बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी आपत् विपतमा परेकाको भरोसा बन्नुपर्छ : महानिरीक्षक अर्याल

बुधबार, १३ असार २०८०, २१ : ११
बुधबार, १३ असार २०८०

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आपत विपतमा  परेका नागरिकको भरोसा बन्नुपर्ने बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आज सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा उनले भिन्नाभिन्नै भूगोलमा बसेका नेपाली नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सशस्त्र प्रहरीले कुनै कसर बाँकी राख्न नहुने बताए ।

उनले भने, “तपाईं र तपाईंका आफन्तले गरेको गौरवले त्यसबेला सार्थकता पाउँछ, जब तपाईंले राज्य र नागरिकको सेवामा परिचालित रहँदा उत्कृष्ट कार्य सम्पादनको दृष्टान्त प्रस्तुत गर्नुहुन्छ, अनि तपाईंले बगाएको पसिनाले त्यतिबेला सार्थकता पाउँछ, जतिबेला तपाईंले भिन्नाभिन्नै भूगोलमा बसेर नेपाली नागरिकमा सुरक्षाको प्रत्याभूति दिई आपत्विपत् परेको समयमा भरोसा दिलाउन सक्नुहुन्छ ।”

उनले राज्यप्रदत्त जिम्मेवारीका साथ नागरिकको सेवा र सुरक्षामा परिचालित रहन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिँदै मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानूनको पूर्ण परिपालना गरी सामाजिक र पदीय आचरण विपरित गतिविधिमा नलागी आफूलाई एउटा अब्बल अधिकृतका रूपमा परिचित गराउनेतर्फ लाग्नुपर्नेसमेत बताए ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई स्थापनाकालदेखि यहाँसम्म आइपुग्न सङ्गठनमा हिजो र आजका दिनमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीको त्याग, तपस्या र बलिदानको अनुकरणीय भूमिका रहेको स्मरण पनि गरे । उनले नयाँ जोश र ऊर्जाका साथ दीक्षित भई कार्य क्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकको आगमनसँगै सङ्गठनले अझ बढी उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास लिएको बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले साधारण नागरिकबाट फौजी जीवनमा प्रवेश गराउन आधारभूत तालिम अपरिहार्य रहेको बताउँदै प्रशिक्षार्थीलाई तालिममा सिकाइएका सैद्धान्तिक एवं व्यावहारिक अभ्यासबाट योग्य, सक्षम र इमान्दार अधिकृत उत्पादन गर्नमा टेवा पुग्ने बताए ।

छयालिस हप्ता अवधिको उक्त आधारभूत तालिम १५ जना महिलासहित कूल एक सय २० जना सशस्त्र प्रहरी सहायक निरीक्षक सहभागी थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप