शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

गर्मी, खानेपानी अभाव र अनियमित बिजुलीले वीरेन्द्रनगरको जनजीवन प्रभावित

गर्मी १० वर्ष यताकै उच्च
आइतबार, २८ जेठ २०८०, १३ : ५८
आइतबार, २८ जेठ २०८०

सुर्खेत । केही दिनयता अत्यधिक गर्मी बढेसँगै सुर्खेतबासीको जनजीवन प्रभावित बनिरहेको छ । अत्यधिक गर्मीसँगै खानेपानीको चरम सङ्कट र अनियमित ‘लो भोल्टेज’ विद्युत्को कारण प्रदेश राजधानीको बसाइ असहज बन्दै गएको हो । 

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार राजधानी वीरेन्द्रनगरको तापमान केही दिनयता बढिरहेको छ । आइतबार राजधानी वीरेन्द्रनगरको तापमान ३९ दशमलव ४ डिग्री रहेको छ । जुन पश्चिम नेपाल अन्तर्गत पर्ने नेपालगन्ज र धनगढी सहरपछि तेस्रो स्थानमा पर्छ । नेपालगन्जको ४०.८, धनगढीको ४०.६ डिग्री सेल्सियस तापमान रहेको छ । वीरेन्द्रनगरको तापक्रम तराईका कतिपय भूभागभन्दा पनि बढी रहेको देखिन्छ । दाङको घोराहीको तापक्रम ३७ दशमलव ५ डिग्री रहेको छ, जुन वीरेन्द्रनगरको भन्दा कम हो । वीरेन्द्रनगरको न्यूनतम तापक्रम २०–२५ डिग्रीको हाराहारीमा रहेको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा कार्यरत मौसमविद् अर्जुन भुसालका अनुसार अझै केही दिन गर्मी बढ्ने सम्भावना रहेको छ । गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह गरिएको छ । उनका अनुसार वीरेन्द्रनगरको यो पटकको तापक्रम विगत १० वर्ष यताकै उच्च हो ।  

०६९ जेठ ३२ गते वीरेन्द्रनगरको तापक्रम ४२.८ डिग्री पुगेको थियो । त्यसयता तापमान ३० डिग्री भन्दा माथि पुगेको थिएन । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुर्खेत आसपासका क्षेत्रमा अझै केही दिन पानी पर्ने सम्भावना छैन । 

वीरेन्द्रनगरमा मात्र नभई तराई क्षेत्र र भित्री मधेस र पहाडी जिल्लामा पनि विगतको भन्दा धेरै बढेको मौसमविद्हरूले बताएका छन् । यस्तै जुम्लाको अत्यधिक तापक्रम २७.४ डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम ८ डिग्री रहेको छ । यति बेला किसानका लागि बिउ राख्ने र मकै लगाउने समय भए पनि अत्यधिक गर्मीका कारण राखेको बिउ समेत सुक्ने अवस्थामा पुगेको छ । 

न खानेपानी न बिजुली

गर्मी बढेसँगै वीरेन्द्रनगरका सामुदायिक र निजी विद्यालयहरू समेत बन्द भइसकेका छन् । गर्मीका कारण घरबाहिर ननिस्कन चिकित्सकहरूले आग्रह गरिरहेका छन् । तर, अनियमित विद्युत् र खानेपानीको अभावका कारण घरभित्रको बसाइसमेत सहज छैन । 

केही दिनअघि प्रावि तह शिक्षकको परीक्षा दिनका लागि दैलेखबाट सुर्खेत आएका सुरत शाही भन्छन्, ‘यो राजधानीको बसाइ त बढो गाह्रो रहेछ, गर्मी उखरमाउलो छ, ‘लो भोल्टेज’ का कारण विद्युत् भए–नभएको कुनै अर्थ नहुने रहेछ । आजभोलि त बरु पहाडतिर नै सहज हुन्छ । त्यहाँ कमसेकम हावा त चल्छ । यहाँ त हावा पनि चल्दैन किन हो ?’  

उनले भनेजस्तै विद्युत् अनियमित र ‘लो–भोल्टेज’ले नागरिकको दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव परिरहेको छ । ‘लो भोल्टेज’का कारण पङ्खा पनि राम्रोसँग नचल्ने गुनासो विद्यार्थी टिकाराम मल्लको छ । कर्णालीमा आउने कोहलपुर–सुर्खेत ३३ केभीको पुरानो संरचनाका कारण विद्युत्को लोड धान्न मुस्किल पर्ने गरेको विद्युत् प्राधिकरण शाखा कार्यालय सुर्खेतले जनाएको छ । 

विद्युत् अवरुद्ध हुने गरेको वीरेन्द्रनगरमा खानेपानीको समेत चरम सङ्कट छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम सङ्कट चुलिएको हो । खानेपानीका धारा जडान भएका घरधुरीमा समेत ३ देखि ५ दिनको फरकमा मात्र पानी आउने गरेको छ, त्यो पनि अपर्याप्त । 

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार यसअघि २ लाख जनसङ्ख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी छन् । यो जनसङ्ख्यालाई सहज आपूर्ति गर्न करिब २७८ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्छ । सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार हाल प्रयोगमा ल्याइएका स्रोतहरूबाट १२८ लिटर प्रतिसेकेन्ड पानी मात्र उपलब्ध हुने भएकाले पानीको अभाव भएको हो । ३५ हजार घरधुरीमध्ये हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार यो वर्ष थप घरधुरीमा खानेपानीको लाइन वितरणपछि अझ पानी अभाव हुने देखिन्छ । 

अहिले प्रयोग भइरहेको पानी नै आवश्यकता भन्दा ५४ प्रतिशतले कम हो । हाल झुप्रा खोला, खरिखोला बोरीखोला, खोर्के खोला तथा बुलबुले काठकुवा खोलाबाट गरी १५७ लिटर प्रतिसेकेन्ड पानी ल्याई आपूर्तिको व्यवस्था मिलाइएको छ । खडेरीको समयमा माग बढ्ने भए पनि मुहानमा पानी घट्ने हुँदा खानेपानीको पहुँच सहज नभएको देवकोटाको भनाई छ । वीरेन्द्रनगरका कतिय बस्तीहरु यतिबेला काकाकुल बनिरहेका छन् । घरघरमा बनाइएका इनारहरू समेत गर्मी बढेसँगै सुक्न थालेको स्थानीयहरूले बताउने गरेका छन् । ‘घरमा खानेपानीको जोहो गर्न कठिन छ, नुहाउने कुरा त अझ सम्भव छैन,’ हाल वीरेन्द्रनगरका कोठा भाडामा बस्दै आएका दैलेखका जनक थापा भन्छन् ।’ 

सुर्खेत तातो हावा अर्थात् लु चल्न सक्ने सम्भावित क्षेत्रभित्र पनि पर्दछ । मौसमविद्का अनुसार कर्णालीका हिमाली जिल्लाहरूका आंशिक बदली भए पनि भित्री पहाड र चुरे पर्वतमा भने केही दिनसम्म वर्षाको सम्भावना छैन । मौसमविद् भुसालले रातोपाटीसँग भने, ‘तापक्रम सबै ठाउँको बढिरहेकै छ, अब पहाडी भेगमा केही दिनमा हल्का पानी पर्ने सम्भावना देखिन्छ । मनसुन सुरु हुने बेला भइसकेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप