन्दैन । यो गठबन्धन जुन बनाइएको छ, यो त हामीले यहाँ भएका एउटा सिङ्गो मेची नगरपालिका अनि भद्रपुर नगरपालिका वडा नम्बर ९ र १०, अनि बुद्धशान्तिनगर वडा नम्बर ४, ५, ६, ७ गरेर जम्मा २१ वटा वडा हुन् । ती २१ वटा वडामा सुफत १४ वटा वडामा हामीले हिजोअस्ति चुनाव जितेका छौँ । त्यसबाहेक वडाध्यक्ष पद हारेका, ४ वटा सदस्य जितेका अरू ३ वटा वडा छन् । त्यसलाई तपाईंले हिसाब गर्नुभयोभने १७ वटा वडा भए । अनि एउटा दुईवटा हारेका र बाँकी जितेका अरु वडाहरू छन् । 

तसर्थ यो क्षेत्रको पछिल्लो परिणाम, पछिल्लो जनमत त्यो हो पहिलो कुरा । अब यसमा तपाईं स्थानीय तहको मत ट्रन्स्लेट त हुँदैन नि भन्ने तर्क गर्नु होला । त्यसको जवाफ पनि के छ भने, मानिसले छ महिनामै आफ्नो मत बदलिहाल्छन् त ? त्यस्तो पनि होइन ।  

दोस्रो कुरा गठबन्धनमा रहेको जसपा स्थानीय तह निर्वाचनमा पनि थियो ।  अहिले जसपा त्यस गठबन्धनबाट बाहिरिएको छ । अनि गज्जब के भएको छ भने त्यसबेला माओवादीलाई धुुस्नु हुनेगरी कुटेको छ यहाँ कांग्रेसले । कांग्रेसको मेयरले २१ हजार मत पाउँदा माओवादीका उपमेयरले १२ हजार मत मात्र पाए । नौ हजार मत कांग्रेसले अन्त गएर डम्प गरेको छ । माओवादीलाई भित्रभित्रै गतिलो चोट दिएको छ । मैले माओवादी मित्रलाई धेरै केही भनेको छैन, तपाईंहरू काँक्राको थाँक्रा बन्ने हो कि काँक्रै बन्ने हो विचार गर्नु होस् । काँक्रो बन्ने भए त्यही बाटोमा लागौँ, हैन सधैँभरि कांग्रेसकै थाँक्रो बन्ने भएदेखि त हिजोअस्तिको परिणामले पनि थाँक्रै बनाएको छ । अहिले पनि त्यही बनाउँछ । यो तपाईंहरूले विचार गर्ने हो । नेकपा एसका साथीहरूले पनि विचार गर्ने हो । 

मुख्य कुरा के हो भने गठबन्धन असैद्धान्तिक बन्यो । अब यो गठबन्धनलाई सैद्धान्तिक बन्यो भन्दा राप्रपाजस्तोसँग पनि त तपाईंहरूले गठबन्धन गर्नुभयो भन्ने प्रश्न गर्नु होला । यो गठबन्धन नबनेको भएदेखि शायद मुलुक अर्कै ढङ्गले अगाडि जान्थ्यो र मुलुकको संसदीय शासन प्रणालीलाई अर्कै ढङ्गले लान पनि सकिन्थ्यो । २०४८ मा त्यस्तो गठबन्धन कहिल्यै पनि भएन । २०५१ मा र २०५६ पनि भएन । त्यसैगरी २०६४ को निर्वाचनमा पनि भएन । २०७० को निर्वाचनमा पनि त्यो रूपमा प्रस्तुत भएन । २०७४ को निर्वाचनमा हामीले पनि गठबन्धन गर्यौँ उहाँहरूले पनि राप्रपासँग पनि गर्नुभयो । हामीले मात्र गरेको होइन । 

–आरोप त त्यही छ नि, गठबन्धन गर्न तपाईंहरूले सिकाएको हो भनेर ?

कमल थापालाई कसले हालेको हो भोट ? हामीलाई तथ्य सिकाउने ? प्रश्न यो हो ।तर जेसुकै भए पनि अहिले गल्ती हामीले पनि गरेका होलाऔँ, उहाँहरूले पनि गर्नुभएको होला । कसले गर्यो गरेन भन्नेमा फस्न चाहन्न । तर मुख्य दलहरूले संसदीय शासन प्रणालीलाई विचार गरेर निर्वाचन प्रणाली अगाडि जानुपथ्र्यो । जसले लोकतन्त्रमा विश्वास गर्छन्, संसदीय शासन प्रणालीमा विस्वास गर्छ । आज संसदीय शासन प्रणालीलाई चटक्कै विर्सिएर, एकातिर थन्क्याएर कुर्सी सम्हाल्नतिर सबै लागेका छन् । अब गठबन्धन नै बनाएर एमालेविरुद्ध आइसकेपछि हामीले पनि तालमेल त गर्नै पर्यो । हामीले गठबन्धन गरेका छैनौँ । तालमेल गरेका छौँ र सङ्गतिपूर्ण तालमेल गरेका छौँ । हाम्रा केही सङ्गतिपूर्ण मुद्दाहरूमा हामी एकै ठाउँमा उभिँदाखेरि र अलग अलग ठाउँमा रहँदाखेरि एक साथमा उठाएका थियौँ । त्यो मुद्दाका आधारमा केही विषयवस्तुलाई हामीले अघि सारेका छौँ । 

यहाँको निर्वाचनको कुरा गर्नुहुन्छ भने यहाँको जनमत, वामपक्ष जनमत छ, झापाभरिको जनमतको अहिले तपाईंले सर्वेक्षण गरे हुन्छ, त्यो वाम पक्षीय छ । गठबन्धन कसिलो, खँदिलो छैन, कमजोर छ । आफूबीचका अविश्वासहरू उहाँहरूका बीचमा काफी छन् । त्यसैले जनताको मतका आधारमा निर्वाचन जित्ने कुरामा हामीमा कुनै द्विविधा छैन । पत्रपत्रिकाहरूलाई चाहिँ अलिकति द्विविधा भएको छ, त्यसका लागि पत्रपत्रिका बाध्य पनि छन् । 

–तपाईं निरपेक्ष ढङ्गले सबै मिडिया यसै गरे भन्नेमा जानुभएको छ । जब कि म तपाईंलाई भेट्न फिल्डमा नै आएको छु, तपाईंले भनेको कुरा जस्ताको तस्तै प्रसारण गर्ने जिम्मा लिँदै अर्को कुरा राख्छु । यो पनि उठिरहेकै कुरा हो, तपाईंलाई पनि त्यो फिल गर्नुभएको होला कि ? अरू पार्टीहरूका असन्तुष्टि त भन्नुभयो अनि आफ्नै पार्टीभित्र जो हिजो सर्वसम्मत रूपमा यहाँबाट सिफारिस भएको, एउटामा चाहिँ तपाईंले हाइज्याक गर्नुभयो भन्ने पनि त छ नि ? त्यसको असर हुँदैन ? 

त्यो सर्वसम्मत पठाउने मान्छे पनि मै हो । म झापाको इन्चार्ज हो । झापा क्षेत्र नम्बर १ मा रवीन्द्रजीको  नाम आयो, त्यो सर्वसम्मत नबनाउनु पर्नेथ्यो भने चाहिँ तलैबाट केही कुरा गर्न सकिन्थ्यो नि त । त्यो नसकिने हो र ? यसलाई सर्वसम्मत रूपमा लाने र त्यही ढङ्गले अगाडि बढ्ने नै कुरा थियो, त्यो त सिफारि थियो फेरि । हामीले देशभरिमा गरेका जति पनि हुन् ती सबै सिफारिस हुन् । अहिले विपक्षीले उत्खनन् गर्न खोजेको कुरा तपाईंले पनि उत्खनन गर्नुभयो, त्यसैले मैले अघिदेखि भनिरहेका कुरा बेठीक छैनन् । म त्यसमा स्ट्न्ड गरिरहेको छु । यहाँका जनताले त्यो भन्दैन, यहाँका कार्यकर्ताले त्यो भन्दैनन् । हाम्रो एक जना कार्यकर्ताले भनेको देखाउनुस् न तपाईं ? 

प्रश्न के हो भने, रवीन्द्रजीको सिफारिस भएकै हो, त्यो सिफारिस पठाउने जिल्लाको इन्चार्ज मै हो त । अझ त्यसमा केही कुरा थपेर पठाउने पनि व्यवस्था थियो । त्यो व्यवस्थालाई पनि हामीले अपरेट गरेनौँ । पार्टीले निर्णय गर्ने बेलामा धेरै कुरालाई विचार गरेर निर्णय गर्छ । आवश्यकतालाई हेर्छ, नेताहरूको व्यवस्थापनको कुरा पनि हुन्छ, यी सबै कुरालाई हेरेर पार्टीले व्यवस्थान गर्दा उहाँलाई प्रदेश सभामा उठाउँदा हुन्छ भनेको र उहाँले पनि त्यसलाई स्वीकार गर्नुभयो । त्यसपछि म स्वाभाविक रूपले सङ्घीय संसद्को निर्वाचनमा लडेँ र त्यो स्थितिमा उम्मेदवार भएको छु र त्यो स्थिति पार्टीभित्र चाहिँ छैन । बरु यसलाई कोट्याउने कोसिस चाहिँ उम्मेदवारहरूबाट पनि भएको छ, अनि उहाँ उम्मेदवारलाई सजिलो गराउनका निम्ति पत्रपत्रिकाबाट पनि भएको छ । तपाईं त्यसमा लाग्नु भएको त होइन होला, म त्यो ठान्दिनँ । तर अरूले चाहिँ त्यो गरिरहेका छन् है । 

–अब झापा क्षेत्र नम्बर १ का जनताले, मतदाताले अग्नि खरेल किन रोज्ने भने भने के भन्नुहुन्छ ? अर्को चाहिँ अन्तबाट आउने, जित्ने जाने, अनि फेरि नयाँ अन्तबाट आउने, कति नयाँ मान्छे छान्नु भन्ने पनि भएको रहेछ नि ?

यसलाई मैले जवाफ दिएको छु । खासगरीकन विकास निर्माणसँग जोडिएका कुराहरूमा स्थानीय स्तरमा जे प्रश्न उठेका छन्, ती प्रश्नलाई हामीले जस्ताको तस्तै नै हाम्रा प्रतिबद्धतापत्रमा ल्याएका छौँ । यो क्षेत्र विकासका दृष्टिले पाँचवटा क्षेत्रहरूमा सबैभन्दा अविकास भएको क्षेत्र हो यो । नगरपालिकाका हिसाबले हेर्ने हो भने सबैभन्दा ठूलो भौगोलिक क्षेत्र भएको नगरपालिका हो यो । अहिले पनि भन्दै थिएँ जनता आवास कार्यक्रममा जम्मा २० वटा घर वर्षको बनाउने कार्यक्रम रहेछ । जब कि यहाँ वर्षको सय, डेढ सय घर बनाउँदा पनि पाँच वर्षमा सात, साढे साथ सयभन्दा बढी घर बन्दैनन् । त्यति नबनाईकन यहाँको समस्या हल हुने देखिँदैन । 

तटबन्धनका कार्यक्रम झापाका सबै अरू नदीनालामा छ, यहाँ छैन । ऊ त्यहाँ बिरिङमा पनि छ, कन्काईमा पनि छ, कमल खोलामा पनि छ, रतुवा, मावा खोलामा पनि छ । तर यहाँ मेची नदीमा पनि छैन र निन्दामा पनि छैन । यहाँका हेर्न लायक ठूला खोला हुन् । खोलाले छ्याङ्ग्रो बनाएको छ यहाँको जमिनलाई । 

–एमालेले पनि नहेरेको क्षेत्र रहेछ यो हैन ?

विकासको हिसाबले भन्नुहुन्छ भने पछाडि परेको क्षेत्रभित्र पर्छ । त्यसलाई एक पटक जनता आवास कार्यक्रम २ वर्ष रहेछ । त्यसपछि त्यो हटेर गएछ । त्यसलाई हामीले यो ठाउँमा राख्नुपर्छ । अर्को चाहिँ यो ठाउँमा हात्ती आतङ्क ज्यादा छ । थान्सिङ वायरिङबाट अलिकति काम चलाएको रहेछ, त्यसलाई अलिकति वृद्धि गरेर जाँदा अलिअलि समाधान हुने देखिन्छ । तर अहिले एउटा प्रश्न जबरजस्त रूपमा उठेको छ । मेची नदीको ओल्लो किनारालाई जनताको तटबन्धन कार्यक्रमबाट यदि अगाडि बढाउने हो भने उताबाट आएका हात्ती स्वतः फर्कने स्थितिमा पुग्छन् र त्यसले मान्छेलाई क्षति गर्दैन भन्ने छ । यो कुरा अलि अध्ययन गर्न पनि जरुरी छ । अध्ययनले हामीलाई त्यो ठाउँमा पुर्यायो भने यो कार्यक्रम राखेर जानुपर्छ । नत्रभने यहाँ अलिमाथि जानुस् न, बाउनडाँगी, शान्तिनगरतिर जानुस्, मान्छे बेलुका खाना खान्छन, अरूतिरका मान्छे सुत्छन् त्यहाँका मान्छे टसबालेर हात्ती खेद्न निस्कन्छन् । यो समस्या समाधान गर्नका निमित्त प्रतिबद्धता जोहेर पनि गरिसकेका छौँ । प्रतिबद्धता मात्र होइन, यो केही नगरीकन हुँदैन । मान्छेको जनजीवन यति त्रसित बनाएर मान्छेले सुखको निद्रा कहिल्यै निधाउन नसक्ने स्थिति यहाँ छ । त्यो सँगसँगै यहाँ सबैभन्दा बढी उठेको अर्को पूर्वाधारको कुरा छ । सडकहरू बन्दैछन्, नबनेका चाहिँ होइनन् । पहिलाभन्दा विकास नभएको होइन, भएको छ । प्रदेश सरकारको पनि राम्रै लगानी भएको छ तर केन्द्र सरकारको लगानी यो पाँच वर्षको बीचमा स्वाटै घटेछ । जति सडक बनेका छन्, सबै प्रदेश सरकारको बजेटमा मात्र बनेका छन् । यताको महानगरले पनि गरेको छ उताको महानगरले पनि गरेको छ, बीचमा भागाभाग छ । 

मान्छेले मलाई यो प्रश्न गरेका छन्, उतिबेला गठबन्धन बनाएर राम कार्कीलाई उम्मेदवार बनाएको थियो । हामीलाई फकाइ फुल्याइ गरेर मतदान गर्न लगाएकै हो । मान्छे भागौडा छन् भन्ने त हामीलाई थाहा थिएन । अहिले भागेर गठबन्धन नै उता गएर गर्नु भयो । यसैले विनम्रतापूर्वक जनतालाई भन्दैछौँ । गठबन्धन नेपाली कांग्रेससँग भएपछि र नेपाली कांग्रेसकै उम्मेदवारलाई नै जिताऔँ भनेपछि हिजो आफूलाई जसले हराएको छ उसलाई जिताऔँ भनिसकेपछि त त्यो उम्मेदवारको बारेमा जवाफदेहिता त त्यहाँ रह्यो नि त । त्यो जवाफदेहिता त एमालेले कसरी बेहोर्न सक्छ त ? जिताऔँ कांग्रेसलाई भन्ने, जवाफदेहिता हामीले लिनुपर्ने त होइन नि त । 

अहिले जहाँनेर उहाँ हुनुुहुन्छ, उहाँहरूले गर्ने हो त्यो काम । जसको साथमा हुनुहुन्छ, त्यसले गर्ने हो त्यो काम । त्यो काम हामीले गरेको हुँदैन । राम कार्की लेऊ भनेर भन्नुस् न भनेका छौँ हामीले । हरेक ठाउँमा राम कार्कीलाई उपस्थित गराऊ तिमीलाई मतदान गर्नुपर्छ भने तपाईंहरूले भन्नुपर्छ यो कुरा । किनभने आजका दिनमा राम कार्कीलाई हामीले बोलाएर उहाँ आउनु हुन्न । तर विश्वप्रकाशजीको भोट माग्न आइदिए पनि हुन्छ नि, त्यो पनि आउनुहुन्न । एक चोटि आएर भाषण गर्नुभएछ त्यसपछि बेपत्ता हुनुहुन्छ । 

सवाल यो जवाफदेहितापूर्ण व्यवस्था हो । यो व्यवस्थामा कि जवाफदेहिता लिने ठाउँमा जानु हुँदैन, कि पिठ्युँ फर्काएर हिँड्नु हुँदैन । पिठ्युँ फर्काएर हिँडेर राजनीति अगाडि जाँदैन । 

झापा १ नम्बरले भन्ने हो भने उहाँले नेतृत्व गरिसकेपछि विकास निर्माणका काम र जनताका समस्याबाट भाग्नुको परिणाम के भो भने माओवादीले पनि टाउको उठाउने ठाउँ भएन । जो माओवादीकै रूपमा रहन्छन्, यो प्रश्न त झन पेचिलो रूपमा उठ्ने भयो नि त । तिम्रो सभासद्ले के गर्यो त भन्दा ? फाइनल्ली त उहाँ माओवादीको हो । अहिले गठबन्धन गरेको न हो । 

–तपाईंले आफ्नो योजना चाहिँ अलिकति भनिदिनुहुन्छ कि ?

हात्ती आतङ्कका बारेमा केही कुराहरू ल्याउँछौँ । जनताको तटबन्धनको कार्यक्रमलाई हामी प्रभावकारी रूपमा यो क्षेत्रमा प्रवेश गराउँछौँ । पूर्वाधारमा हामी जोड दिन्छौँ प्रदेश, केन्द्र र स्थानीयतहबाटै । स्थानीय तह हामीले जितेका हुनाले त्यहाँबाट पनि सानातिना कुरा त्यहाँबाट सहयोग लिन्छौँ । सिँचाइको सुविधाको निम्ति केन्द्र सरकारबाट केहीकुरा नलगाईकन हुँदैन । शिक्षालाई खासगरी सबै ठाउँमा एजुकेसन पढेको हुन्छ यहाँ झापाभरि तपाई गएर हेर्नुहोला । नानीले त एजुकेसन पढ्नुभएको होला नि भन्दा हो भन्छन् उनीहरू सबैले । अनि यत्रो उत्पादन कहाँ जान्छ ? त्यसैले अहिले हाम्रो केन्द्रीय घोषणापत्रमा पनि त्यो कुरा राखेका छौँ । हरेक स्थानीय तहमा दुईवटा प्राविधिक शिक्षालयहरू विकास गर्ने हो भने पनि कम्तीमा झापाभरिमा निकैवटा प्राविधिक शिक्षालयहरू हुन्छन्, जो सीटीईभीटीबाट सञ्चालित हुन्छन् । यी कुराहरू हामी अगाडि बढाउँछौँ भन्ने कुराहरू हामीले राखेका छौँ । 

–एकदमै वाक्पटुता भएकोमा पर्नुहुन्छ, मैले जति चिन्छु तपाईंलाई । एक वाक्यमा भनिदिनुस् तपाईं आफ्नो मुख्य प्रतिस्पर्धीलाई कसरी लिनुहुन्छ ? 

मुख्य प्रतिस्पर्धी विश्वप्रकाशजी नै हो । त्यसमा कुनै द्विविधा छैन । तर तपाईंहरूले भनेजस्तो, बाहिर मिडियामा आएजस्तो एकदमै प्रतिस्पर्धा र दुई चार भोटले तलमाथि छ भनेर प्रस्तुत गर्नु भएको छ नि त्यस्तो चाहिँ होइन । उहाँलाई मैले सामान्य रूपमा लिएको छु । दुई पटक चुनाव लड्नु भएकै हो । यहाँका जनताले टेस्ट गरेकै हुन् । मीठो कुरा गर्न जान्नुहुन्छ । त्यसमा मलाई कुनै आपत्ति छैन, मान्छेका आआफ्नै भाषाशैलीको कुरा हो । तर मान्छेले काम खोजेका छन् । उहाँ कांग्रेसको महामन्त्री त हुनुहुन्छ नि त । अनि प्रवक्ता पनि हुनुहुन्थ्यो नि त । त्यो कानुनले सार्वजनिक पद नै हो । पार्टीका पदहरू कानुनले परिभाषित नगरेका सार्वजनिक पद हुन् । त्यस्ता पदमा रहेका मानिसले सार्वजनिक जवाफदेहिता लिनै पर्छ र काम गर्ने पर्छ । मान्छेले खोजेको त्यो हो नि । तर ती चिजहरूमा उहाँको भनाइ के रह्यो भने राष्ट्रिय एजेन्डामा उहाँ कहाँ उभिनुभयो ? मुलुकका राष्ट्रिय एजेन्डाहरू छन् नि । यस्ता कुराहरू जनताले गाउँघरमा बसेर हेरिरहेका छन् । त्यसैले प्रतिस्पर्धी होइन म भन्दिनँ, अरूभन्दा अलि बलियो प्रतिस्पर्धी होला उहाँ । तर यो क्षेत्रमा निर्वाचन जित्ने र हार्ने कुरासँग गाँसेर भन्नुहुन्छ भने उहाँसँग हाम्रो प्रतिस्पर्धा भइरहेको छैन । 

–तपाईं त निर्वाचन आयोगले प्रमाणपत्र दिन मात्र बाँकी छ मलाई जस्तो गरी कुरा गर्नु भयो त ?

दिँदा हुन्छ । किन तपाईंलाई आपत्ति छ र त्यसमा ? छैन भने भयो त अनि । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप