मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

जनक शिक्षालाई कागजको अभाव

आगामी वर्ष पनि विद्यार्थीले समयमै किताब नपाउने
आइतबार, २४ पुस २०७९, १५ : ०८
आइतबार, २४ पुस २०७९

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई कागजको अभाव भएको छ । १० हजार मेट्रिक टन कागजमध्ये अहिले २ हजार मेट्रिक टन कागज मात्र उपलब्ध छ । कागजको अभावमा पुस्तक छपाई द्रुत गतिमा अगाडि बढ्न सकेको छैन । 

कागजको अभावमा आगामी शैक्षिक सत्रमा पनि विद्यालय तहमा पाठ्यपुस्तक नपाइने विगतको समस्या दोहोरिने भएको छ । कागज अभावमा द्रुत गतिमा छपाइको काम गर्न नसकिएको केन्द्रले जनाएको छ । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले कागजको अभावमा किताब छपाइको काम द्रुत गतिमा अघि बढ्न नसकेको बताए । 

युक्रेन–रसिया, युद्ध, कोरोना महामारी लगायतका कारण देखाउँदै ठेकेदारले पर्याप्त मात्रामा कागज उपलब्ध गराउन सकेको छैन । जसले गर्दा किताब छपाइमा समस्या भइरहेको उनको भनाई छ । नेपालमा भारतबाट कागज सप्लाइ हुँदै आएको छ । विश्व बजारमा नै कागजको अभाव देखिएको छ । जसको असर नेपालमा पनि परेको हो । 

केन्द्रले कागजको अभाव व्यवस्थापन गर्न वैकल्पिक उपायको खोज थालेको छ । ‘काम चलिरहेको छ । तर, तीव्र गतिमा छैन । वैकल्पिक उपायको खोजीमा छौँ । जी टु जी मार्फत नै कागज खरिद गर्ने प्रक्रिया अगाडि बढाएका छौँ ।’ प्रबन्ध निर्देशक झाले भने । 

केन्द्रले आगामी शैक्षिक सत्रका लागि करिब २ करोड किताब छाप्नुपर्ने हुन्छ । तर, हालसम्म ३६ लाखको हाराहारीमा किताबहरू छापिएका छन् । प्रत्येक वर्ष किताब अभावको समस्या देखिने गरेपछि केन्द्रले यो वर्ष ३ वटा मेसिन थप गरेको छ । तर, ती मेसिनलाई द्रुत गतिमा चलाउनको लागि कागज नै नपाइएको उनको भनाई छ । 

‘अहिले ३ वटा मेसिन थप गरेका छौँ । गत वर्षसम्म २ वटा मेसिन मात्र थियो ।  वटै मेसिनलाई तीव्रताका साथ काम गराउन कागज नै भएन ।’ झाले भने । 

५ वटै मेसिन चलाउनको लागि दैनिक ६ गाडी कागज चाहिन्छ । तर, आवश्यकता अनुसार कागज उपलब्ध हुने सकेको छैन । 

कोरोना महामारीका कारण गत असार १ गतेदेखि यो वर्षको शैक्षिक सत्र सुरु भएको थियो । तर, हालसम्म पनि कतिपय विद्यालयमा पाठ्यपुस्तक नपुगेको गुनासोहरू आइरहेका छन् । विशेष गरी कक्षा ११ र १२ का विभिन्न विषयका किताब नपाएको धेरै विद्यालयहरूको गुनासो छ । विद्यालयको तर्फबाट किताब दिन नसकिएपछि विद्यार्थीहरूलाई आफैँ किन्न लगाइएको । 

यो वर्ष नै पर्याप्त मात्रामा किताब पाउन नसकेका विद्यार्थीहरूले आगामी वर्ष पनि समयमै किताब नपाउने देखिएको छ । सरकारले कक्षा १–१० सम्मका विद्यार्थीको हातमा निःशुल्क पुस्तक पुर्‍याउनुपर्ने कानुनी व्यवस्था छ । त्यसका लागि जनक शिक्षा सामग्री केन्द्रले पुस्तक छपाइको कार्य गर्दै आएको छ । 

यस पटक सरकारले यो वर्ष कक्षा १ देखि ४ सम्मको २९ लाख ६९ हजार ३४० विद्यार्थीको लागि १ करोड २२ लाख ५९ हजार ९२६ थान पाठ्यपुस्तक छपाइको जिम्मा १८ वटा निजी प्रकाशन गृहलाई दिएको थियो । कक्षा ५ देखि १० सम्मको छपाइको जिम्मेवारी जनक शिक्षा सामाग्री केन्द्रलाई दिइएको थियो । 

केन्द्रले किताब छाप्नका लागि भारतबाट नयाँ प्रविधिको मेसिन खरिद गरेको थियो । केन्द्रले कागज अभाव कम गर्नको लागि ठेकेदारमार्फत भन्दा पनि सिधै जी टु जी गरेर आपूर्ति गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप