बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबका यी पाँच महिला किन छन् यति धेरै चर्चामा ?

बिहीबार, २१ पुस २०७९, १२ : ३६
बिहीबार, २१ पुस २०७९

दुई दिनअघि साउदी अरबमा महिलाले अब बुलेट ट्रेन चलाउने खबर आएको थियो । साउदी रेलवेले एक भिडियो सेयर गर्दै यो जानकारी दिँदै ३२ जना महिलाले पनि पहिलो चरणको प्रशिक्षण पूरा गरेको बताएको छ ।

त्यसपछि मंगलबार साउदी अरबका राजा सलमानले ११ देशका लागि नयाँ राजदूत नियुक्त गरे, जसमध्ये दुई महिला छन् ।  

साउदी खाडीको त्यो देश हो जहाँ महिलामाथि विभिन्न खालका प्रतिबन्ध छन् र जहाँ कुनै बेला अमेरिकी राष्ट्रपतिले टाउको नढाकेको भन्दै मानिसको निशानामा परेकी थिइन् ।

तर हालैका वर्षमा महिला सशक्तिकरण, उनीहरुलाई बराबर मौका दिनका लागि साउदी अरबले ठूला नीति लागू गरेको छ ।

यसलाई साउदी युवराज मोहम्मद बिन सलमानको ‘भिजन २०३०’ को हिस्सा बताइँदै छ । जसको लक्ष्य महिलालाई सामाजिक र आर्थिक रुपमा सशक्त बनाउनु हो ।

यसअन्तर्गत साउदीमा महिलाले मतदान गर्ने, गाडी चलाउने, सिनेमा घर र रंगशालामा फुटबल खेल हेर्न जाने जस्ता आधारभूत अधिकार पाएका छन् ।

सन् २०१९ मा साउदीले पहिलो पटक महिला राजदूत नियुक्त गरेको थियो । त्यसयता यो प्रक्रिया चलिरहेको र अहिलेसम्म पाँच महिलालाई यो जिम्मेवारी दिइएको छ ।

यो खबरमा साउदीका ती पाँच महिला राजदूतको बारे जानकारी लिऔँ जो आजकाल चर्चामा छन् ।  

saudi1राजकुमारी रीमा बिन्त बन्दर अल साउद – साउदीकी पहिलो महिला राजदूत

सन् २०१९ मा राजकुमारी रीमा बिन्त बन्दर साउदी अरेबियाकी पहिलो महिला राजदूत भइन् । त्यतिबेला युवराज मोहम्मद बिन सलमानले उनलाई अमेरिकाको राजदूतमा नियुक्त गरेका थिए ।

यसअघि राजकुमारी रीमाले साउदी जनरल स्पोर्ट्स अथोरिटीमा योजना तथा विकास विभागको उपप्रमुख र महिला मामिलाको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी थिइन् ।

सन् २०१८ को अक्टोबरमा पत्रकार जमाल खग्गोसीको हत्यापछि अमेरिका र साउदीबीच तनाव बढेको बेला रीमालाई अमेरिकाका लागि साउदी राजदूतको जिम्मेवारी दिइएको थियो ।

राजकुमारी रीमा राजकुमार बन्दर बिन सुल्तानकी छोरी हुन्, जो सन् १९८३ देखि २००५ सम्म अमेरिकाका लागि साउदी अरबका राजदूत थिए ।

यस अवधिमा राजकुमारी रीमा पनि अमेरिकामै रहिन् र जर्ज वाशिङटन विश्वविद्यालयबाट स्नातक गरेकी थिइन् ।

रीमा बन्दर महिला अधिकारका लागि आवाज उठाउनेमध्ये एक मानिन्छिन् । उनी साउदी अरबमा मल्टि स्पोर्ट्स फेडेरेसनकी अध्यक्ष हुने पहिलो महिला पनि हुन् ।

साउदी अरबको वेबसाइटमा उपलब्ध जानकारी अनुसार रीमा फोर्ब्सको २०० शक्तिशाली अरब महिला र साउदी अरबका सबैभन्दा शक्तिशाली महिलाको सूचीमा पनि परेकी छिन् ।

saudi2अमल अल–मोआलिमी

सन् २०२० मा अमल अल–मोआलिमीलाई नर्वेका लागि साउदी अरबको राजदूतमा नियुक्त गरिएको थियो । अल–मोआलिमी साउदी अरेबियाको मानव अधिकार आयोगसँग आबद्ध अन्तर्राष्ट्रिय कम्पनीकी महाप्रबन्धक थिइन् ।

अल–मोआलिमीले साउदी अरबको प्रिन्सेस नुरा बिन्त अब्दुलरहमान विश्वविद्यालयबाट अंग्रेजीमा स्नातक गरेकी थिइन् । त्यसपछि उनी अमेरिका गइन् र डेनभर विश्वविद्यालयबाट मास कम्युनिकेशन र मिडिया पढिन् ।

सन् २०१९ मा अमेरिकामा भएको एक कार्यक्रममा अल–मोआलिमीले भनिन्, ‘भिजन २०३० अन्तर्गत के भइरहेको छ त्यसले प्रभाव पार्नेछ र यी उपलब्धि र विकासले सम्पूर्ण क्षेत्रलाई असर गर्नेछ । अब महिलाले काम गपर्ने कुनै क्षेत्र बाँकी छैन ।’

अल–मोआलिमीका भाइ अब्दुल्लाह अल–मोआलिमी संयुक्त राष्ट्र संघका लागि साउदी अरबका राजदूत र स्थायी प्रतिनिधि पनि हुन् ।

saudi3इनास अल–शहावान

अप्रिल २०२१ मा, इनास अल–शावानले स्वीडेन र आइसल्याण्डका लागि साउदी अरबकी राजदूतको रूपमा शपथ लिएका थिइन् । उनी साउदीको प्रतिनिधित्व गर्ने तेस्रो महिला राजदूत हुन् ।

राजदूत हुनुअघि अल शाहवान सन् २००७ देखि साउदी अरबको विदेश मन्त्रालयमा सम्बद्ध थिए । उनले मन्त्रालयमा धेरै महत्त्वपूर्ण पदहरू सम्हालिन् र उप–परराष्ट्रमन्त्रीको सल्लाहकार पनि थिइन् ।

अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गरेकी इनासले मन्त्रालयको राजनीतिक तथा आर्थिक मामिला विभागमा प्रबन्धकको पद पनि सम्हालिसकेकी छिन् ।

saudi4हाइफा जदीद

हाइफा जेडिया पनि मंगलबार नियुक्त भएकी नयाँ राजदूतमध्ये एक हुन् । हाइफालाई युरोपेली संघ र युरोपेली आणविक ऊर्जा समुदायमा साउदी अरबको मिसनको जिम्मेवारी दिइएको छ ।

यसअघि हाइफा साउदी रिसर्च एण्ड मिडिया ग्रुप ‘एसआरएमजी थिंक’ को प्रबन्ध निर्देशक थिइन् । यस पदमा रहँदा हाइफाको काम उत्तर अफ्रिका र मध्य पूर्वका देशहरूमा अर्थतन्त्र, भूगोल र विदेश नीति जस्ता महत्त्वपूर्ण मुद्दाहरूको विश्लेषण गर्नु थियो ।

रियादमा जन्मिएकी र न्युयोर्कमा हुर्केकी अल–जेदियाले कोलम्बिया विश्वविद्यालयबाट द्वन्द्व समाधान र वार्तालापमा स्नातकोत्तर गरिन् र स्नातकको रूपमा पत्रकारिताको पनि अध्ययन गरिन् ।

अल–जेदियाले साउदी भिजन २०३० अन्तर्गत पहलमा काम गर्न रियाद जानुअघि संयुक्त राष्ट्रसंघको आतंकवाद विरोधी केन्द्रसँग काम गरिन् । उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा साउदी अरबको प्रतिनिधित्व पनि गरिसकेकी छिन् र साउदीको पर्यटन मन्त्रालयमा अन्तर्राष्ट्रिय सम्बन्धको सामान्य विभागको प्रमुख पनि छिन् ।

saudi5निसरिन अल–शिबेल

फिनल्याण्डका लागि साउदी अरेबियाको राजदूतमा नियुक्त भएकी निसरिन बिन्त हमाद अल–शिबेलले जनवरी ३ मा राजा सलमान बिन अब्दुलाजिजको अगाडि शपथ लिएकी थिइन् ।

शपथ ग्रहणपछि अल शिबेलले ट्वीटरमा राजा सलमानलाई धन्यवाद दिइन् ।

अल अरेबियाको समाचार अनुसार साउदी अरब र फिनल्याण्डबीच सन् १९६९ देखि बलियो कूटनीतिक र आर्थिक सम्बन्ध रहेको छ । साउदी अरब खाडी क्षेत्रका देशहरूमा निर्यातको हिसाबले फिनल्याण्डको लागि सबैभन्दा महत्त्वपूर्ण देश हो ।

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप