शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

बढ्दो छ कृषिजन्य वस्तु आयातको ग्राफ : पाँच वर्षको अवधिमा ५७ प्रतिशतले बढ्यो

७ महिनामा दुई खर्बको कृषिजन्य वस्तु आयात
मङ्गलबार, १६ फागुन २०७९, ०७ : ४६
मङ्गलबार, १६ फागुन २०७९

काठमाडाैँ । गत माघमा चितवनका किसानले भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले मुल्य नपाएको भन्दै नारायणगढ सडकमा तरकारी फालेर आन्दोलन गरेका थिए । 

तरकारीको मुल्य नपाएर किसानहरु आन्दोलित हुँदानेपालमा भने भारतमात्र होइन, युरोप, अमेरिकादेखि वार्षिक अर्बाै रुपैंयाको कृषिजन्य सामग्री आयात हुने गरेको छ ।

सरकारले कृषि उत्पादन बढाउने कार्यक्रम हरेक वर्ष घोषणा गर्छ, तर कृषिजन्य वस्तुको आयात बढिरहेको छ । केन्द्रीय भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा तीन खर्ब ५५ अर्ब १३ करोड ६१ लाखको कृषिजन्य वस्तु आयात भएको देखिन्छ । 

जवकि पाँच वर्षअघि नेपालले आर्थिक वर्ष २०७४-७५ मा दुई खर्ब चार अर्बको मात्र कृषिजन्य वस्तुको आयात गरेको थियो। यसरी पाँच वर्षको अन्तरमा नेपालमा ५७.४९ प्रतिशतले कृषिजन्य वस्तु आयात बृद्धि भएको देखिन्छ । 

चालु आर्थिक वर्षमा सरकारले कृषि मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको थियोतर७ महिनामा एक खर्ब ६३ अर्ब ७७ करोड १८ लाख १८ हजारको कृषिजन्य वस्तु आयात भएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ। त्यतिमात्र होइन, सरकारले हरेक वर्ष आत्मानिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान घोषणा गर्दै आएको छ। सरकारले हरेक वर्ष कृषिमा ठूलो लगानी गरेता पनि उत्पादन बढ्नु त परको कुरा बर्षेनि आयात झन् झन् बढ्दो छ। 

उता किसानले हरेक वर्ष रोपाईंको बेलामा मलको अभाव खेपिरहेका हुन्छन्। जसले गर्दा पनि कृषि उत्पादनमा कमी आएको सरोकारवालाहरु बताउँछन्।  कृषि तथा पशुपंछी विकास मन्त्रालयका अनुसार नेपालमा गहुँ उत्पादन२ हजार ९९१ किलो प्रतिहेक्टर छ। आर्थिक वर्ष २०७४-७५ मा ७लाख ६ हजार ८४३ हेक्टरमा १९ लाख ४९ हजार एक मेट्रिक टन गहुँ उत्पादन भएको छ । त्यस्तै, आव २०७७-७८ मा ७ लाख ११ हजार ६७ हेक्टरमा २१ लाख २७ हजार २७६ मेट्रिक टन मात्र गहुँ उत्पादन भएको छ। 

तर, नेपालमा वार्षिक २५ लाख मेट्रिकटन गहुँ खपत हुने गरेको छ। ४ वर्षको अन्तरालमा नेपालमा गहुँ उत्पादनमा १० प्रतिशतलेमात्र उत्पादन बढेको छ। यसरी तथ्याङ्क हेर्दा नेपालमा अझै पनि ४ लाख मेट्रिकटन गहुँ आयातमा निर्भर हुनु परेको छ। 

धान, चामल सबैभन्दा बढी आयात
नेपालमा सबैभन्दा बढी धान, चामल आयात हुने गर्छ। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा मात्रै २३ अर्ब ७० करोड ४६ लाख २२ हजारको धान र चामल आयात भएको छ। 

नेपालमा वार्षिक १४ लाख हेक्टर क्षेत्रफलमा धान उत्पादनमा हुँदै आएको छ। आर्थिक वर्ष २०७८-७९ को तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफलमा २ प्रतिशतले कमी आएता पनि धान उत्पादनमा ६.९४ प्रतिशतले र उत्पादकत्वमा ९.१ प्रतिशतले  बृद्धि भएको देखिन्छ। 

यहाँ औषत प्रतिव्यक्ति प्रतिवर्ष करिब १३७ केजी चामल, मकै, कोदो, फापर उपभोग भइरहेको छ। नेपालमा अझै पनि करिब ४ लाख ८० हजार मेट्रिकटन चामल कमी भएको देखिन्छ। 

कृषि तथा पशुपंछी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार सरकारले कृषिजन्य वस्तुको आयात रोक्न शीत भण्डारण निर्माण गर्न प्राथमिकता राखेको छ। पाँच वर्षको तथ्याङ्क हेर्दा आयातमा बृद्धि भएता पनि चालु आर्थिक वर्षमा कृषिजन्य वस्तुको आयातमा कमी आएको उनले बताए। 

रसिया–युक्रेन युद्ध र भारतले चामल तथा गहुँमा निर्यातमा लगाएको प्रतिबन्धका कारण कृषिजन्य वस्तुमा आयातमा कमी आएपनि पछिल्लो समय नेपालमा कृषि क्षेत्रमा उत्पादनमा बृद्धि पनि भएको उनले बताए। सरकारले आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ स्थानीय तहहरुलाई आत्मानिर्भर कार्यक्रमहरु बढी जोड दिएकोप्रवक्ता सञ्जेलको भनाई छ । 

धानको उत्पादन बढाउनका लागि नयाँ नयाँ हाइब्रिड धानको विकास गर्दै छौं।सञ्जेलले भने, ‘आयात मात्र बढेको होइन, खपत पनि बढेको छ। जसले गर्दा आयातमा बृद्धि भएको देखिएको हो।’

अन्यको आयात के छ ?
केन्द्रीय भन्सार विभागका अनुसार जिउँदो पशुपंक्षी,माछा, मासुलगायत दुई अर्ब ३८ करोड १५ लाख, कफी तथा चियाचार अर्ब सात करोड ७० लाख, तरकारी १९ अर्ब ६६ करोड ७५ लाख, फलफुल नौ अर्ब ६६ करोड ४७ लाख, खाद्यान्न ३४ अर्ब ६७ करोड ८४ लाख, तेलहन वस्तु १२ अर्ब १७ करोड पाँच लाख, वनस्पति, जनावरको वोसो तथा तेल ५७ अर्ब ९९ करोड ५ लाख, चिनी तथा चिनीजन्य वस्तु दुई अर्ब ९७ करोड ८० लाखको आयात भएको छ । 

त्यस्तै, प्रशोधित खाद्यवस्तु चार अर्ब ७८ करोड ९३ लाख, प्रशोधित फलफुल तथा तरकारी एक अर्ब २६ करोड ५९ लाख, अन्य तयारी खानेकुराहरु सात अर्ब ६५ करोड एक लाख, खाद्य उद्योगका उत्पादन ११ अर्ब ६८ करोड ९७ लाख, सूर्ती र सूर्तीजन्य वस्तु एक अर्ब ९७ करोड १२ लाख, अन्य कृषिजन्य वस्तु चार अर्ब २७ करोड ९७ लाखको सामग्री आयात भएको छ। 

dd

स्रोतः केन्द्रीय भन्सार विभाग  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप