सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
इजलासमा जवाफी बहस

‘नयाँ पुस्ताको संगठित अपराधमा खाण, रायमाझी, राई र पाण्डे फिक्सर हुन्’

राज्यलाई न्याय चाहिएको छ : सरकारी वकिल
शुक्रबार, ०१ असार २०८०, १२ : ५३
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी मुद्दामा शुक्रबार जिल्ला अदालत काठमाडौँमा सरकारी वकिलहरुले जवाफी बहस गरेका छन् । जारी बहसमा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरे र महेश खत्रीले बहस गरेका छन् । बहस गर्नेको सूचीमा रहेका अन्य दुई जनाले पनि आजै जवाफी बहस सक्नेछन् । 

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहसका क्रममा जिल्ला न्यायाधिवक्ता घिमिरेले नागरिकको नामबाट राज्यले न्याय मागिरहेको बताए । उनले भने, ‘राज्यलाई न्याय चाहिएको छ श्रीमान । जाहेरवालाले जति पैसा गुमाएका छन्, त्यो चाहिएको हो । तर, न्याय राज्यलाई चाहिएको छ ।’
 
उनले यस्तो बताएपछि न्यायाधीशले सोधे– 'यसमा प्रमाण के छ ?’ जवाफमा उनले सबै संगठित अपराधहरु दाउद इम्ब्राइमहरुले गरेजस्तो हुन जरुरी नभएको बताए । भुटानी शरणार्थी प्रकरणमा भएको ठगी नयाँ पुस्ताको संगठित अपराध भएको जिकिर गरे । 

 ‘जवाफमा सबै संगठित अपराधहरु दाउद इम्ब्राइमहरुले गरेजस्तो हुन जरुरी छैन श्रीमान’, इजलासमा न्यायाधिवक्ता घिमिरेले भने, ‘यो अहिलेको ठगी नयाँ पुस्ताको संगठित अपराध हो ।’ बहसका क्रममा उनले प्रतिवादीहरु बालकृष्ण खाण, टोपबहादुर रायमाझी, इन्द्रजित राई र टेकनारायण पाण्डे फिक्सर भएको किटान गरे । 

‘पहिलो लेयरमा केशव दुलाल र सानु भण्डारीहरु देखिए । उनीहरुले पोलिटिकल 'नेक्सस' बनाए । यो दोस्रो पुस्ताको संगठित अपराध हो’, इजलासमा उनले भने, ‘मन्त्रिपरिषद्बाट फर्किएको शरणार्थी कार्यदलको प्रतिवेदन फिर्ता आएपछि बालकृष्ण खाँणले नयाँ टीओआर दिएर झापाका सहायक सीडीओको नेतृत्वमा उपसमिति बनाउन लगाएको देखिन्छ ।’

न्यायाधिवक्ता घिमिरेले यो अपराधमा सरकारी गाडी दुरुपयोग भएको पनि बताए । ‘सरकारी गाडी चढ्दा निजामती कर्मचारीको कार्डसमेत भिरेर सन्देश शर्माले दुरुपयोग गरेका छन् । यसमा सरकारी गाडीको रोल छ’, बहसका क्रममा सरकारी वकिलले भने, ‘त्यो गाडी नहुने हो भने प्रतिवदीले कार्ड भिर्न र ड्रेस लगाएर हिँड्न सक्छ त ? त्यसकै कारणले ठूलो अपराध भएको छ ।’

न्यायाधिवक्ता घिमिरेले आङटावा शेर्पाले केशव दुलाल र सानु भण्डारीलाई भेटेपछि गरेको कागजका आधारमा शरणार्थीको पैसा जग्गा कारोबारमा परिणत गरेको बताए ।  सानुको दाइ राजुको नाममा सो कागज भएको उनको जिकिर थियो । ‘जग्गा कारोबार भएको भए गृहमा झगडा गर्नुपर्छ त ? त्यो कुरा टोपबहादुरले पनि स्वीकारेका छन्’, बहसमा गृहमन्त्रालयमा पैसाको विषयमा इन्द्रजित राईसँग भएको झगडाको विषयमा वकिलले भने । प्रतिवादीका वकिलले सीसीटीभीको कुरा उठाएपनि ४ वर्षको सीसीटीभी फुटेज देखाउन सम्भव नहुने सरकारी वकिलको जिकिर थियो । 

यस्तै टंक गुरुङले १० लाख उठाएको र अपराध गर्ने सेल्टर नै उनको होटल भएको सरकारी वकिलले बताए । यस्तै टोपबहादुरका छोरा सन्दीपले लिएको ४० लाख शेयर बेचेर प्राप्त पैसा नभई शरणार्थी प्रकरणकै भएको जिकिर गरिएको छ ।

तेस्रो मुलुकमा शरणार्थीलाई पुनर्स्थापना गर्ने कुरा बाहिरबाट हेर्दा राम्रो देखिए पनि यसमा दुषित मनशाय रहेको सरकारी वकिलले जवाफी बहसका क्रममा जिकिर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप