आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बदमासहरूलाई तह लगाउन मेरो उम्मेदवारी : सर्वेन्द्र खनाल

शुक्रबार, २४ चैत २०७९, २० : ०३
शुक्रबार, २४ चैत २०७९

पोखरा । पूर्वआईजीपी सर्वेन्द्र खनाल तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवार छन् । नेपाल प्रहरीमा ३० वर्षे सेवा पूरा गरी अवकाश पाएका उनी स्वतन्त्र नागरिक अभियन्ता हुँदै नेकपा एमालेमा प्रवेश गरे । मंसिर ४ गतेको निर्वाचनमा काठमाडौं–६ बाट पराजित भएका उनी अहिले तनहुँ–१ मा उम्मेदवार बनेका हुन् ।

काठमाडौंमा पराजित भए पनि गृह जिल्लातर्फ सोझिएका खनालले तनहुँ–१ का जनताले आफूलाई रोजेकाले उपनिर्वाचनमा उठेको बताए । यिनै सेरोफेरोमा रातोपाटीले खनालसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश– 

एमालेमा आकांक्षीको लर्को हुँदा पनि तपाईंले टिकट पाउनुभयो, चुनावी अभियान कसरी अगाडि बढाउनुभएको छ ? 

मलाई पार्टीले विश्वास गरेर जन्मभूमिमा टिकट दिएको छ । तनहुँ र समग्र नेपालकै सेवा गर्न पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । यसका लागि हार्दिक आभार व्यक्त गर्छु ।  तनहुँले भौतिक र विकासको गति जसरी लिनुपर्ने थियो, त्यो छैन । जिल्लाको दुरावस्था देखिसकेपछि मनमा धेरै दुःख लाग्ने रहेछ । प्रहरी सेवामा रहँदा जसरी देश र नागरिकको सेवामा समर्पित थिएँ, अहिले पनि फिल्डबाटै सेवामा समर्पित हुनुपर्छ भनेर राजनीतिमा आएको हुँ । 

मलाई मर्नुभन्दा अघिसम्म केही गरौं भन्ने नै छ । हिजो जसरी लागे पनि अब समृद्धिका मुद्दाहरु, मानवीय इन्ट्रेस्टका मुद्दा लिएर हिँड्ने अठोटका साथ अगाडि बढेको छु । 

तपाईंलाई टुरिष्ट उम्मेदवार भन्ने आरोप लागेको छ नि ?

जन्मेर यहीँ बस्नुपर्छ भन्ने पनि छैन । कर्म गर्न देश विदेश पुगेँ । कर्मका क्रममा को कता पुग्छ, थाहा हुँदैन । आइजीपी हुँदा अधिकारले भ्याएसम्म तनहुँमा स्कुल बनाउनेदेखि विभिन्न आयोजना बनाउन मेरो पहल रह्यो । तनहुँको समस्या समाधान र उत्थानमा सधैँ साथमा थिएँ र रहन्छु । त्यो मेरो धर्म पनि हो, जन्मभूमिको माया पनि हुँदो रहेछ । यहाँको अवस्थालाई परिवर्तन गर्छु भनेर राजनीतिमा आएको हुँ । स्वार्थ साँधेर कसले के भन्छन्, त्यो मेजर विषय होइन । आफू के हुँ र कसरी जनताले मूल्याङ्कन गरेका छन्, त्यो महत्त्वपूर्ण हो । 

प्रतिस्पर्धीलाई कसरी हेर्नुभएको छ ? त्रिपक्षीय भिडन्त छ भन्छन् नि ? 

अरुसँग आफैँलाई प्रतिस्पर्धी ठान्नु ठिक हो । म तनहुँकै हुँ । आगन्तुक पनि होइन । मलाई यहाँको भूगोलदेखि अवस्थाको बारेमा सबै थाहा छ । मनमस्तिष्क पनि यहीँ छ । तनहुँलाई सर्वोत्कृष्ट बनाउन सक्छु भन्ने छ । मैले विगतमा यो देशको झण्डा गाड्नका लागि काम गरेँ । हरेक नेपालीको शान बढाउने काम गरेको छु । नेपालीको भावलाई मुखरित गर्ने काम गर्दै आएको बेला अरु पनि आउँछु भन्नु लोकतन्त्रमा स्वाभाविक पनि हो । 

तर उहाँहरुले के गर्नुभयो ? भोलिका लागि के गर्नुहुन्छ होला ? जनताले विवेकी गर्नुहुन्छ र त्यो मूल्याङ्कन गरेर प्रतिनिधि छनोट गर्नुहोला । मैले योजनासहित कार्यान्वयन गर्ने निर्भिकताका साथ काम गर्छु । यहाँ आएकोमध्ये म सर्वोत्कृष्ट हुँ भन्ने लाग्छ । 

आइजीपी भइसकेको मान्छे फेरि राजनीतिमा चाहिँ किन आउनुपरेको ? 

एकदमै राम्रो प्रश्न गर्नुभयो । प्रहरीमा क्षेत्राधिकारभित्र रहेर काम गर्न पाइन्थ्यो । जुन मैले प्रहरी महानिरीक्षकको हिसाबले शान्ति सुरक्षा, अपराध रोकथाम र शान्तिको वातावरण सिर्जना गर्ने थियो । विकास निर्माण, भ्रष्टाचारजन्य गतिविधिमा खरो रूपमा उत्रिएँ । मैले व्यक्तिगत लाभभन्दा माथि उठेर काम गरेको थिएँ । त्यो गर्न कानुनी तहबाटै सहयोग आवश्यक देखेँ । कानुनमार्फत प्रहरी निकायलाई सपोर्ट गर्नुपर्ने हुन्छ, नीति, बजेट तहबाटै सुधार गर्न आवश्यक ठानेँ । त्यो बाहेक अरु कारण छैन । 

निर्वाचित भए के गर्नुहुन्छ ? 

निर्वाचित भए नीति निर्माण मुख्य काम हुन् । अर्को, बदमासहरूलाई तह लगाउन योजना हो । मेरो आफ्ना मूल्य मान्यता पनि छन् । आफ्नो मूल्य मान्यता बेचेर कहिल्यै काम गर्दिनँ । अबको बाँकी जीवन खराब गर्न आएको होइन । भ्रष्टाचारजन्य गतिविधि बढेका छन् । विकास र समृद्धि ल्याउनु छ । राजनीतिमा सौदाबाजी गर्न आएको होइन । नचाहिँदो काम गर्न आएको होइन । यहाँको उत्थानका लागि भूमिका निर्वाह गर्न आएको हुँ । 

जित्ने आधारहरू के छन्  ? 

हिजो मैले गरेका काम नै हुन् । सामाजिक क्षेत्रमा भिज्ने धेरै काम गरेको छु । प्रहरीको क्षेत्रमा होस् वा सामाजिक क्षेत्रमा सबैलाई अवगत नै छ । सामुदायिक प्रहरी, प्रेस स्वतन्त्रता, सुशासन कायम गर्न ‘गुड प्राक्टिस’ गरेँ । मैले अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेर नेपाललाई चिनाउनेदेखि अधिकार स्थापित गर्न धेरै काम गरेको छु । अब पनि सबैको साझा भएर अगाडि बढ्ने मेरो संकल्प नै जित्ने आधार हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप