बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशसंनीय : प्रधानमन्त्री

सोमबार, ०९ माघ २०७९, १७ : ५२
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र प्रहरीमा कायम स्रोत र साधनको अभावप्रति सरकार जानकार रहेको उल्लेख गर्दै समस्या समाधानमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । 

हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामान, विपद् व्यवस्थापनका सामान, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरण र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने उनको भनाइ छ । 

२२ औं सशस्त्र प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘तपाईहरूलाई श्रोत र साधनको अभाव छ भन्ने कुरा हामी सबैलाई जानकारी छ’, प्रचण्डले भने, ‘हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरणहरू र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुनेसमेत विश्वास दिलाउँछु।’ 

प्रचण्डले राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशसंनीय रहेको पनि बताए ।  २०७२ सालको विनाशकारी महाभूकम्प लगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपदमा आफ्नो ज्यानको प्रवाह नगरी सशस्त्र प्रहरी बहादुरीपूर्वक खटिएको स्मरण गर्दै प्रचण्डले मुक्तकण्ठले प्रशंसा गरे । 

यस्तै नेपालको सीमा सुरक्षार्थ डेडिकेटेड फौजको रूपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता र सीमित पूर्वाधारका वावजुद सशस्त्र प्रहरीले राम्रो काम गरेको प्रचण्डले बताए । नेपालको सीमा सुरक्षार्थ उत्तर–दक्षिण, पूर्व–पश्चिम सबैतिर परिचालन गर्न, त्यसका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि प्रचण्डले बताए । 

प्रचण्डले मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शून्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्दै जनताको मन मष्तिस्क जित्ने गरी काम गर्न पनि सो क्रममा सशस्त्र प्रहरीलाई शुभकामना दिए । 

सो क्रममा प्रचण्डले ‘लाइफ टाइम एचिभमेन्ट’ बाट सम्मानित भएका ज्ञानेन्द्रराज राईलाई बधाइ दिँदै व्यवसायिक र व्यक्तिगत जीवनमा निरन्तर सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप