शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अबको १० दिनभित्र नयाँ राजनीति कोर्स बन्छ : प्रमुख सचेतक लेखक

शुक्रबार, ०५ फागुन २०७९, १७ : ४३
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्स बन्ने दाबी गरेका छन् । शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानुनविद्हरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अबको हप्ता १० दिनभित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए । उनले एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखिएको बताए । उनले एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको बताए ।

प्रमुख सचेतक लेखकले मूल राजनीतिक मुद्दा जुन छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको बताए । उनले नेकपा एमाले संसद् विघटनको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै यस्ता पदहरू जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा काँग्रेसको स्वाभाविक दाबी रहने बताए ।

उनले भने, ‘एमालेको अत्यन्त ज्यादा अधैर्य र अस्थिर राजनीति देखिएको छ । उहाँहरू ज्यादै विचलित हुनुभएको छ । त्यसको कारण के हो मलाई थाहा छैन । उहाँहरूको विचलनले नै के देखाइरहेको छ भने अहिलेको सत्ता गठबन्धन स्थिर छैन भन्ने कुरा देखाइरहेको छ । राष्ट्रपतिका लागि हामी सकारात्मक र आशावादी छौँ । काँग्रेस सबैभन्दा ठुलो राजनीतिक दल हो । संसदमा हामी सबैभन्दा धेरै सङ्ख्यामा छौँ, सातै प्रदेशमा हामी सबैभन्दा ठुलो सङ्ख्यामा छौँ । सबै राजनीतिक दलहरू भन्दा बढी हाम्रो मतभार छ ।’ 

लेखकले भने, ‘आजका दिनमा मूल राजनीतिक मुद्दा जुन छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काङ्ग्रेसमाथि नै भरोसा गर्ने स्थिति छ । किनभने एमालेले त जुनसुकै बेला प्रतिनिधि सभा विघटन हुन्छ भनिसक्यो नि । जुनसुकै बेला संसद् विघटनको चाहना राखेर अघि बढ्ने पार्टीले संविधानको रक्षा गर्दैन । यस्ता पदहरू जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा काँग्रेसको स्वाभाविक दाबी हुन्छ । राजनीति नयाँ कोर्समा जाने स्थिति बन्दै गएको छ । यही हप्ता १० दिनमा । नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ ।’

प्रमुख सचेतक लेखकले काँग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप