सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा पठाउने निर्णय

यथाशीघ्र क्याबिनेटमा पेश गरिने
बिहीबार, २५ फागुन २०७९, १७ : ३२
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । सरकारले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेकोमन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

जीवनाशक विषादीको परीक्षणसम्बन्धि प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भदौ १५ गते मन्त्रिपरिषदमा पेश गरेको र भदौ २१ गते मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएको भए पनि त्यसपछि थप प्रक्रिया अगाडि बढ्न सकेको थिएन। 
२०७९ मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपश्चात् नयाँ सरकार गठन भएपछि पूरानो मन्त्रिपरिषदका निर्णय स्वतः फिर्ता जाने प्रचलनअनुरूप सो प्रस्ताव पनि फिर्ता गएको थियो। प्रधानमन्त्री प्रचण्डले नयाँ प्रस्ताव तुरून्त ल्याउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुरूप नयाँ प्रस्ताव प्राप्त भएपछि बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले फाइलमाथि थप छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ। समितिमा छलफलपश्चात् उक्त प्रस्ताव मन्त्रिपरिषद बैठकमा प्रस्तुत हुने सरकार प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

भारतबाट विषादी परिक्षणबिना नै तरकारी आयात गर्न दिएको भन्दै विवाद सिर्जना भएको थियो । तर सरकारले त्यस्तो कुनै तयारी नभएको स्पष्ट पारेको थियो । 

यसअघि सरकारी टोलीले काठमाडौंको कालिमाटीमा सञ्चालित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले गत फागुन १८ गते फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप