आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
समाजवादी मोर्चा

समाजवादी मोर्चाप्रति सत्ता गठबन्धनकै नेताहरू सशंकित

आइतबार, ०३ असार २०८०, २२ : ४०
आइतबार, ०३ असार २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीले समाजवादी मोर्चा बनाउने तय भएपछि सत्ता गठबन्धनका केही दल संशकित बनेका छन् ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

गठबन्धनमा रहेकामध्ये माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले अन्य कम्युनिस्ट दलसँग मिलेर समाजवादी मोर्चा बनाउन लागेका हुन् । सत्ता गठबन्धनका प्रमुख दल कांग्रेसका नेताहरूले समाजवादी मोर्चाले गठबन्धनलाई कुनै असर नगर्ने दाबी गरेका छन् भने गठबन्धनमै रहेका केही दलका नेताले त्यसप्रति आपत्ति जनाएका छन् ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मोर्चा बनाउने कुराले सत्ता गठबन्धनलाई केही फरक नपर्ने दाबी गरे । सत्ता गठबन्धनभित्र वामपन्थी दलबीच मोर्चा बन्नुले गठबन्धनलाई सकारात्मक सहयोग पुग्ने उनको विश्वास छ ।

‘सत्ता गठबन्धनमा रहेका दलहरु छिन्नभिन्न अवस्थामा रहनुभन्दा विचार, कार्यक्रम वा राष्ट्रिय मुद्दाका माध्यमबाट एक ठाउँमा बस्ने प्रयत्न गरिरहनु गतिशील राजनीतिक दलको नियमित कार्यभित्र पर्छ,’ उनी भन्छन्, ‘त्यसो भएको हुनाले समान्य नै सोचेर उहाँहरुले वामपन्थी शक्तिलाई एक ठाउँमा राख्न गरेको प्रयत्नलाई नेपाली कांग्रेसले सकारात्मक रुपमा लिन्छ । यसले सत्ता गठबन्धनलाई नकारात्मक असर पार्दैन । बरु सहयोग नै पुग्छ भन्ने हामीलाई विश्वास छ ।’

तर गठबन्धनकै अर्को दल आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गठन हुन लागेका समाजवादी मोर्चाको औचित्य नरहेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘एउटा गठबन्धन क्रियाशील छँदैछ, फेरि अर्को मोर्चाको आवश्यकता किन प¥यो ? त्यसको औचित्य पुष्टि गर्नुपर्छ कि पर्दैन ? यो सब देशलाई अस्थिरतातर्फ लैजाने खेल हो ।’

जनतालाई दिग्भ्रमित गर्ने गरी, अर्कोतिर ध्यान मोड्ने गरी यो मोर्चा बन्न गइरहेको बताउँदै साहले जसरी संविधान निर्माणको क्रममा मधेसी–पहाडीको कुरा उठाएर जनताको ध्यान डाइभर्ट गरिएको थियो, अहिले त्यसरी नै एउटा गठबन्धन हुँदाहुँदै अर्को मोर्चा बनाउने काम भइरहेको टिप्पणी गरे ।

लोसपाका कार्यकारिणी सदस्य केशव झाले सत्ता गठबन्धन क्रियाशील रहेकै बेला अर्को मोर्चाको आवश्यकता नरहेको बताए । उनले भने, ‘यो गतिविधिले गठबन्धनमा विश्वासको वातावरण बनाउन सक्दैन, एक अर्काप्रति अविश्वास जन्माउँछ र त्यसले गठबन्धन धरापमा पर्न सक्छ ।’

झाका अनुसार अहिले गठबन्धनकै सुविधाजनक बहुमतको सरकार छ, अहिले सबै मिलेर जनताको पक्षमा काम गरेर देखाउनुपर्नेमा वामपन्थी विचारका पार्टीहरु अर्को मोर्चा बनाउनतिर लागेको देख्दा देश अस्थिरतातर्फ गइरहेको देखिन्छ । उनले यतिबेला बजेट कार्यान्वयन गर्ने सन्दर्भमा सत्तारुढ गठबन्धनबीच छलफल हुनुपर्ने उनको भनाइ छ ।

समाजवादी मोर्चा बनाउने कुरा धेरै पहिलादेखि उठ्दै आए पनि अहिले नै घोषणा गर्नुपर्ने अवस्था किन आइलाग्यो भन्नेबारे नाम उल्लेख नगरी एक विश्लेषकले रातोपाटीसँग टिप्पणी गरे । ‘यसले संकेत राम्रो गरेको छैन,’ उनले भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि सिंगापुर गएकै समयमा प्रधानमन्त्री प्रचण्डले नयाँ मोर्चा बनाउन सक्रियता देखाएको संयोगमात्र नहोला ।’

उनका अनुसार कांग्रेस र एमालेबीच सहकार्य हुने हो कि भन्ने आशंका प्रचण्डको मनमा उब्जिएका कारण आफूलाई बलियो बनाउन मोर्चाबन्दी गरेको हुन सक्छ ।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यो गठबन्धन एमालेको विरुद्धमा बनिरहेको बताए । प्रधानमन्त्री प्रचण्डलगायतले बनाउन लागेको समाजवादी मोर्चा सत्तारुढ गठबन्धनको विरुद्धमा नभएर एमालेको विरुद्धमा लक्षित रहने उनको भनाइ छ । उनले पाँच वर्षसम्म एमाले र कांग्रेसबीच कुनै सम्बन्ध नरहने पनि दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप