शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

नोटबन्दीबारे अदालतको फैसला : नेपालमा रहेको ५ करोड भारु कागजको खोस्टा बन्ने खतरा

मङ्गलबार, १९ पुस २०७९, १३ : ५३
मङ्गलबार, १९ पुस २०७९

भारत सरकारले लागू गरेको नोटबन्दीको कारण नेपालमा रहेको ५ करोड भारतीय रुपैयाँ कागजको खोस्टामा परिणत हुने भएको छ । सोमबार भारतीय सर्वोच्च अदालतले सन् २०१६ मा नै केन्द्रीय सरकारले घोषणा गरेको ५०० दरका र १००० दरका भारु नोटबन्दीको निर्णय सदर गरिदिएको छ । योसँगै नेपाल रहेको सो दरका करिब ५ करोड भारु बराबरको नोट खोस्टा बराबर बन्ने खतरा बढेको हो । 

केन्द्रीय बैंकको तथ्याङ्क अनुसार नेपालको बैंकिङ च्यानलमा हाल अर्थात् ५ करोड ६ लाख २५ हजार ५०० रुपियाँ बराबरको भारु रहेको छ । ५०० दरका ६८ हजार १४७ थान बराबर ३ करोड ४० लाख ७३ हजार ५०० भारु र १००० दरका १६ हजार ५५२ थान बराबर १ करोड ६५ लाख ५२ हजार भार रहेको राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिए । 

उता भारतले ५०० र १००० दरका भारु नोटबन्दी गरेसँगै नेपालले आफूसँग रहेको भारु सटही गर्न पटकपटक भारत सरकारसँग आग्रह गरेपनि हालसम्म कुनै सुनुवाइ नभएको बताउँदै पोखरेलले सो प्रयास अहिले पनि जारी रहने रातोपाटीसँग बताए । ‘अपलचनमा रहेको भारु सटहीका लागि नेपालले बारम्बार प्रयास गरिरहेको छ । नोट सटहीकै लागि भारती रिजर्भ बैंकसँग बैंक टू बैंक, परराष्ट्रमन्त्रालयदेखि परराष्ट्रमन्त्रालय, प्रधानमन्त्रीदेखि प्रधानमन्त्रीसम्म अनुरोध भएकै हो । तथापि, नेपालमा रहेको अपचलित भारु साट्न सकिएको छैन । तैपनि यो प्रयास अझै जारी रहन्छ,’ पोखरेलले रातोपाटीसँग भने, ‘यदि भारतले चाहने हो भने आजको भोलि नै भारु साटिन सक्छ । त्यति ठूलो रकम पनि होइन, जम्मा १५ मिलियन बराबरको भारुको शोधभर्ना दियो भने पनि नेपाललाई राहत हुन्छ’ उनले भने । 

राजस्व छली र कालोधन नियन्त्रण गर्ने भन्दै भारत सरकारले सन् २०१६ मा ५०० दरका र १००० दरका भारुको नोटबन्दीको निर्णय गरेको थियो । जुन सरकारी निर्णय विरुद्धको रिटमा भारतको सर्वोच्च अदालतले सोमबार फैसला गर्दै सही निर्णय भन्दै सदर गरिदिएको छ । योसँगै नेपालमा औपचारिक च्यानलमा अल्झिएर रहेको ५ करोड ६ लाख भारु अब के हुने भन्ने अन्योल बनेको छ भने अनौपचारिक च्यानलमा समेत करोडौँ भारु रोकिएको हुनसक्ने केन्द्रीय बैंकको आशङ्का छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप