शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

नेपालमा सुन तस्करी गर्न सुडानी ‘भरिया’ को प्रयोग

३ महिनामा १४ सुडानी दुबई काठमाडौँ ओहोरोदोहोरो
शुक्रबार, २० माघ २०७९, १० : २३
शुक्रबार, २० माघ २०७९

काठमाडौँ । सुडान घर भएका मोहमद अहमेद दफल्ला साराफेल्दिनको पेसा–व्यवसाय छैन । हातमुख जोर्न धौधौ पर्ने उनलाई सँगै पढेका साथीले भने, ‘नेपाल घुम्न जान्छौ ? डाँडाकाँडा हेर्न पाइन्छ ।’ राफल नामका सहपाठीले नेपाल घुम्न जाँदा दुबईबाट कसैले पठाउने ‘खाद्यान्न’ काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म लगिदिन र त्यो लिएर गएर दुई दिन नेपाल घुमेर फर्किने प्रस्ताव गरे ।

सोहीअनुसार नेपालमा डाँडाकाँडा र खोलानाला हेर्न आएका साराफेल्दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनासाथ पक्राउ परे । पक्राउ परेपछि मात्र उनलाई थाहा भयो–दुबईबाट ‘कसैले’ काठमाडौँमा छाडिदिन भनेको सामान खानेकुरा होइन, बहुमूल्य सुन पो रहेछ !’

पुस ८ मा १९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका साराफेल्दिन अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् । साराफेल्दिन मात्र हैन, सुडानी नागरिक अहमद मोहम्मद इब्राहिम मोहम्मद पनि उनीसँगै महाराजगन्ज स्थित ब्युरोको हिरासतमा छन् । 

दोस्रो पटक नेपाल आएका अहमद मोहम्मद इब्राहिम मोहम्मद चाहिँ साराफेल्दिनले ल्याएको सुन रिसिभ गर्न जाँदा पक्राउ परेका हुन् । सो सुनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । 

19-kg

जिल्ला सरकारी वकिल कार्यालयको राय अनुसार ‘सङ्गठित अपराध’ मुद्दामा अनुसन्धान गर्न मिसिलसहित आरोपीहरूलाई सीआईबीमा पठाइएको त्रिभुवन विमानस्थल भन्सार कार्यकालका प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनालले रातोपाटीलाई बताए । सरकारी वकिलको राय अनुसार माघ ३ मा विमानस्थल भन्सार कार्यालयले सीआईबीलाई अनुसन्धान फाइल जिम्मा लगाएको थियो । 

भन्सार कार्यालय र सीआईबीले गरेको अनुसन्धानबाट पछिल्लो समय सुन तस्करीको ट्रेन्ड बदलिएको भेटिएको छ । सुन तस्कर चूडामणि उप्रेती ‘गोरे’को समूहले ल्याएको भनिएको ३३ किलो सुन प्रकरण पछि बिस्कुट आकारका सुन आउन छाडेको छ । 

प्रमुख भन्सार अधिकृत खनालका अनुसार पछिल्लो समय सुन कारोबारीले ‘अर्धठोस’ सुन ठुलो परिमाणमा ल्याउन थालेका छन् । ठुला प्याकेट बनाएर ल्याउँदा हिँड्न र जहाजमा बस्न सहज हुने हुनाले सुन तस्करले सो विधि अपनाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

बिहीबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ परे । दुबईबाट सुन लिएर आएका मोहम्मद कमल माहगोबको साथबाट पनि भन्सार कार्यालयका कर्मचारीले ‘अर्धठोस’ सुन बरामद गरेका छन् । पहिलोपटक नेपाल आएका ३५ वर्षीय माहगोव मध्यराति १२ बजे नेपाल उत्रिएका हुन् । मोहमद कमल माहगोवको जन्मस्थान अबुधावी रहेको उनको साथमा भेटिएको कागजातबाट खुलेको छ । उनी फ्लाई दुबईको उडान नम्बर एफ–२५७३ मार्फत ८ प्याकेट (९ केजी) सुन बोकेर नेपाल आएका थिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार पछिल्लो समय नेपालमा पक्राउ परेका दुई जना सुडानी र एक जना क्यानडेली सुनका ‘भरिया’ मात्र हुन् । 

दुबईबाट सुन पठाउने र रिसिभ गर्नेहरूको बारेमा पक्राउ परेकाहरूले बताएका छैनन् । सुडानका साराफेल्दिन र इब्राहिमबारे अनुसन्धान गरिरहेका सीआईबीका इन्स्पेक्टर मणिराम थापाका अनुसार उनीहरुले ह्वाट्स एपमार्फत मात्र कुरा गरेको भेटिएको छ । 

9kg

सङ्गठित गिरोहमा अहिलेसम्म नेपाली नागरिकको संलग्नता नदेखिएको ब्युरोका एआईजी उत्तमराज सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘नेपालीको संलग्नता देखिएको छैन, मुख्य तस्करले एक–अर्को भरियालाई नचिन्ने गरी प्रयोग गरेको देखिन्छ ।’ 

साराफेल्दिन र इब्राहिमले एक अर्कालाई नचिन्ने जिकिर गरेका छन् । साराफेल्दिनले १० वटा पोकामा प्याक गरिएको सुन लिएर आएका थिए । नेपालमा तस्करी भएर आउने अधिकांश सुन दुबईबाट नै आउने गरेको छ । फ्लाइ दुबईको उडान नम्बर एफजेड–५३९ मार्फत त्रिभुवन विमानस्थलमा ओर्लिएका साराफेल्दिनलाई भन्सारका कर्मचारीले आगमन कक्षको ‘वाक थ्रु’ गेटमा रोकेका थिए । 

३ महिनामा १४ सुडानीको शङ्कास्पद आवत–जावत 

पछिल्लो ३ महिनामा १४ जना सुडानी नागरिक काठमाडौँ आवत जावत गरेको भेटिएको छ । उनीहरूलाई सुन तस्करले ‘भरिया’को रूपमा नेपाल पठाएको अनुसन्धान अधिकृतहरूको आशङ्का छ । 

हिरासतमा रहेका इब्राहिम ६ नोभेम्बर २०२२ र २१ नोभेम्बर २०२२ मा दोस्रो पटक नेपाल आएका हुन् । तर, इब्राहिमले आफू सुनको ‘भरिया’ बनेको अस्वीकार गर्दै भनेका छन्, ‘ट्राभलमा काम गर्छु, पर्यटकलाई घुमाउँछु ।’ 

इब्राहिमले त्रिभुवन विमानस्थल स्थित बिजनेस होटेलमा बसेर सुनको कारोबार गरेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । १९ किलो सुन रिसिभ गर्न गएका इब्राहिम सिधै अध्यागमनको काउण्टरमा पुगेका थिए । ‘साथीको भिसामा समस्या भयो’ भन्दै विमानस्थलमा पुगेका उनी कसरी प्रतिबन्धित क्षेत्रसम्म पुगेका थिए भन्नेबारे पनि ब्युरोले अनुसन्धान गरिरहेको छ । सुन रिसिभ गर्नुअघि नै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । 

9KG Gold Pack 10.19 (2079)

विराटनगरको म्याङ्गो ट्री होटेलको ‘कनेक्सन’

दुबईबाट सुडानका भरियाले ल्याउने सुन काठमाडौंबाट विराटनगर जाने गरेको अनुसन्धानबाट थाहा भएको छ । इब्राहिमको ट्राभल हिस्ट्रीअनुसार उनी १८ पटक काठमाडौँ–विराटनगर ओहोरदोहोर गरेको भेटिएको छ । विराटनगरमा जाँदा उनी म्याङ्गो ट्र होटेलमा बस्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । 

विराटनगरमा कार लिएर भारतीय नागरिक सुन लिन आउने गरेको इब्राहिमले बताएको विमानस्थल भन्सार कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । तर, सुन रिसिभ गर्ने भारतीयको पहिचान हुन सकेको छैन । 

बरामद सुन भन्सार कार्यालयले पुस ११ मा नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ । परीक्षण गर्दा बरामद सुन २४ क्यारेटको रहेको भेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप