मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

छोरीलाई बाथरुममा चुकुल लगाउन दिन्नथिन् : श्रीदेवीलाई चन्द्रमा हेर्नु पर्दा पाइलटले फेरे विमानको दिशा

शुक्रबार, १२ फागुन २०७९, १२ : १२
शुक्रबार, १२ फागुन २०७९

बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवी यो संसारबाट बिदा भएको आज ५ वर्ष पूरा भएको छ । २४ फेब्रुअरी २०१८ मा दुबईको एउटा होटेलको बाथ टबमा डुबेर उनको मृत्यु भएको थियो । उनको मृत्यु सबैका लागि स्तब्ध पारिदिने खालको थियो किनभने त्यति बेला उनी ५४ वर्षकी थिइन् ।  यो अचम्मको संयोग हो किनभने श्रीदेवी आफै आफ्ना छोरीहरूलाई बाथरुम लक गर्न दिँदैन थिइन् । यो कुराको खुलासा जान्ह्वी कपुरले एउटा भिडियोमा गरेकी थिइन् । तर विडम्बना उनी आफैँ बाथरुम भित्र मृत अवस्थामा भेटिइन् । श्रीदेवी हिन्दी सिनेमामा एक करोड भारु पारिश्रमिक लिने पहिलो अभिनेत्री हुन् । ५४ वर्षको उमेरमा उनको फिल्मी करियर ५० वर्ष पुगिसकेको थियो । ४ वर्षको उमेरदेखि नै चलचित्रमा सक्रिय श्रीदेवीले ३०० भन्दा बढी चलचित्रमा काम गरिन् । श्रीदेवी हिन्दी सिनेमामा एक मात्र अभिनेत्री थिइन् जसको कुनै फिल्ममा उपस्थिति मात्रै पनि हिट हुने ग्यारेन्टी मानिन्थ्यो ।

श्रीदेवीका लागि फ्यानहरूमा यतिसम्मको क्रेज थियो कि एक पटक कर्वा चौथमा उनी विमानबाट कतै गइरहेकी थिइन् र उनले चन्द्रमा हेरेपछि मात्रै आफ्नो व्रत तोड्नुपर्ने थियो । उनले पाइलटलाई यसबारे जानकारी दिएपछि उनले विमानको दिशा नै फेरेर श्रीदेवीलाई चन्द्रमा देखाए । श्रीदेवीको शव यात्रा भारतका चार सबैभन्दा ठुला अन्तिम यात्रामा गनिन्छ ।

आज श्रीदेवीको पाँचौँ पुण्य तिथिमा उनको जीवनको केही रोचक किस्साबारे जानकारी लिऔँ ।

sri deviकहानी सुरु गरौँ मृत्युभन्दा तीन दिन अघिबाट...

२० फेब्रुअरी २०१८ मा, श्रीदेवी आफ्नी कान्छी छोरी खुसी कपूर र श्रीमान् बोनी कपूरसँग भतिजो मोहित मारवाहको विवाहमा सहभागी हुन दुबई गएकी थिइन् । विवाह सकिएपछि श्रीदेवी केही दिन किनमेल गर्न दुबईमा बस्न चाहन्थिन्, किनभने केही दिनपछि ६ मार्चमा उनकी जेठी छोरी जान्हवी कपूरको जन्मदिन थियो र उनी उनको लागि उपहार किन्न चाहन्थिन् ।

श्रीदेवी बोनी पनि त्यही बसुन् भन्ने चाहन्थिन्, तर उनी लखनउमा एउटा महत्त्वपूर्ण बैठकमा सहभागी हुनुपर्ने भएकोले भारत फर्किए । फेब्रुअरी २१ र २२ मा श्रीदेवीले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट विवाहको सुन्दर तस्बिर सेयर गरिन् ।

२४ फेब्रुअरी । श्रीदेवीले श्रीमान् बोनी कपूरलाई फोन गरिन् र भनिन् – पापा (श्रीदेवीले बोनी कपूरलाई मायाले यही नामले बोलाउने गर्थिन् )  आई एम मिसिङ यु । बोनी पनि श्रीदेवीलाई भेट्न चाहन्थे, त्यसैले उनले सरप्राइज दिने निर्णय गरे र दिउँसो ३ः३० बजेको फ्लाइट लिएर दुबई प्रस्थान गरे । अवतरणको लगत्तै बोनी ६ः२० मा होटेल पुगे । दुवैले करिब आधा घण्टा कुरा गरे र डिनरमा जाने निर्णय गरे ।

श्रीदेवी तयार हुन उठिन् र बाथरुममा गइन् । श्रीमान् बोनी लिभिङ एरियामा नै उनलाई पर्खन थाले । १० मिनेटको पर्खाइ १५ मिनेट र त्यसपछि २० मिनेटमा परिणत भयो तर श्रीदेवी बाहिर आइनन् । दुवै जना डिनरका लागि ढिलो भइसकेका थिए तर श्रीदेवीले भित्रबाट जवाफ दिइरहेकी थिइनन् ।

बोनी कपुर ढोका तोडेर भित्र पसे । उनले जे देखे त्यो हृदय विदारक दृश्य थियो । श्रीदेवी बाथ टबमा डुबेकी थिइन् । बोनीले उनलाई निकाले र आफ्ना साथीहरूलाई फोन गरे । केही समयपछि प्रहरी पनि पुगे । श्रीदेवीलाई अस्पताल लैजाँदै गर्दा उनको बाटोमै निधन भयो ।

राति ११ बजेतिर यो खबर भारत पुग्यो । श्रीदेवीका देवर र बोनी कपूरका भाइ सञ्जय कपूरले श्रीदेवीको मृत्यु हृदयाघातका कारण भएको घोषणा गरे । यद्यपि पोस्टमार्टमको रिपोर्ट त्यति बेला सम्म आएको थिएन ।

दुबई प्रहरीलाई राती साढे दुई बजे मुद्दा बुझाइएको थियो । पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण टबमा डुबेर भएको खुलेको छ । जुन एक दुर्घटना हो । रिपोर्टमा स्पष्ट देखिएको थियो कि श्रीदेवीको शरीरमा अल्कोहल भेटिएको थियो र फोक्सोमा पानी भरिइसकेको थियो । 

दुबई प्रहरीले ३ दिनको अनुसन्धानपछि २७ फेब्रुअरी २०१८ मा श्रीदेवीको मृत्यु प्रकरणलाई बन्द गर्‍यो । सोही दिन श्रीदेवीको पार्थिव शरीर अनिल अम्बानीको निजी जेटमा लिएर पति बोनी कपूर र छोरा अर्जुन कपूर मुम्बई पुगे । सन् २०१३ मा पद्मश्रीद्वारा सम्मानित श्रीदेवीलाई राज्य सम्मानका साथ अन्तिम बिदाइ गरियो र उनलाई बन्दुकको सलामी दिइएको थियो ।

sridevi3अन्त्येष्टि अघि मुखमा सुनको टुक्रा राखिएको थियो

अन्त्येष्टि हुनुअघि श्रीदेवीलाई दुलहीलाई झैँ श्रृङ्गारिएको थियो  । उनको शृङ्गार ५ मिनेटमा गरियो र त्यसपछि उनको मुखमा सुनको टुक्रा हालियो । वास्तवमा, तमिलनाडुको तमिलहरूको परम्परा अनुसार, जब विवाहित महिलाको मृत्यु हुन्छ, उनको मुखमा सुनको पान राखिन्छ, जसलाई ताम्बूल भनिन्छ । यसलाई अखण्ड सौभाग्यको प्रतीक मानिन्छ ।

श्रीदेवीको शरीरलाई निकै महँगा टेम्पल ज्वेलरीले सजाइएको थियो । यी गहनाहरू देवीहरूलाई चढाइन्थ्यो । तर, समयसँगै विवाहित महिलाले पनि यस्ता गहना लगाउन थालेका छन् । यो गहनालाई शवसँगै जलाइन्छ, तर पछि यसलाई अस्थुबाट निकालिन्छ ।

बलिउडको चौथो ठुलो अन्त्येष्टि

श्रीदेवीको अन्तिम दर्शनका लागि यति भीड जम्मा भएको थियो कि प्रहरीले लाठीचार्ज गरेर भीडलाई नियन्त्रण गर्नुपरेको थियो । सडकमा यति धेरै मानिस शोक मनाउन जम्मा भए कि यसलाई भारतको चौथो सबैभन्दा ठुलो अन्तिम संस्कार भनियो । यसअघि गायक मोहम्मद रफी, किशोर कुमार, राजेश खन्नाको अन्तिम संस्कारमा यस्तै भीड देखिएको थियो । ३ मार्चमा श्रीदेवीको अस्तु विसर्जन गरिएको थियो ।

श्रीदेवीको निधनले उनका लाखौं प्रशंसकलाई स्तब्ध बनायो । पुस्ता जस्तोसुकै भए पनि श्रीदेवी हरेक पुस्ताको रोजाइ थिइन् । ४ वर्षको उमेरमा अभिनय सुरु गरेकी श्रीदेवी बलिउडकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री र पहिलो महिला सुपरस्टार थिइन् । उनले पद्मश्री, लाइफ टाइम अचिभमेन्टलगायत धेरै ठुला पुरस्कारहरू पाएकी थिइन् ।

sridevi-2हेरौँ उनको सुन्दर यात्रा

बाल कलाकारबाट सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री बनिन्

श्रीदेवीको पूरा नाम श्री अम्मा याङ्गर अय्यपन थियो । उनको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुको एउटा सानो गाउँ मीनमपट्टीमा भएको थियो । उनका बुबा वकिल र आमा गृहिणी थिइन् । अभिनयमा रुचि थियो त्यसैले उनले सन् १९६७ मा तमिल फिल्म कन्धन करुणाईमा ४ वर्षको उमेरमा बाल कलाकारको रूपमा काम गर्ने अवसर पाइन् । सन् १९७० मा, उनी बाल कलाकार बनेर तेलुगु सिनेमामा प्रवेश गरिन् ।

श्रीदेवी ८ वर्षको उमेरमा बलिउडमा आइन्

श्रीदेवीले सन् १९७२ मा रानी मेरा नामबाट हिन्दी सिनेमामा प्रवेश गरेकी थिइन् । त्यति बेला उनको उमेर ८ वर्ष मात्र थियो । १३ वर्षको उमेरमा श्रीदेवीले के. बालचन्दरको फिल्म मूंदरु मुदिचुबाट मुख्य भूमिकामा आफ्नो करियर सुरु गरेकी थिइन् । सन् १९७५ को हिन्दी फिल्म सोलवां साल बाट, श्रीदेवीले हिन्दी सिनेमामा मुख्य भूमिकामा काम गरिन् र ४ वर्ष पछि उनले जितेन्द्रसँग हिम्मतवालामा काम गरिन् । अर्को फिल्म तोहफाबाट, श्रीदेवीले हिन्दी सिनेमाका शीर्ष अभिनेत्रीहरूमा स्थान पाइन् ।

sridevi_19_1५४ वर्षको उमेरमा ५० वर्षको अभिनय र ३०० चलचित्रमा 

श्रीदेवीले आफ्नो करियरमा करिब ३०० फिल्ममा अभिनय गरिन् । जसमा ६३ हिन्दी, ६२ तेलुगु, ५८ तमिल र २१ मलयालम फिल्म छन् । बोनी कपूरसँग विवाह गरेपछि श्रीदेवीले आफूलाई फिल्मबाट टाढा राखिन् । करिब १५ वर्षपछि श्रीदेवीले २०१२ को फिल्म इङ्लिस विङ्लिसबाट बलिउडमा बलियो पुनरागमन गरिन् । उनी बलिउडकी पहिलो नायिका थिइन्, जसले विवाहपछि मुख्य भूमिकाबाट फर्केर सफलता हासिल गरिन् ।

लेडी सुपरस्टार र १ करोड भारु पारिश्रमिक लिने एक्ली अभिनेत्री

श्रीदेवी ८० को दशकमा भारतको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनिन् । उनले मिस्टर इन्डियाका लागि ११ लाख भारु लिएकी थिइन् जुन त्यति बेलाको रेकर्ड थियो । त्यसयता श्रीदेवीले ८०–९० को दशकका फिल्मका लागि १ करोड भारु शुल्क लिइन् ।

Srideviफिल्मको हवा–हवाई वास्तविक जीवनमा थिइन् लजालु, अन्तर्मुखी 

४ वर्षको उमेरमा फिल्ममा आएकी श्रीदेवीको बाल्यकाल सामान्य बालबालिकाको जस्तो थिएन । खेल्ने–कुद्ने उमेरमा उनी आफ्नी आमा र बहिनीसँग फिल्मको सेटमा गुजार्ने गर्थिन् । क्यामरा सुरु हुने बित्तिकै चुलबुल देखिने श्रीदेवी वास्तविक जीवनमा निकै लजालु र शान्ति मन पराउने खालकी थिइन् । उनलाई भीड र हो–हल्ला मन पर्दैनथ्यो । थुप्रै मानिसले उनलाई रिसाहा सोच्थे तर वास्तवमा उनी लजालु र अन्तर्मुखी थिइन् ।

श्रीदेवीले बोनी कपूरलाई राखी बाँधिन्, त्यसपछि विवाह गरिन्

श्रीदेवी एक समय मिथुन चक्रवर्तीसँग सम्बन्धमा थिइन् । फिल्मी समाचारका अनुसार दुवैले विवाह पनि गरेका थिए । तर, यी दुईबीचको सम्बन्धबारे कुनै ठोस समाचार आउन सकेन । मिथुनले श्रीदेवी र बोनी कपुर सम्बन्धमा रहँदा शङ्का गर्थे । यही कारण थियो श्रीदेवीले बोनीलाई राखी बाँधेकी थिइन् ।

त्यसको केही समयपछि मिथुनसँग अलग भएर श्रीदेवीले बोनी कपूरसँग विवाह गरिन् । बोनी कपुरको पहिलो विवाह तोड्नमा श्रीदेवी जिम्मेवार रहेको पनि बताइन्छ । यही कारण बोनी कपुरकी जेठी श्रीमती मौना शौरीको निधन पछि जब श्रीदेवी बोनीको घरमा आइन् तब उनका सौतेनी छोरा अर्जुनले उनलाई वर्षौँसम्म स्वीकार गर्न सकेनन् ।

srideviइटालीमा एक व्यक्तिले थप्पड हानेका थिए 

श्रीदेवीकी छोरी जान्हवी कपुरले एक अन्तर्वार्तामा एक पटक इटालीमा एक इटालियन व्यक्तिले श्रीदेवीलाई थप्पड हानेको बताएकी थिइन् । श्रीदेवी आफ्नी आमाको चेन्नई स्थित घरका लागि फर्निचर किन्न गएकी थिइन् । पसलमा नै उनको एक पुरुषसँग झगडा हुन थाल्यो र झगडा यति बढ्यो कि ती व्यक्तिले उनलाई थप्पड हाने । साथीहरूले बोनीलाई यो कुरा सुनाएपछि उनले दुवै छोरीलाई छाडेर तुरुन्तै इटाली गएका थिए ।

काममा डेडिकेटेड श्रीदेवीले १०३ डिग्री ज्वरो आउँदा पनि काम गरिन्

श्रीदेवी ८०–९० को दशककी सबैभन्दा व्यस्त अभिनेत्री थिइन् । उनीसँग यति धेरै फिल्महरू हुन्थे कि उनले एक दिनमा चार सिफ्टमा काम गर्नुपर्दथ्यो तर उनलाई आफ्नो कामप्रति यति लगाव थियो कि उनी यसमा पनि रमाउँथिन् ।  चलचित्र चालबाजको गीत  ‘ना जाने कहाँ से आयी है’ गीतको सुटिङका क्रममा श्रीदेवीलाई १०३ डिग्री ज्वरो आएको थियो, तर पनि उनले पानीमा भिजेर उत्कृष्ट डान्स मुभ गरेकी थिइन् ।

sri devi5श्रीदेवीलाई चन्द्रमा देखाउन पाइलटले उडानको दिशा परिवर्तन गरेका थिए 

श्रीदेवीले हरेक रिती रिवाजलाई कडाईका साथ पालना गर्थिन् । श्रीमानको दीर्घायुको कामना गर्दै हरेक वर्ष कर्वा चौथ व्रत बसेर नियमानुसार पूरा गर्थिन् । एक पटक श्रीदेवी कर्वा चौथ व्रत बसेर पति बोनी कपूरसँग मेक्सिकोबाट लस एन्जलस जाँदै थिइन् ।

उनले व्रत तोड्नुपर्ने भए पनि नियम अनुसार कर्वा चौथको व्रत चन्द्रमा हेरेपछि मात्र तोडिन्छ । जब आकाशमा चन्द्रमा कतै देखिएन, श्रीदेवीले पाइलटलाई उडानको दिशा परिवर्तन गर्न अनुरोध गरिन् । श्रीदेवी सुपरस्टार थिइन्, त्यसैले पाइलटले उनको कुरामा सहमति जनाए र उडानको दिशा बदलेर उनलाई चन्द्रमा देखाइदिए ।

sri devi4‘नागिन’ बनेर आँखा खराब भएपछि भाकल मागेर धर्मशाला बनाइन् 

फिल्म नागिनामा नागिन बन्नका लागि उनले घण्टौँसम्म कन्ट्याक्ट लेन्स लगाएर बस्नुपर्यो जसका कारण उनको आँखा बिग्रिएको थियो । यस्तो अवस्थामा श्रीदेवीले ऋषि केश नजिकै रहेको नीलकण्ठ महादेव मन्दिरमा  भाकल गरेकी थिइन् र त्यहाँ यात्रुहरूलाई बस्नका लागि तीन वटा कोठा बनाइदिइन् । यी कोठालाई श्रीदेवीको धर्मशाला भनिन्छ ।

बालबालिकाको बाथरुमबाट चुकुल हटाइदिएकी थिइन् 

श्रीदेवी सधैँ बालबालिकाको चिन्तामा हुन्थिन् । केही समयअघि श्रीदेवीकी छोरी जान्हवी कपूरले चेन्नईस्थित घरको भ्रमण गराएकी थिइन् । यस क्रममा उनले आमाले कहिल्यै पनि आफूलाई र बहिनी खुसीलाई बाथरुमको चुकुल लगाउन नदिने गरेको बताइन् । छोरीहरू मनमर्जी नबनुन् भनेर श्रीदेवीको बाथरुमको लक हटाइदिएकी थिइन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप