शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

रमण श्रेष्ठको बहस : ओलीको स्वकीय सचिव र प्रेम राईविरुद्ध मुद्दा चलेन, पाण्डेविरुद्ध किन चलाइयो ?

सोमबार, २९ जेठ २०८०, १४ : ५२
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृह सचिव टेकनारायण पाण्डेविरुद्ध प्रतिशोध साँधेर मुद्दा चलाइएको जिकिर इजलासमा गरिएको छ । 

सोमबार जिल्ला अदालत काठमाडौँमा बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले केशव दुलालको बयानकै आधारमा पाण्डेलाई पक्राउ गरेर मुद्दा चलाइए पनि सोही प्रकरणमा नाम पोलिएका एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, सचिवालय सदस्य अजयक्रान्ति शाक्यविरुद्ध किन मुद्दा चलाइएन भन्दै प्रश्न गरे । 

पाण्डेको पक्षमा बहस गर्दै श्रेष्ठले कानुन सबैलाई समान हुनुपर्ने बताए । टेकनारायणलाई चल्दै नचल्ने मुद्दा चलाइएको उल्लेख गर्दै उनले बहालवाला सचिवलाई मुद्दा चलाउनुअघि अनुमति लिनुपर्ने प्रावधान पनि पूरा नगरिएको जिकिर गरे । ‘निजामती सेवाका अधिकृत र सोभन्दा माथिका कर्मचारीलाई मुद्दा चलाउँदा लोकसेवा आयोगको परामर्श र सरकारबाट अनुमति लिनुपर्ने हुन्छ । तर, त्यो अनुमति लिने प्रक्रिया पूरा भएको छैन’, उनले भने, ‘कुनै पनि जाहेरीवालाले पाण्डेलाई पैसा दिएको प्रमाण छैन । केशव दुलालले दिएको बयानका आधारमा मात्रै मुद्दा चलाइयो । कसैले पैसा दिएँ भन्दैमा मुद्दा चल्दैन ।’ 

श्रेष्ठले अगाडि भने, ‘दुलालले बयानमा उल्लेख गरेको राजेश बज्राचार्य र अजयक्रान्ति शाक्यविरुद्ध किन मुद्दा चलेन  ?’ कानुन त सबैलाई समान होला नि ?’ बज्राचार्य ओलीका स्वकीय सचिव हुन् भने शाक्य पनि ओलीकै सचिवालयमा कार्यरत थिए । 

बहसका क्रममा श्रेष्ठले भुटानी शरणार्थीका सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न ०७६ कात्तिक १७ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा एक बैठक बसेको पनि स्मरण गरे । बैठकमा बादलसहित प्रेम राई (तत्कालीन गृह सचिव), राजन खनाल (तत्कालीन अर्थसचिव), शंकर बैरागी (तत्कालीन परराष्ट्र सचिव) तथा मन्त्रीहरु युवराज खतिवडा र प्रदीप ज्ञवाली सहभागी रहेको श्रेष्ठको भनाइ छ । 

सो बैठकले नीति, रणनीति र कार्यनीति पेस गृहलाई निर्देशन गरेको थियो । नीति, रणनीति र कार्यनीति पेस गर्दा विकल्पसहित पेस गर्ने  भन्ने विषय पनि थियो । ०७५ मंसिर ३ मा बसेको मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनका सम्बन्धमा बैठकले यस्तो निर्देशन दिएको थियो । 

उसो त तत्कालीन गृह सचिव प्रेम राई (हाल अख्तियार प्रमुख) र तत्कालीन निमित्त गृह सचिव रामकृष्ण सुवेदीले पनि त्यसबारेमा छुट्टाछुट्टै निर्णय गरेका थिए । त्यस्तै निर्णयहरू टेकनारायण पाण्डेले पनि गरेको श्रेष्ठको जिकिर थियो । 

यस्तै निर्णय गर्दा रामकृष्ण सुवेदी र प्रेम राईविरुद्ध मुद्दा नचलेको श्रेष्ठले बताए । तर, पाण्डेले बिचौलिया छ भनेर पटक पटक पत्राचार गरेर रोक्ने प्रयास गर्दा उल्टै किन मुद्दा चलाइयो भन्दै उनले कटाक्ष गरे । ‘शरणार्थी प्रकरणको प्रतिवेदन टेकनारायणले फेरबदल गरेको हुनसक्छ भन्ने आशङ्काका भरमा मुद्दा चल्दैन ।’

इजलासमा आइतबार पनि दिनभर पाण्डेको तर्फबाट बहस भएको थियो । उनको तर्फबाट अधिवक्ताहरू राम घिमिरे, शरद कोइराला, डा गणेश रेग्मी र जगतप्रकाश जोशीले बहस गरेका थिए । श्रेष्ठले पाण्डेको बचाउमा सोमबार थप बहस गरेका हुन् । 

आजै अर्का प्रतिवादी नरेन्द्र केसीको तर्फबाट केशरमणि अर्याल, लक्ष्मी थापा खड्का, पुरुषोत्तम अर्याल, देवेन्द्र बहादुर थापा, दामोदर अधिकारी र  चिरञ्जीवी उपाध्यायले बहस गरेका छन् । 

हालसम्म अदालतमा पाण्डेसहित सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, टोपबहादुर रायमाझी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई पक्षका वकिलले बहस सकिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप