मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनापति गाउँपालिकाको विकास योजना बनाउन अन्तरक्रिया

शनिबार, ०९ वैशाख २०८०, २० : ३४
शनिबार, ०९ वैशाख २०८०

भक्तपुर । रामेछापको सुनापति गाउँपालिकाको विकास योजना बनाउन भक्तपुरमा अन्तरक्रिया गरिएको छ । शनिवार भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सुनापति घर भएर काठमाडौं बस्ने विज्ञहरु, जनप्रतिनिधि र सरोकारवालाहरुले आगामी ४ वर्षमा गर्नुपर्ने विकासका योजनाबारे गाउँपालिकाको नेतृत्वलाई सुझाव दिएका छन् ।

अन्तरक्रिया कार्यक्रममा रामेछापका सांसद कान्छाराम तामाङले सुनापति गाउँपालिकालाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम लैजाने प्रतिबद्धता जनाए । उपभोक्ता समिति केन्द्रित विकास रोकेर एकीकृत योजना निर्माण र कार्यान्वयमा लाग्नुपर्ने उनको भनाइ छ ।

बागमती प्रदेश सांसद युवराज चौलागाईंले सुनापतिमा कृषिमा आधारित ठुला प्रोजेक्ट चलाउनुपर्ने बताए । चौलागाईंले भने– ‘कृषिमा आधारित ठुलो प्रोजेक्ट बनाएर ब्यापक रोजगारी सिर्जना गर्न जरुरी छ ।’ विद्युत्त प्रधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले योजना बनाउँदा र कार्यान्वयनमा लैजाँदा निजी क्षेत्रलाई पनि जोड्नुपर्ने बताए । घिसिङले भने– ‘सुनापति गाउँपालिकामा खानेपानीको ठुलो समस्या छ, सो समस्यामा केन्द्रित भएर योजना बनाउनुपर्छ ।’

पशु चिकित्सा क्षेत्रका जानकार डा. भिमनाथ चौलगाईंले विषादी पञ्जिकरण अनिवार्य गर्नुपर्ने बताए । डा. चौलागाईंले भने–‘खाद्य सुरक्षामा ध्यान दिएर योजना निर्माण गर्नुपर्छ ।’ सुनापति गाउँपालिका स्थायी घर भएका डा. अमरध्वज तामाङले पर्यावरण सुरक्षित राख्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्काले ब्यवहारिक योजना बनाउनुपर्ने उल्लेख गर्दै भने–‘गाउँपालिकाले ४ रोपनी भन्दा थोरै जग्गाको कित्ताकाट रोक्दा व्यवहारिक समस्या भएको छ, त्यस्ता व्यवहारिक कुरामा ध्यान दिनुपर्छ ।’

सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले गाउँपालिकाको प्रत्येक वडामा एउटा नमुना कार्यक्रम लागू गर्ने बताएका छन् । तामाङले भने–‘स्थानीय आवश्यकताअनुसार हरेक वडामा नमुना कार्यक्रम लागू गर्छौं ।’

अन्तरक्रियामा आएको सुझावलाई आधार मानेर आगामी ४ वर्षका लागि योजना बनाएर गाउँपालिकाको विकास गरिने अध्यक्ष तामाङले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप