बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

न्यायाधीशको प्रश्न–जाहेरवाला र प्रतिवादी अमेरिका जान खोज्नुको कारण के रहेछ ?

अधिवक्ताको जवाफ– श्रीमान्, त्यहाँबाट सांसद पनि फर्किन मानेनन्
बुधबार, २४ जेठ २०८०, १९ : ०७
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार केशव प्रसाद दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीको तर्फबाट कानुन व्यवसायीले थुनछेक बहस गरेका छन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा बुधबार चौथो दिनको बहस सकिएको छ । दुलाल र गुरुङको तर्फबाट बहस पूरा भएको छ । प्रतिवादी सानु भण्डारीको तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नेछन् ।

सानु भण्डारीको तर्फबाट बहस गर्दै बुधबार अधिवक्ता सालिकराम सापकोटाले भण्डारीले शरणार्थी कार्यदलले बुझाएको प्रतिवेदन किर्ते नगरेको जिकिर गरे । महाभारतका पात्र धृतराष्ट्र र सञ्जयको कथा सुनाउँदै अधिवक्ता सापकोटाले भने, ‘यहाँ सानुलाई संजय बनाउन खोजिएको छ ।’

सानु भण्डारीको बयानको आधारमा सरकार पक्षले केहीलाई मुद्दा चलाएको तर, केहीलाई नचलाएको उल्लेख गर्दै सापकोटाले भने, ‘केहीलाई मुद्दा चलाउने र केहीलाई नचलाउने अभियान छ, यहाँ सानुको काँधमा राखेर बन्दुक पड्काउने काम भएको छ ।’

इजलासमा केशव दुलाल र सानु भण्डारीले आफैँ अमेरिका जान खोज्दा पीडित भएको बयान दिएका थिए । पीडितहरु भुटानी शरणार्थीको कोटामा अमेरिका जान खोज्दा ठगिएको सापकोटाको तर्क थियो ।

अधिवक्ता सापकोटाले बहस सिध्याउनै लाग्दा उनलाई न्यायाधीश न्यौपानेले सोधे, ‘सबै (जाहेरवाला र प्रतिवादी) अमेरिका जान खोज्नुको कारणचाहिँ के रहेछ भन्नुस् त ?’

अधिवक्ता सापकोटाले न्यायाधीशलाई छोटकरीमा जवाफ फर्काए, ‘सल्यानतिरका एकजना सांसद अमेरिकामा गएर पेट्रोल पम्पमा काम गर्न थालेछन्, यता संसद् बिउँतिएपछि उनलाई बोलाइयो तर, उनले जवाफ दिएछन्– अमेरिकामा पेट्रोल पम्पमा काम गर्दैछु, अहिले फर्किन्नँ ।’

अधिवक्ता सापकोटाले थप भने, ‘यहाँभन्दा धेरै मैले भनिनँ श्रीमान् ।’

अधिवक्ता विनोद शर्माले सानु भण्डारी र टंक कुमार गुरुङको तर्फबाट बहस गरे । सानु भण्डारी ‘सिमकार्ड बेच्ने मान्छे’ भएको उल्लेख गर्दै शर्माले सानु आफैँ पीडित रहेको जिकिर गरे ।

शरणार्थी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान ‘त्रुटिपूर्ण’ रहेको जिकिर गर्दै शर्माले भने, ‘गजेन्द्र बुढाथोकी सहितका जाहेरवालामध्ये ४ जनाले मात्रै सानुलाई चिनेको कागज गरेका छन्, अनि चिनजान नै नभएका मानिसलाई सानुले कसरी ठगे ?’

पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीको छोरा सन्दीप र सानुको बिचमा ‘लियोन ट्रेडर्स’ नामक कम्पनीमा सेयर भएको हुनाले ४० लाखको कारोबार गरेको शर्माले बताए । ‘सिमकार्ड बेच्नेले राष्ट्रहित विरुद्ध काम गर्छ सक्छन् ?,’ अधिवक्ता शर्माले भने, ‘अप्रमाणित डायरीको आधारमा सानुलाई दोषी देखाउन खोजिएको छ ।’

टंक कुमार गुरुङको तर्फबाट पनि बहस गरेका शर्माले भने, ‘टंक गुरुङ होटल सञ्चालक र कुक हुन् । उनले संगठित योजना बनाएर भुटानी शरणार्थीको नाममा ठग्ने कुरामा सम्भव नै देखिँदैन ।’

बुधबार केशव प्रसाद दुलालको तर्फबाट ६ जना, सानु भण्डारी र टंक गुरुङको तर्फबाट ८ जना कानुन व्यवसायीले बहस गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप