नेपालको भौतिक पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने जाइकाको प्रतिबद्धता
शरच्चन्द्र भण्डारी
जापान, २२ वैशाख । जापानको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (जाइका)ले नेपालको भौतिक पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
एसियाली विकास बैंक (एडिबी) सञ्चालक समितिको ५०औँ बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेका उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र जाइकाका उच्च अधिकारीबीच आज भएको भेटवार्तामा नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त भएको हो ।
जाइकाका कार्यकारी वरिष्ठ उपाध्यक्ष कोसीकावा काजुहिको नेतृत्वको टोलीले तीनवटै तहका निर्वाचनमा नेपाललाई सहयोग गर्ने तत्परता व्यक्त गरेको छ ।
जाइकाले नागढुङ्गा–काठमाडौँ सुरुङमार्ग निर्माण प्रक्रियामा भएको प्रगतिप्रति प्रसन्नता प्रकट गर्दै निर्माणका काम अतिशीघ्र प्रारम्भ गर्ने बताइएको छ ।
भूकम्पपछिको पुनःनिर्माण काममा आएको सुस्तताप्रति चासो र चिन्ता व्यक्त गर्दै जाइकाले जनअपेक्षाअनुसार सम्बद्ध निकायले द्रुतगतिमा कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरेको छ ।
सो अवसरमा उपप्रधानमन्त्री महराले राजनीतिक सङ्क्रमण अन्त्यको क्रममा रहेको नेपालले संवैधानिक प्रावधानअनुसार तीनवटै तहका निर्वाचन समयमा नै सम्पन्न गर्ने लक्ष्यका साथ वर्तमान सरकार क्रियाशील रहेको र सर्वप्रथम स्थानीय तहको निर्वाचन यसै महिना हुन लागेको जानकारी गराए ।
लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै नेपाललाई आर्थिक विकासको मार्गमा द्रुत गतिमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले नेपालको पूर्वाधार विकास र भूकम्पपछिको पुनः निर्माणमा जापानले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।
जाइकाका दक्षिण एसिया निर्देशक ताकेयुची ताकुरोसहितको टोलीसँगको भेटवार्तामा आफूले द्विपक्षीय विकास सहयोग, जाइकाको सहयोगमा जारी पुनःनिर्माणका काम, ऊर्जा विकास, सामाजिक सुधार, आर्थिक उन्नयनबारे छलफल गरेको उपप्रधानमन्त्री महराले बताए।
पूर्वाधार विकास, यातायात, काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको व्यवस्थापन तथा आम परिवहन, विद्यालय क्षेत्र सुधार कार्यक्रम, स्वास्थ्यलगायत आपसी हित र चासोको विषयमा सो टोलीसंग छलफल भएको उनले भने ।
भेटमा जाइकाका कार्यकारी वरिष्ठ उपाध्यक्ष काजुहिकोले नेपालमा शान्ति र समृद्धि कायम भई विकासको बाटोमा अग्रसर हुन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उपप्रधानमन्त्री महराले बताए ।
भेटमा अर्थसचिव शान्तराज सुवेदी, अर्थमन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल, टोकियोस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याललगायत सहभागी थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण