बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

आरोपितलाई धरौटीमा छाड्नुपर्ने कानुन व्यवसायीको जिकिर

न्यायाधीशले सोधे– अख्तियारमा लैजाने भन्या छ नि ?
बिहीबार, २५ जेठ २०८०, २० : ०९
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । ‘श्रीमान्, मेरो पक्ष सागर राईलाई धरौटीमा रिहा गर्नुपर्छ,’ जिल्ला अदालत काठमाडौँको २५ नम्बर इजलासमा वरिष्ठ अधिवक्ता विनोद कार्कीले आरोपित सागर राईको पक्षमा बहस गर्दै भने । निष्पक्ष अनुसन्धान भएर अभियोग नआएको उनको दाबी थियो ।

शरणार्थीको नाममा ठग्ने गिरोहका सदस्य सागर राई २०७९ चैत १० मा ललितपुरको बालकुमारीबाट पक्राउ परेका थिए । मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० का निवर्तमान वडा अध्यक्ष हुन् सागर । सागरलाई धरौटीमा छाड्न माग गरेपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले वरिष्ठ अधिवक्ता कार्कीलाई सोधे, ‘उहाँ वडा अध्यक्ष पनि हैन ?’

वरिष्ठ अधिवक्ता कार्कीले जवाफ दिए– पूर्व वडाअध्यक्ष हुन् श्रीमान् ।

त्यसपछि न्यायाधीशले हाँस्दै सोधे– अख्तियारमा लाने भन्या छ नि ?

कार्कीले जवाफ दिए– श्रीमान्, अख्तियारमा लान्छ भनेर यहीँ थुन्न पनि मिलेन नि । 

न्यायाधीशले फेरि थपे– त्यो भन्या हैन, अर्को आरोप पनि छ हैन भन्या ?

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सार्वजनिक पदमा बसेका आरोपितहरू ठगी मुद्दाबाट छुटेर जाने भएमा अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा पठाउने निर्णय गरेको छ । अभियोग पत्रमा पनि त्यसबारे उल्लेख गरिएको छ ।

सागर राई सार्वजनिक पद धारण गरेको हुनाले उनलाई भ्रष्टाचार मुद्दामा पनि अनुसन्धान गर्नुपर्ने कुरा अभियोग पत्रमा आएको न्यायाधीशले उनका कानुन व्यवसायीलाई जानकारी गराएका हुन् ।

बिहीबार कानुन व्यवसायीहरुले प्रतिवादी सानु भण्डारी, टंक कुमार गुरुङ, सागर राई र डा. इन्द्रजित राईको तर्फबाट गरे । अहिलेसम्म ५ जनाको तर्फबाट थुनछेक बहस सकिएको छ । बुधबार केशव प्रसाद दुलालको तर्फबाट बहस सकिएको थियो ।

थुनछेक बहसमा अधिकांश कानुन व्यवसायीले शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुलाई सामान्य धरौटी र तारेखमा थुनामुक्त गर्न आग्रह गरेका छन् ।

सागर राईको तर्फबाट बहस गरेका अधिवक्ता सन्तोष प्रसाद भट्ट र इन्द्र प्रसाद पोखरेलले उनलाई न्यूनतम धरौटीमा रिहा गर्न माग गरे । अधिवक्ता भट्टले भने, ‘उहाँका आश्रित परिवार छन्, त्यसैले न्यूनतम धरौटीमा रिहा गर्नुपर्छ ।’

जाहेरवाला नै ‘पीआर होल्डर’

अधिवक्ता गोपालराज अर्यालले शरणार्थी प्रकरणमा जाहेरी दिने गजेन्द्र बुढथोकी अमेरिकाको ‘पीआर होल्डर’ भएको जिकिर गरेका छन् । अभियुक्त सन्देश शर्माको तर्फबाट बहस गरेका अर्यालले इजलासमा भने, ‘गजेन्द्र बुढाथोकी अमेरिकाको पीआर होल्डर हुन् अनि उनैले भुटानी शरणार्थीको कोटामा अमेरिका जान पाउँछु भनेर पैसा बुझाएको कुरा विश्वसनीय हुँदैन ।’

अधिवक्ता अर्यालले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा संगठित रुपमा ठगेको भन्ने जाहेरी नै ‘झुटो’ भएको जिकिर गरेका छन् ।

शर्माको तर्फबाट अधिवक्ता यज्ञ खतिवडा, नगेन्द्र चन्द, सुशिला कार्की र मंगल महर्जनले बहस गरेका छन् ।

अभियुक्त डा. इन्द्रजित राईको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण ढकालले गृह मन्त्रालयको कुर्सीमा बसेकै आधारमा अपराधी नहुने जिकिर गरे । डा. इन्द्रजित राईले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार हुँदा ठग्ने योजना बनाएर रकम लिएको आरोप छ ।

वरिष्ठ अधिवक्ता ढकालले भने, ‘गृह मन्त्रालयमा उहाँको भूमिका कार्यकारी थिएन, राय सुझाव दिने भूमिकामा उहाँलाई नियुक्त गरिएको थियो ।’

अर्का वरिष्ठ अधिवक्ता प्रकाश केसीले शरणार्थी कार्यदलको प्रतिवेदन कसले किर्ते गरेको हो भन्नेबारे अनुसन्धानबाट पत्ता लगाउनुपर्ने बताए । उनले भने, ‘किर्ते कसले गरेको भन्ने पत्ता नलगाइकन डा. इन्द्रजितका बुबाछोरालाई नै किर्ते अभियोग लगाउन मिल्दैन ।’

अधिवक्ता दिल कुमारी राईले ७३ औं बसन्तमा हिँडिरहेका डा. इन्द्रजितलाई रिहा गर्न माग गरिन् । इजलासमा उनले भनिन्, ‘प्रतिवादी बनाएकै आधारमा मान्छे अपराधी हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप