बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षेनी डुबानको चपेटामा पर्दै आएको दोधारा चाँदनीमा सेफ हाउस बन्ने

दीर्घकालीन समाधान नहुँदा गरिबी न्यूनीकरणको सरकारी लक्ष्य प्रभावित
मङ्गलबार, २६ वैशाख २०८०, १२ : ३१
मङ्गलबार, २६ वैशाख २०८०

कञ्चनपुर । वर्षेनी बाढी र डुबानको चपेटामा पर्दै आएको कञ्चनपुरको दोधारा चाँदनीमा सेफ हाउस बन्ने भएको छ । दोधरा चाँदनी नगरपालिका, निड्स नेपाल, मर्सी कोर ज्यूरीच बाढी उत्थानशीलता सञ्जाल र स्थानीयको संयुक्त लगानीमा ३६ लाख लागतको अग्लो सेफ हाउस बनाउन लागिएको हो । 

नगरपालिकाका अधिकांश बस्तीहरु प्रत्येक वर्ष बाढीले प्रभावित हुने गरेका छन् । विशेषगरि महाकाली नदी र जोगबुढा नदीमा आउने बाढीका कारण वडा नम्बर २, ३, ४ र १०  वर्षैपिच्छे डुबानमा पर्ने गर्छन् । महाकाली नदीमा बाढी आएका बेला जोगबुढा नदी थुनिएर वडा नम्बर १० कुतियाकबर डुबानमा पर्ने गर्छ । बाढी र डुबानको समयमा कुतियाकबरको बस्तीको नेपालसँग सम्पर्कविच्छेद हुन्छ । झन्डै डेढ किलोमिटर टाढाको सुरक्षित स्थानमा लैजान समेत समस्या हुन्छ ।

नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले विभिन्न संघसंस्थाको सहयोगमा सेफ हाउस बनाउन लागिएको जानकारी दिए । उनले भने ‘यो रिस्क जोनमा पर्छ । अहिले अग्लो सेफ हाउस बनाउन लागेका छौँ, गर्नै पर्ने भएर । नभए उहाँहरूले रुखमै रात काट्नुपर्ने अवस्था आउने भयो । महाकाली र जोगबुढा नदीको तटबन्धको लागि स्थानीय बजेटले पुग्दैन । ’

344537923_998148751547682_4751665301579881969_n

दोधारा चाँदनी नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारतीय सीमा रहेको छ भने पूर्वमा भीमदत्त नगरपालिका र शुक्लाफाँट वन्यजन्तु आरक्ष छ । कुतियाकबर महाकाली र जोगबुढा नदीको दोभानमा छ । शारदा नहरको पानी जोगबुढा नदीमा छोड्दा मनसुनमा मात्रै होइन हिउँदमा पनि कुतियाकबर डुबानमा पर्ने गर्छ । कुतियाकबरको पश्चिम दक्षिणमा भारत उत्तरप्रदेशको बंगाली बस्ती छ । बस्तीका अधिकांश घरको आँगन सीमासँग जोडिएको छ । 

सीमाक्षेत्रमा बेलाबेलामा समस्या आउँदा विवाद हुने गर्छ । त्यसको प्रत्यक्ष मारमा पनि कुतियाकबरका बासिन्दा नै पर्ने गरेका छन् । हिउँदमा गहुँका बाला लैहै लहै भएको भूभाग वर्षातको समयमा जलमग्न हुन्छ । अनि स्थानीयलाई ज्यान जोगाउन हम्मेहम्मे पर्छ । जोगबुढा नदीमा झोलुङ्गे पुल भए पनि झन्डै डेढ किलोमिटर टाढा वडा नम्बर ९ स्थित श्री अम्बिका माध्यमिक विद्यालयमा जाने बाटो जलमग्न हुने भएकाले स्थानीय ज्यान जोगाउन भारतीय सीमाको बंगाली बस्ती छिर्ने गर्छन् । कुतियाकबरका बासिन्दासँग शहरीयाको जस्तो विलासी जीवन बाँच्ने लालसा छैन । एउटै सपना छ, आफ्नो र समुदायको ज्यान जोगाउने ।

344389962_1212535059428956_7259700301733955054_n

पछिल्ला केही वर्ष देखि बाढीको पूर्वसूचना उनको मोबाइलमा नै आउन थालेको छ तर सुरक्षित स्थान जाने बाटो नै जलमग्न हुने भएकाले डुंगा लगायतका आपतकालिन उद्धार सामग्रीको आवश्यक पर्छ । नदीले कटान गर्दै गर्दा भारतीय सीमाको दशगजामा पुगेको सम्झन्छन् स्थानीय ४५ वर्षीय टेकबहादुर  । ‘आधा जमिन खोलाले फालिसक्यो । हामीहरू जाने कता ? अहिले हामी दशगजा भित्रै बसेका छौँ । केराको बुँगा काटेर काठले बाँधेर पनि हामी आफूलाई बचाउने गर्थ्यो । अहिले त डुंगा पनि बनाएका छौ । तर सबैलाई पुग्ने छैन,’ उनले भने ।

विभिन्न संघसंस्थाको चेतनामूलक कार्यक्रममार्फत उनले विपद्मा आफू र समुदायलाई बचाउने ज्ञान प्राप्त गरे । अनि आफैँ जुटे सेफ हाउस (उँचो घर) बनाउने काममा । उनले आफू बाँच्ने र समुदायलाई बचाउने सपना पूरा गर्न भोगचलन गर्दै आएको डेढ कट्ठा जमिन सेफ हाउस बनाउन उपलब्ध गराए । उनी भन्छन्, ‘पानीको सतह बढिरहेको छ तपाईंहरु सुरक्षित ठाउँमा जानुहोस् भन्ने म्यासेज आउनुभन्दा अगाडि नै हामी असुरक्षित भइसकेका हुन्छौँ । जथाभाबी हिँड्दा डुबिन्छ कि भन्ने डर पनि हुन्छ । त्यसैले हामी घरको माथि सारी, धोती  वा कम्बलको झोलुङ्गा बनाएर बच्चाहरू र महत्त्वपूर्ण कागजातहरू राख्ने गर्छौँ । बाढी आएपछि आफू बच्ने, समुदाय जतासुकै जाउन् भन्ने हुन्थ्यो । अहिले भने अरूलाई पनि बचाउने किसिमको ज्ञानहरू संघसंस्थाले सिकाए । त्यसपछि सेल्टर हाउसको ज्ञान हामीलाई आयो । अनि बाँच्ने सपना पुरा गर्नका लागि आफैँले जमिन दिएँ । ६ ÷७ बर्ष अघिदेखि हामीले उँचो घर (सेफ हाउस) को सपना देखेका थियौ । अब साकार होला जस्तो लागेको छ ।’

344570626_2145770545617772_5262314553663491870_n

सेफ हाउस बन्ने भएपछि सुनारलाई मात्रै होइन कुतियाकबरका सबैलाई खुसी लागेको छ । स्थानीय मायादेवी सुनार बाढी आएको बेला धोतीको झोलुङ्गे बनाएर ज्यान जोगाएको सम्झन्छिन् । दैनिक खाद्यान्न, औषधोमुलो, रोजगारी अनि विपद्को बेला पनि भारतीय सीमा पारिकै शरणमा जानुपर्दा स्थानीय मायादेवी सुनार पनि खुसी छैनन् । तर आफूहरू बिना हतियार सीमा सुरक्षाकर्मीको रूपमा रहेकाले सरकारले वासस्थानको सुरक्षा मिलाउनुपर्ने तर्क उनको छ । परिवारका सदस्य सबैलाई रोजगारीका लागि भारत पठाएकी माया सेफ हाउस बन्ने भएपछि ज्यान जोगिने भयो भनेर खुसी छन् । 

उनी भन्छिन् ‘खेतहरू बगाएर लगेपछि के खाने ? खानको लागि पनि उनीहरूलाई काममा पठाउँछु म घर कुरेर बस्छु । बाढी आउँदा बस्ने अग्ला अग्ला घर भइदिएको भए ज्यान जोगाउने थियौ । घर छोडेर जाने हो भने बोर्डर नजिकै छ । सबै लगिदिन्छन् । कसरी जाने ? कि जमिन किनेर जानुपर्‍यो । बनको हात्ती आउँछ । समस्या नै छ । बोर्डर नजिक छ चोरको समस्या छ ।सुरक्षाकर्मीबाटै पनि समस्या छ । दुवै तर्फबाट समस्या छ । हामी त बिना हतियार सीमा सुरक्षाकर्मीको रूपमा बसेका छौँ । ’

344300609_134203939644688_7684884323160394612_n

स्थानीय श्यामलाल सुनार बाढीले वर्षभरिका लागि खाने धानखेती बगाउनुको साथै घरभित्रको अन्न अनाजमा पनि क्षति पुराउँदा हातमुख जोर्न नै कठिन हुने गरेको गुनासो गर्छन् । उनले भने ‘बाढीले हामीलाई हरसाल लपेटेको लपेटेई छ । यता उता कतैबाट कमाई गरेर ल्यायो । खेतीबारीमा लगायो । बाढी आयो स्वाट्ट लगिगयो । उस्ताको उस्तै । उठ्नै पनि पाइएको छैन । यहाँ गतिलो घर बनाएर बस्न कसैले पाएको छैन । ’

२०२२ देखि सो स्थानमा बस्दै आएका नरबहादुर सुनारसँग अहिले आफ्नो भन्ने जमिन छैन । स्थानीय बसन्ती बुढा सरकारसँग पनि बाढी आएको बेला भागाभाग गरेर ज्यान जोगाउनु परेको नमिठो सम्झना छ । वसन्तीलाई दशगजामा सीमा संरक्षकको रूपमा रहेकोमा गर्भ त लाग्छ तर त्यहाँको समस्या सम्झेर आँखा भरिन्छन् । उनी भन्छिन्, ‘जमिन छैन । हाम्रो सरकारले केही गर्नै सकेको छैन ।  राम्रो स्थानमा लगेर राखिदिए हुन्थ्यो । सुरक्षाकर्मी त हामी भयौँ ।’

अहिले गहुँका बाला लैहलहै भएको भूभाग वर्षात्को समयमा जलमग्न हुन्छ । बस्ती भित्रै पानी पस्छ । बाढीले बगाएर ल्याएका काठका मुढाहरू नै घरभित्र पसेपछि सुरक्षाकर्मी लगाएरै घर सफा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । नगरपालिकाकाले पछिल्लो ३ आर्थिक वर्षमा ४६ लाख २६ हजार ९ सय ८१ रुपैयाँ विपद् व्यवस्थापन प्रयोजनको लागि मात्रै खर्च गरेको छ । कटान रोकथामका लागि प्रदेश पूर्वाधार र समपूरक तथा नगरपालिकाको वार्षिक बजेट समेत गरी २ करोड २८ लाख ५० हजार खर्च भएको छ । वन्यजन्तु पीडित, वन्यजन्तु नियन्त्रण, आगलागी लगायत आकस्मिक विपद्को राहतमा ४० लाख रुपैयाँ खर्च भएको छ । महाकाली नदीमा महाकाली सिँचाइ र जोगबुढा नदीमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट तटबन्ध निर्माणको काम भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप