शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

सरकारी वकिललाई जवाफी बहस गर्न समयसीमा निर्धारण, शुक्रबार नै आदेश आउला ?

बिहीबार, ३२ जेठ २०८०, १७ : ०१
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । हाइप्रोफाइल नेता र कर्मचारी मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । प्रतिवादीसँग बयान लिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरुमा सरकारी वकिलको तर्फबाट भएको थियो  । त्यसपछि १८ जना प्रतिवादीको तर्फबाट भएको लामो बहस पनि बिहीबार सम्पन्न भएको छ । 

यससँगै अब शुक्रबार  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका ४ जनाले जवाफी बहस गर्नेछन् । प्रतिवादीतर्फका वकिलले उठाएका प्रश्नहरुमाथि केन्द्रित रहेर सरकारी वकिलले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई इजलासबाट भनिसकेका छन् । 

जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ । बहस सकेपछि समय पुगेमा शुक्रबार नै साँझसम्म थुनछेक आदेश आउन सक्ने बताइएको छ । भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई बुझाएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा यही जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको  थियो । 

जसअनुसार तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भयो भने त्यसपछि प्रतिवादीका तर्फबाट वकिलहरुको बहस भएर आज सकिएको हो ।  उक्त घटनामा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरु विरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो । 

उक्त प्रकरणमा रु २८ करोड ८१ लाख बिगो समेतको माग गरिएको छ । उक्त घटनाका आरोपीमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझैँ फरार रहेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डेलगायत हाइप्रोफाइल समेत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप