शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सीएको राम्रो करियर छोडेर लुगा धुने व्यवसायको सफल यात्रा गरेकी महिलाको कहानी

सोमबार, १३ चैत २०७९, १५ : ५२
सोमबार, १३ चैत २०७९

‘भिजिटिङ कार्डमा सीए (चार्टर्ड अकाउन्टेन्ट) लेखिएको छ । त्यो देखेर प्रायः मानिसहरू अचम्ममा पर्छन् । एक ग्राहकले भनेका थिए, ‘मानिसहरू मुस्किलले सीए बन्छन् । तपाईंले जुन उपलब्धि हासिल गर्नुभयो, त्यो छोडेर तपाईं लुगा धुने (लन्ड्री) काम गरिरहनुभएको छ । तर तपाईं सीए नै बनिरहनुभएको छ । सीए अर्थात् क्लिनिङ एजेन्ट । ’

यो राजस्थानको उदयपुरकी ३४ वर्षीय अपेक्षा सिंघवीको कथा हो, जसले पहिलो प्रयासमा चार्टर्ड अकाउन्टेन्ट परीक्षा पास गरिन् ।

दश वर्षसम्म प्रतिष्ठित संस्थामा चार्टर्ड अकाउन्टेन्ट भएर काम गरिन् र सन् २०२१ मा बीस लाखको प्याकेज भएको जागिर छाडेर लन्ड्री सुरु गरिन् । उनको यो कदमले सबैलाई चकित बनाएको छ ।

aakansha1भिन्न काम

उनको लुगा धुने प्लान्ट उदयपुरको भुवानामा रहेको छ । आज उदयपुर र अन्य ठाउँका झन्डै पचास होटेलहरू यहाँ लुगा धुन आउँछन् ।

यो लुगा धुने प्लान्ट सन् २०२१ मा सुरु भयो । आफ्नो काम आफैँ गर्ने रहरमा अपेक्षा सिंघवीले चार्टर्ड एकाउन्टेन्टको जागिरबाट राजीनामा दिएकी थिइन् ।

अपेक्षाका श्रीमान् ३४ वर्षीय सिद्धार्थ सिंघवी उदयपुरको एक प्रतिष्ठित संस्थानमा अफिसरका रूपमा कार्यरत छन् ।

अपेक्षाभन्दा पाँच वर्ष कान्छा उनका भाइ पनि सीए हुन् । नातागोतामा पनि धेरै सदस्यहरू सीए छन् । अपेक्षा आफ्नो घर र माइतीबाट आफ्नै काम गर्ने पहिलो महिला हुन् ।

उनले पहिलो प्रयासमा चार्टर्ड एकाउन्टेन्ट (सीए) र कम्पनी सेक्रेटरी (सीएस) परीक्षा पास गरेकी थिइन् ।

aakansha2सीए परीक्षामा महिला वर्गमा प्रथम

आत्मविश्वासले भरिएकी अपेक्षा सिंघवी भन्छिन्, ‘नोभेम्बर २००९ मा सीए फाइनलको परीक्षा दिएँ । सीए इन्टरमा अल इन्डिया २८ औँ स्थान हासिल गरेँ । जबकी सीएस फाउन्डेसनमा अल इन्डिया २१ औँ स्थान रह्यो र महिला श्रेणीमा पहिलो स्थान हासिल गरेँ । ’

उनी भन्छिन्, ‘२०११ को जनवरीमा मैले गोवाबाट वेदान्त ग्रुपमा जागिर सुरु गरेँ । त्यहाँ दुई वर्ष बसेँ । त्यसपछि मैले हिन्दुस्तान जिङ्कको उदयपुरको मुख्यालय र देबारीमा आठ वर्ष काम गरेँ । मैले २०२१ मा जागिरबाट राजीनामा दिँदा वार्षिक प्याकेज २० लाख भारु थियो ।’

चार्टर्ड एकाउन्टेन्ट र लुगा धुने काममा कुनै समानता छैन । अपेक्षाको यो निर्णयले उनको परिवार, चिनजान र साथीभाइलाई आश्चर्यमा पारेको थियो ।

अपेक्षाले झन्डै लन्ड्रीको कामलाई बढाएर आफ्नो निर्णयलाई सही साबित गरिन् ।

लन्ड्रीमा कसरी हुन्छ काम ?

उदयपुरको भुवनामा यो लन्ड्री बनाइएको छ । लन्ड्रीमा दुई सिफ्टमा आठ महिलासहित ३० जना कर्मचारी काम गर्छन् । महिलाहरू दिउँसो मात्रै काम गर्छन् ।

अपेक्षाले यस लन्ड्रीलाई ‘सुविधा लन्ड्री सर्भिस’ नाम दिएकी छि ।

होटेल र अन्य ठाउँमा लुगाहरू ढुवानी गर्न लन्ड्रीका दुई वटा गाडीहरू छन् । होटेलबाट पर्दा, तन्ना, तौलिया, कर्मचारीको लुगा आदि धुनका लागि आउँछन् ।

लुगा हेरिन्छ, दाग हटाइन्छ । लुगा धुने तीन वटा ठुला मेसिन छन् ।

अर्डर अनुसार कपडालाई प्रेस, स्टिम प्रेस, ड्राइक्लिन गरिन्छ । त्यसलाई पट्याइन्छ र प्याक गरिन्छ र त्यसपछि डेलिभर गरिन्छ ।

अपेक्षा भन्छिन्, ‘लन्ड्रीको काममा गुणस्तरीय र समयमै कपडाको डेलिभरी सबैभन्दा महत्त्वपूर्ण हुन्छ, किनभने होटेल सञ्चालकहरूले पनि पाहुनाका लागि कोठा तयार गर्नुपर्छ ।’

aakansha3आफैँ गर्छिन् मार्केटिङ 

आफ्नो अनुभवबारे अपेक्षा भन्छिन्, ‘यो कामलाई जनताले तारिफ गरेका छन् । काम दिने क्रममा केही ग्राहकले तपाईं महिला हुनुहुन्छ, तपाईंको लन्ड्रीमा महिलाहरू पनि काम गर्छन्, त्यसैले तपाईंलाई काम दिइरहेका छौँ भन्नुहुन्छ । महिला बढी समर्पणका साथ काम गर्छन् भनेर धेरैले भन्छन् ।’

यद्यपि, सबै अनुभवहरू राम्रो थिएनन् । कतिपयले काम दिन पनि मानेनन् ।

अपेक्षा भन्छिन्, ‘धेरै मानिसले तपाईंलाई लुगा धुने कुनै अनुभव छैन भनेर काम दिन पनि मानेनन् ।’

अपेक्षा सिंघवीको साढे चार वर्षको छोरा छ । उनी घरमा आमाको जिम्मेवारी पूरा गर्छिन् र लुगा धुने काममा पनि पूरा समय दिन्छिन् ।

उनी मुस्कुराउँदै भन्छिन्, ‘जब कोही नयाँ ग्राहक आउँछन्, परिवार निकै खुसी हुन्छ । जुन कम्पनीमा ठुलो ओहदामा जागिर खाने मानिसको सपना हुन्छ, त्यसलाई छोडेर मैले आफ्नो निर्णय सही साबित गरेको छु ।’ 

लन्ड्रीमा दुई सिफ्टमा ३० जना कर्मचारी २४ घण्टा काम गर्छन् । तीमध्ये आठ जना महिला कर्मचारी छन् ।

laundryअपेक्षा भन्छिन्, ‘सुरुमा पाँच जना मात्र ग्राहक थिए । तर आज उदयपुरमा हाम्रा ग्राहकका रूपमा ५० होटेल छन् । नयाँ ग्राहक थप्नको लागि म निरन्तर उदयपुरका होटेलहरूमा जान्छु ।’

त्यहाँ काम गर्ने कर्मचारी विजया भन्छिन्, ‘म विगत छ वर्षदेखि लुगा धुने काम गर्दै आएको छु । म यहाँ आएको डेढ वर्ष भयो । महिला भएको नाताले लुगा धुने काम गर्न पाउँदा मलाई खुसी लागेको छ । यसले अन्य महिलालाई पनि प्रेरणा मिल्नेछ ।’

aakansha4परिवारको समर्थन

परिवारका प्राय सबैलाई चार्टर्ड अकाउन्टेन्टको पेसा छोडेर बिलकुलै फरक काम गर्नु अनौठो लाग्यो । सबैले राम्रो जागिर छोडेर किन यति ठुलो कदम चालेको भनेर प्रश्न नगरेका पनि होइनन् । 

अपेक्षा भन्छिन्, ‘अभिभावकहरूलाई लाग्यो कि बच्चालाई यति पढाएँ–लेखाएँ, लायक बनाएँ तर जागिर छोडेर यस्तो काम सुरु गरे, जसमा सफल हुने कुनै ग्यारेन्टी थिएन । तर अन्ततः सबैले मलाई सपोर्ट गर्नुभयो ।’

अपेक्षाका श्रीमान् सिद्धार्थ सिंघवी भन्छन्, ‘अपेक्षाले एक दिन जागिर छाडेर आफ्नै काम गर्नुपर्छ भनिन् । उदयपुर घुम्न धेरै पर्यटक आउँछन्, यहाँ होटेल पनि धेरै छन् । त्यसैले लुगा धुने काम राम्रोसँग गरे सफलता मिल्न सक्छ । ’

‘राम्रो जागिर छोडेर लुगा धुने काम गरिरहेकी छिन् भनेर धेरै जना चकित भए । तर समय बितेसँगै सबैको धारणा फेरियो ।’

अपेक्षा भन्छिन्, ‘म लन्ड्रीको कामले बाहिर जाँदा बच्चा सम्हाल्न घरका परिवारले मद्दत गर्दथे । परिवारको समर्थन नभएको भए यो काम गर्न मुस्किल हुन्थ्यो ।’

त्यसपछि उनी हाँस्दै भन्छिन्, ‘मेरो कान्छो भाइ पनि सीए हो । म जेठी भएकीले उनका लागि रोल मोडल हुँ । तर, अहिले आमाबुवालाई पनि जागिर छाडेर आफ्नै काम गर्न थाल्नुपर्छ भन्ने लाग्छ ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप