बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
संसद् बैठक

बरालिएको संसद् : विषयवस्तु एकातिर, सांसदको ध्यान ‘भैँसीतिर’

मङ्गलबार, २३ जेठ २०८०, १८ : ५०
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१ मा संसद्को छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमसम्बन्धी व्यवस्था गरिएको छ । 

सो नियमको उपनियम ‘घ’ मा बैठकमा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने भन्ने व्यवस्था छ । 

तर,सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच हो–हल्लाको सूत्रधार थिए राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल । 

भारत भ्रमणबाट फर्किएपछि संसद्को रोष्टममा सांसदहरुको प्रश्नको जवाफ दिन बसेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनले भारत भ्रमणबाट प्लेन चढेर पोखरा विमानस्थलमा अवतरण हुने अपेक्षा गरेकोमा ‘भैँसी चढेर’ आएको स्तरहीन कुरा बोले । त्यसपछि माओवादीका सचेतक हितराज पाण्डेले खनालको भनाइप्रति नियमापत्ति जनाएका थिए । 

सांसद खनालले अमर्यादित शब्द बोलेको भन्दैसो शब्द संसद्को रेकर्डबाट हटाउन प्रमुख सचेतक पाण्डेले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए । 

सत्ता पक्ष सांसदले बाहुबली देखाएको भन्दै लगतै एमाले सांसद योगेश भट्टराई, सूर्य थापा, रघुजी पन्त लगायतले नियमापत्ति जनाउँदै प्रधानमन्त्री स्वयंले नै ‘आफूलाई भंैसी चढेर आएको बनाइएको’ भन्ने अभिव्यक्ति दिएकोले सो पनि संसद्को रेकर्डबाट हटाउन गलफती गरे । 

भैँसीको विषयमा सांसदहरुबीच लामो गलफतीपछि सभामुख घिमिरेले सांसद खनालले प्रयोग गरेको शब्द अमर्यादित रहेको भन्दै संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए ।

सांसदको ध्यान भैँसीतिरै

संसदमा उठेर आफ्नो भनाई राख्न सभामुखको अनुमति लिएर मात्र बोल्नुपर्ने हुन्छ तर सोमबारको बैठकमा सांसदहरु आफ्नो आसनबाट उठ्दै बोल्दै गरिरहेका थिए । सभामुखले अनुमति लिएर बोल्नुहोस् भन्दापनि कतिपय सांसदहरु लत्त्याइरहेका थिए । 

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० मा बैठकमा पालना गर्नुपर्ने नियमबारे व्यवस्था गरिएको छ । सो नियमको उपनियम (घ) मा सभामुखले समय दिएपछि मात्र बोल्नुपर्ने, उपनियम (ङ) मा बैठकमा भाग लिने सदस्यले बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नुपर्ने उल्लेख छ ।

त्यस्तै, सभामुखले अन्यथा आदेश दिएमा बाहेक तोकिएको स्थानमा उभिएर बोल्नुपर्ने, उपनियम (च) मा सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनैपनि सदस्यले स्थान छाड्न नहुने र सभामुखले बोलेका कुरा ध्यानपूर्वक सुन्नुपर्ने भन्ने व्यवस्था छ । 

तर, सोमबारको बैठकमा यी नियम विपरीत झन्डै २० मिनेट बढीको समय  हो–हल्लामै बितेको थियो । 

जनताको जनप्रतिनिधिमूलक संस्था संसदमा तार्किक बहस हुनुपर्नेमा प्रतिनिधि सभाको बैठकमा भंैसीको विषयमा केन्द्रित भयो । जबकि प्रम प्रचण्डले त्यसबारे पहिल्यै प्रष्ट पारिसकेका थिए । 

संसद् बैठकमा छलफलको मुख्य विषयवस्तु प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र राष्ट्रपतिबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकको विषय भएपनि सांसद तथा प्रमुख प्रतिपक्षी दलका नेता भारतले सहयोगमा दिएको भनिएको भैँसीको विषयमा रुमल्लिएका  थिए । 

रास्वपा सांसद ढकालको सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन नहुने भन्दै एमाले र रास्वपाका सांसदले बैठकमा होहल्ला गरे । अन्ततः सभामुखले सो शब्द रेकर्डबाट हटाउन रुलिङ गरेका थिए । 

तथ्यहीन तर्कमाथि बहस 

प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा नेपालको कपिलवस्तु र लुम्बिनीको नक्सा भारतको नक्सामा समावेश भएको, संसद् भवन अगाडि गएर भारतीय प्रधानमन्त्री मोदीसँगै हात उठाएर अभिभावन गरेको कुरासमेत उठाए । 

तर, त्यस समय प्रधानमन्त्री प्रचण्ड संसद् भवन पुगेका थिएनन् । एउटा अनलाइन मिडियामा आएको सम्पादित फोटोको आधारमा सांसदहरूले ‘फेक फोटो’ को आधारमा अनावश्यक टिप्पणी गरेका थिए । 

यस्तै, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणको सफलता नै १५ वटा भंैसी ल्याउनु रहेको टिप्पणी गरेका थिए । 

तर, नेपालका भैँसीको नश्ल सुधारका लागि भारतीय मुर्रा जातको राँगो ल्याउने प्रस्ताव यसअघिका सरकारले नै गरेको प्रधानमन्त्री प्रचण्डले संसदमा पहिल्यै जानकारी गराइ सकेका थिए । 

प्रमुख सचेतक र सचेतकको भूमिका कमजोर 

संसद् बैठकमा आफ्नो दलबाट को बोल्ने, कसरी प्रस्तुत हुने भन्ने बारेमा सांसदहरुलाई मार्ग निर्देशन गर्न प्रमुख सचेतक र सचेतकको व्यवस्था गरिएको छ । 

सत्तापक्षीय पार्टीका प्रमुख सचेतक र सचेतकको भूमिका कमजोर भएको पूर्व सांसद रामनारायण विडारी बताउँछन् । सभामुख घिमिरेले ‘प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको’ भनाइलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिइसकेपछि रोष्टममा पुगेका प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सभामुखलाई समेत उपेक्षा गर्दै ‘प्रधानमन्त्री भारत भ्रमणबाट चढेर आएको भैँसी नै हो, सभामुखज्यूले यसलाई हटाए हटाउनुस्, नहटाए नहटाउनुस्’ भन्ने अभिव्यक्ति ठीक नभएको बिडारी बताउँछन् । 

संसद्को रेकर्डबाट हटाउन निर्देशन दिइसकेको शब्द फेरि प्रमुख प्रतिपक्षी दलका नेताले दोहो¥याउँदा त्यसमा नियमापत्ति गर्नुपर्नेमा सत्तापक्षका प्रमुख सचेतक, सचेतकको कमजोरी रहेको बिडारीले बताए । 

संसद् प्रतिपक्षी दलको भन्ने स्थापित मान्यता भएपनि संसदमा प्रस्तुत हुँदा प्रतिपक्षी दलले प्रस्तुत गरेको मर्यादा र शैलीको अहिले आलोचना भइरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप