मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

११ हजार फिटको उचाइमा विमान र पाइलटले ककपिटमा देखे कोब्रा

बिहीबार, २३ चैत २०७९, ०९ : ५८
बिहीबार, २३ चैत २०७९

यो दक्षिण अफ्रिकाका पाइलट रुडोल्फ एरसमसको नियमित उडान थियो तर उनले तत्काल के थाहा पाए भने विमानमा एक यात्री बढी छन् । ती यात्रु मानिस नभई उनको सिटमुनि घुमिरहेको कोब्रा थियो । रुडोल्फको विमान त्यति बेला ११ हजार फिटको उचाइमा थियो ।

रुडोल्फले बीबीसीलाई भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा, मेरो दिमागले के भइरहेको थियो बुझ्न सकेको थिएन ।’ उनले भने, ‘यो डरलाग्दो क्षण थियो ।’

पाइलट रुडोल्फले भने, ‘पिठ्यूँमा कुनै चिसो कुराले छोएको महसुस हुँदा सुरुमा पानीको बोतल हो कि भन्ने लागेको थियो ।’ 

‘मलाई चिसो महसुस भयो । यस्तो लाग्यो कि केही घस्रिरहेको छ ।’

‘ओहो ! पानीको बोतलको बिर्को राम्रोसँग लगाइन छु कि क्या हो, पानी सर्ट भित्र पोखियो,’ उनलाई लाग्यो । 

तर उनले बायाँतिर फर्केर तल हेर्दा, कोब्रा पो देखे । यसले सिटभित्र टाउको छिराउने कोसिस गरिरहेको थियो । 

रुडोल्फले विमानलाई  ब्लोमफन्टेनबाट प्रिटोरिया लैजाँदै थिए । उक्त विमानमा थप चार जना यात्रु थिए । कोब्रा भएको जानकारी पाएपछि उनले आकस्मिक अवतरण गर्नुपरेको थियो ।

कोब्राले टोकेको भए आधा घण्टा भित्र मृत्यु भइसक्थ्यो तर विमानभित्र उनी डरको माहौल बनाउन चाहँदैनथे । 

pilotआपत्कालीन अवतरण

रुडोल्फले पहिले शान्त भएर सोचे र त्यसपछि विमानमा एक अतिरिक्त यात्रु रहेको कुरा सरल तरिकामा बताए ।

यसबीचमा उनीहरू निकै डराएका थिए । ‘सर्प पछाडि गएर अन्य यात्रुबीच त्रास फैलाउने हो कि भन्ने उनलाई डर थियो । 

अन्त्यमा, उनले यात्रुहरूलाई यसको बारेमा जानकारी दिने निर्णय गरे । उनले यात्रुहरूलाई भने, ‘सुन्नुहोस्, विमान भित्र एउटा सर्प छ, यो मेरो सिटमुनि छ । त्यसैले जतिसक्दो चाँडो विमान अवतरण गर्ने प्रयास गरौँ ।’

त्यसपछि यात्रुको प्रतिक्रिया कस्तो रह्यो भन्ने प्रश्नमा रुडोल्फले विमानमा पूर्ण सन्नाटा छाएको बताए ।

उनले भने, ‘सियो खसेको भए पनि त्यसको आवाज सुन्न सकिन्थ्यो । मलाई लाग्छ एक दुई पलका लागि सबै कुरा फ्रिज भएको थियो ।’

उनले पाइलटलाई धेरै किसिमका परिस्थितिका लागि तालिम दिइएको हुन्छ तर ककपिटमा सर्प हुँदा चाहिँ के गर्ने भन्ने कुरा सिकाइएको हुँदैन । 

रुडोल्फले त्यहाँ यदि आतङ्क देखाएका भए अवस्था अझ खराब हुन सक्थ्यो ।

उनले वेलकम सिटीमा विमानको आकस्मिक अवतरण गराए ।

कोब्रा भेटिएन

यस विमानमा सर्पको उपस्थितिले पाइललाई स्तब्ध बनाएको हुन सक्छ, तर केही मानिसहरूका लागि यो अचम्मको कुरा थिएन ।

यो विमान दिउँसो वर्सेस्टर फ्लाइङ क्लबबाट उडेको थियो । त्यहाँ काम गर्ने दुई जनाले विमान मुनि सर्प देखेको बताए । उनीहरुले यसलाई ‘समात्ने’ कोसिस नगरेका होइनन् तर सफल हुन सकेनन् । 

पाइलट रुडोल्फले विमानमा सवार हुनुअघि उनले सर्प खोजेका पनि हुन् । उनले भने, ‘दुर्भाग्यले त्यो भेटिएन । त्यसपछि हामीले निस्कियो होला भनेर सोच्यौँ ।’

विमानमा भएको सर्प कहाँ छ, त्यसबारे केही थाहा छैन । विमानको जाँच गर्ने इन्जिनियरहरूले सर्प फेला पार्न सकेनन् ।

दक्षिण अफ्रिकाको नागरिक उड्डयन विभागका आयुक्त पोप्पी खोसाले पाइलट रुडोल्फको प्रशंसा गरे ।

खोसालाई उद्धृत गर्दै न्युज २४ वेबसाइटले भनेको छ, ‘उनले कमालको काम गरे । विमानमा सवार सबैको ज्यान जोगाए ।’

तर पाइलट रुडोल्फले आफूले गरेको काम कुनै विशेष नभएको बताउँछन् ।

उनले भने, ‘मेरा यात्रीको पनि तारिफ गर्नुपर्छ जो शान्तसँग बस्नुभयो ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप