शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादीमा ‘ट्रोईका’

प्रचण्डको विप्लव रुझानले माओवादीमा जनार्दन, वर्षमान र शक्तिको ‘ट्रोईका’

आइतबार, ३१ असार २०८०, १९ : ४५
आइतबार, ३१ असार २०८०

काठमाडौं । नेकपा माआवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’प्रतिको रुझान बढ्दै गएको छ । माओवादीबाट अलग भएको ११ वर्षपछि विप्लवलाई प्रचण्डले महत्त्व दिन थालेका हुन् ।

समाजवादी मोर्चामा विप्लवलाई समेटेका प्रचण्डले पार्टीमै भित्र्याउन आवश्यक तयारी गरिरहेको चर्चा चलिरहेको छ । यस कार्यमा उपाध्यक्ष कृष्णबहादुर महरा पनि जोडतोडका साथ लागेका छन् । पार्टीमा कमजोर हुँदै गएका महराले विप्लवलाई पार्टीमै भित्र्याएर महासचिव बनाउन पाए आफू पनि शक्तिमा पुग्ने सोच बनाएको स्रोत बताउँछ ।

विप्लव नेतृत्वको नेकपासँग पार्टी एकताको चर्चा हुन थालेपछि पार्टीमा उपमहासचिवहरु जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत एक कित्तामा उभिएका हुन् । विगतमा आपसमा खासै मेल नभएका उनीहरु विप्लवप्रति प्रचण्डको रुझान बढ्न थालेपछि ‘ट्रोईका’ का रुपमा एकाकारजस्तै भएका हुन् ।

गत असार २१ गते क्रान्तिकारी स्ववियू काउन्सिलको भेलामा प्रचण्डले विप्लवको प्रशंसा गरेपछि ‘ट्रोईका’ गठबन्धन झन् कसिलो हुन थालेको हो ।  ‘पूर्व माओवादीहरु सबै एकतामा आउने आधार तयार भएका छन् । हामी आफूलाई रैथाने माओवादी ठान्छौं । हामी बरु पार्टी डिफेन्स गर्न र नेतृत्वको पक्षमा कस्सिएर बोल्न डराएका जस्ता छौँ,’ प्रचण्डले भने, ‘तर हेर्नुभयो भने विप्लवजीहरु कस्सिएर बोल्न थाल्नु भएको छ– पार्टीको पक्षमा, नेतृत्वको पक्षमा । यो हाम्रो लागि खुसीको कुरा भयो ।’

उनले पार्टी एकता गर्न संयोजन समिति बनाएर अघि बढ्ने तयारीसमेत भइरहेको बताए । अब पार्टी एकतामा आउनेलाई एकतामै र नआउनेलाई मोर्चा मार्फत समेट्ने योजना रहेको पनि उनले खुलासा गरे ।

स्ववियू काउन्सिल प्रशिक्षणमा पुनले महासचिवमा विवाद हुँदा आफूले नै जनार्दन शर्मालाई महासचिव बनाउन प्रस्ताव गरेको उल्लेख गरे ।

प्रचण्डले यो अभिव्यक्ति दिए लगत्तै असार २२ मा उपमहासचिव त्रय शर्मा, पुन र बस्नेत स्ववियू निर्वाचित विद्यार्थीलाई प्रशिक्षण दिन कीर्तिपुर पुगेका थिए । प्रशिक्षण कार्यक्रममा शर्मा र पुनले खुलेरै आफ्ना कुरा राखेको अखिल क्रान्तिकारीका एक पदाधिकारीले बताए ।

‘स्ववियू काउन्सिलमा पार्टीका वरिष्ठ उपाध्यक्ष सहित प्रवक्ता, महासचिव, उपमहासचिव शर्मा, पुन र बस्नेतलाई बोलाएका थियौँ । अरु पूर्व विद्यार्थी अध्यक्षहरु पनि हुनुहुन्थ्यो,’ ती पदाधिकारीले भने, ‘तर, संयोगवस तीनै जना सँगसँगै जस्तो हुन पुग्नुभयो । सुरुमा  अनन्त (पुन) कमरेडले आफ्नो कुरा राख्नुभयो, त्यसपछि प्रभाकर (शर्मा)ले राख्ने भए पनि शक्ति कमरेडको क्याबिनेट भएकाले प्रभाकरले अन्तिममा आफ्ना कुरा राख्नुभयो ।’

स्ववियू काउन्सिल प्रशिक्षणमा पुनले महासचिवमा विवाद हुँदा आफूले नै जनार्दन शर्मालाई महासचिव बनाउन प्रस्ताव गरेको उल्लेख गरे । ‘पार्टी महासचिव को हुने भन्नेमा विवाद जस्तै भयो । त्यसपछि अध्यक्षले मलाई सोध्नुभयो । महासचिवमा म र जनार्दनजीमध्ये जसलाई महासचिव बनाए पनि हुन्छ । म नहुने स्थितिमा जनार्दनजीलाई महासचिव बनाएर जाउँ भन्ने जवाफ दिएँ,’ पुनलाई उद्धृत गर्दै प्रशिक्षणमा सहभागी ती पदाधिकारीले भने, ‘त्यसपछि पार्टीमा के के भयो, अन्तिममा अध्यक्ष कमरेडले देव गुरुङलाई महासचिव बनाउनुभयो ।’

janardan barshaman

आफू स्वास्थ्यको कारण सक्रिय हुन नसक्ने भएपछि पार्टीलाई गतिशील बनाउन जनार्दन शर्मालाई महासचिवमा प्रस्ताव गरेको पुनले उल्लेख गरेका थिए ।

पुन र  बस्नेतले बोले लगत्तै शर्माले आफूलाई महासचिव नबनाएकोमा गुनासो पोखेका थिए । ‘हामीले प्रचण्ड कमरेडलाई लामो समयदेखि साथ दिँदै आएका छौँ । भोलि पनि हामीले नै साथ दिने हो । हामीप्रति भरोसा भएको देखिएन,’ शर्माको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘अर्कै पार्टीका नेताबाट केही हुनेवाला छैन । आफ्नै साथीहरुको भर पर्दा राम्रो हुन्छ ।’

‘पार्टीको आठौँ महाधिवेशनदेखि हामी मिलिसकेका थियौँ । सानातिना कुरा छोडेर पार्टी निर्माण गर्नुपर्छ भन्ने भएकै हो,’ पुनले भने, ‘यस विषयमा जनार्दनजी र मेरो सघन छलफल भयो । महासचिवमा हामी दुईमध्ये जो भए पनि हुन्छ भनेर हामीले भन्यौँ ।’

आफूले पार्टी नेतृत्वको रक्षा र आलोचना दुवै गर्दै आएको र यसरी अरु कसैले गर्ने नसक्ने शर्माले बताएका थिए ।

स्ववियू काउन्सिलमा शर्मा, पुन र बस्नेत एकसाथ पुगेपछि प्रचण्ड निकट नेताहरुले चासो राखेका थिए । तीनै नेताको बारेमा रिपोर्ट लिएपछि प्रचण्डले गत असार २२ गते बिहान शर्मा, पुन र बस्नेतलाई बालुवाटार बोलाएर छलफल गरेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

‘पार्टीका उपमहासचिव जनार्दन, वर्षमान र शक्तिजी आउनु भयो । प्रधानमन्त्रीज्यूसँग सामान्य छलफल भयो,’ ती सचिवालय सदस्यले भने, ‘पार्टीमा थप समस्या नआओस् भनेर सामान्य स्पष्ट पार्ने काम भयो ।’

पार्टीमा विप्लवलाई ‘इन्ट्री’ गराउन महरा जोडतोडका साथ लागेपछि ‘ट्रोईका’को गठबन्धन कसिलो हुँदै गएको छ । पार्टी विभाजन गरेर कमजोर पार्नेलाई नै अहिले भित्र्याएर महासचिव बनाउन थालिएको भन्दै तीनै नेता एक ढिक्का भएका हुन् । पार्टी फुटको औचित्य, संसदीय व्यवस्था मान्ने सर्तका अतिरिक्त शर्मा र पुनलाई नेता मान्ने सर्तमा दुवै नेता विप्लवलाई पार्टीमा भित्र्याउन तयार देखिएका छन् । तर, शर्मा र पुन दुवैभन्दा माथि विप्लवलाई ल्याउने स्थितिमा पार्टी एकता हुने अवस्था कम देखिएको स्रोत बताउँछ ।

पार्टीको महासचिव बनाउने सवालमा मात्रै होइन, लुम्बिनी प्रदेशको संसदीय दलको नेता बनाउँदा पनि माओवादीभित्रका ‘ट्रोईका’ एक ठाउँमा उभिएका थिए । अर्कोतिर जोखबहादुर महरालाई माओवादी केन्द्रका लुम्बिनी प्रदेश संसदीय दलको नेता बनाउन नदिन अरु नेताहरु सक्रिय भएका थिए । अन्तिममा शर्मा र पुन एक ठाउँमा उभिएपछि महरालाई दलको नेता हुन सहज भएको थियो । अहिले विप्लवलाई महासचिव बनाउने गरी प्रचण्डले तयारी थालेपछि शर्मा, पुन र बस्नेत एक ठाउँमा उभिएका छन् ।

तर, पार्टी उपमहासचिव वर्षमान पुनले विप्लवका कारण नभएर पार्टी निर्माणको पहल गर्न नेताहरु एक ठाउँमा आएको जिकिर गरे । ‘हामी नेताहरुबीच निकटता बढ्नु राम्रो हो । यसरी दुःख गरेर आएका साथीहरु मिल्नु राम्रै हो । हामी पहिलेदेखिका साथी हौँ । जीवन मरणको संघर्षबाट निकट भएर काम गरेका साथीहरु हौँ । बीचमा निकटै थियौँ । पार्टीका सामान्य सानातिना विषयमा मिस अन्डरस्टयान्डिङहरु भए,’ रातोपाटीसँग पुनले भने, ‘पार्टीका आधारभूत कुरामा मतभेद भएन । राजनीतिक कार्यदिशामा, नेतृत्वको विषयमा, गठबन्धन बनाउने भत्काउने विषयमा कहिल्यै मतभेद छैन ।’

अब पार्टी निर्माणको चरणमा सबै नेताहरु एक ढिक्का भएको पुनले बताए । ‘पार्टीको आठौँ महाधिवेशनदेखि हामी मिलिसकेका थियौँ । सानातिना कुरा छोडेर पार्टी निर्माण गर्नुपर्छ भन्ने भएकै हो,’ पुनले भने, ‘यस विषयमा जनार्दनजी र मेरो सघन छलफल भयो । महासचिवमा हामी दुईमध्ये जो भए पनि हुन्छ भनेर हामीले भन्यौँ ।’

आफूले जनार्दनलाई महासचिव बनाउन पार्टीमै औपचारिक प्रस्ताव राखेको पुनले बताए ।

यस्तै पार्टी केन्द्रीय सदस्य निर्मल आचार्यले विप्लव नेतृत्वको नेकपासँग एकता गर्दा कुनै समस्या नहुने जिकिर गरे । ‘विप्लव कमरेडको टेष्ट हुन बाँकी नै छ । पार्टी एकता गर्ने र महाधिवेशनमा जाने हो, उहाँ(विप्लव) केन्द्रीय सदस्यमात्रै भएर महाधिवेशनसम्म जानुपर्छ,’ आचार्यले भने, ‘महाधिवेशनबाट जो महासचिव बनेर आउँछ, त्यही हुन्छ । अब चुनावमा जानुको विकल्प नै छैन ।’

माओवादी शान्ति प्रक्रियामा आएपछि विप्लव टाढिए

जनयुद्धका समयमा रोल्पा, रुकुम तत्कालीन माओवादीको आधारइलाका मानिन्थ्यो । आधार इलाका भएकाले त्यस क्षेत्रको इन्चार्जको भूमिका विप्लवले पाएका थिए । पार्टी केन्द्रीय सदस्य एवम् राप्ती ब्यूरो इन्चार्ज विप्लव भएका बखत प्रचण्ड भारत छोडेर आधार इलाका आइपुगेका थिए । त्यतिबेला प्रचण्डसँग नजिक भएर काम गर्ने अवसर विप्लवले पाएको नेता कार्यकर्ताहरु बताउँछन् ।

शान्ति प्रक्रियामा आएपछि विस्तारै विप्लवको स्पेस वर्षमान पुन, जनार्दन शर्मा, नन्दकिशोर पुन र लोकेन्द्र विष्ट मगरहरुले लिन थाले । त्यसपछि विप्लव विस्तारै पाखा लाग्दै गएका थिए । विप्लवले पहिलो पटक (२०६४ साल) असारमा राखिएको पाँचौँ विस्तारित बालाजु बैठकमा फरक मत राखेको पूर्व माओवादीका नेता एवम पूर्व मन्त्री गोपाल किरातीले बताए ।

‘पाँचौ विस्तारित बैठकको कार्यक्रम विप्लवले सञ्चालन गर्नुभयो । कार्यक्रमको स्वागत मन्तव्य वर्षमान पुनले राख्नुभयो । त्यस बैठकमा विप्लवले शान्ति प्रक्रियामा जाने नाममा संसदीय खेलमा फसाउन नहुने भन्दै आलोचनात्मक धारणा राख्नुभयो,’ किरातीले भने, ‘अरु  राजनीतिक र वैचारिक रुपमा के के कुरा राख्नुभयो भन्ने मैले अहिले बिर्सिएँ ।’

२०६४ साल पुसमा बसेको बैठकमा कुन नेता कहाँबाट चुनाव लड्ने भन्ने विषयमा गम्भीर छलफल भएको थियो । बैठकमा विप्लव रोल्पा, सल्यान, दाङ लगायत जिल्लाबाट उम्मेदवार हुने स्थिति नभएपछि झापा वा कैलालीबाट उम्मेदवार हुन खोजेका थिए । तर, विप्लवले पछिल्लो समय उक्त कुरा अस्वीकार गर्दै आएका छन् ।

पहिलो संविधान सभा(२०६४ साल) चुनावमा संसद छिर्न नपाएका विप्लव त्यसपछि विस्तारै विद्रोहको कित्ता समाउन थालेको किरातीले बताए ।

पार्टीमा मतभेद भएकै बेला ०६५ साल वैशाखमा मजदुरले वीरगञ्जमा राखेको भेलामा शालिकराम जम्कट्टेल र विप्लवबीच झण्डै हात हालाहालको स्थितिमा पुगेको किरातीले स्मरण गरे । त्यसपछि विप्लवले स्पष्ट रुपमा पार्टीको विचार, कार्यदिशा र कार्यक्रममा फरक मत राख्न थालेको नेताहरु बताउँछन् ।

राष्ट्रपतिमा रामवरण यादव निर्वाचत भई रामराजाप्रसाद सिंह पराजित भएपछि समीक्षा गर्न २०६५ साल साउन ५ गते केन्द्रीय समिति बैठक बोलाएको थियो । त्यस बैठकमा विप्लवले अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई सहित शीर्ष नेतृत्व सरकारमा जानै नहुने अडान लिएको किरातीले स्मरण गरे ।

‘अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई सहित शीर्ष नेतृत्व सरकार जान हुँदैन । यसअघिको बैठकको निर्णय लागु गर्नुपर्छ । सरकारमा जाने नै हो भने समग्र योजना बनाएर जानुपर्छ,’ विप्लवको त्यतिबेलाको भनाइ स्मरण गर्दै किरातीले भने, ‘यदि योजना नबनाएर सरकारमा गए त्यसले पार्टीलाई खान्छ ।’

विप्लवले धारणा राखे लगत्तै वर्षमान पुनले कडा प्रतिवाद गरेका थिए । ‘फरक मत कि सुरुमा राख्नुपर्छ कि अन्तिममा । यो के तरिका हो ? भनेर प्रतिवाद गर्नुभयो,’ किरातीले भने, ‘त्यसमा मैले फरक मत कहाँ कसरी राख्नुपर्छ भनेर कहाँ लेखेको हुन्छ भन्दै उल्टै उनको खण्डन गरेँ ।’

बैठकमा थप विवाद हुने देखिएपछि प्रचण्डले बैठक स्थगित भएको जानकारी गराएर हलबाट निस्किएका थिए । ‘बैठक सकिएको केही दिनपछि प्रचण्ड, बाबुराम एमालेसँग सरकार गठन गर्न माधवकुमार नेपाल, झलनाथ खनालसँग संवाद गर्न पुगे भन्ने खबर बाहिर सार्वजनिक भयो,’  किरातीले भने, ‘विप्लवको विचार विपरीत प्रचण्डले आफ्नो नेतृत्वमा एमाले, फोरम सरकारमा सहभागी हुने भनेपछि तीनछक परियो ।’

०६५ साल मंसिरमा भएको खरिपाटी भेलामा विप्लवकै जोडबलमा मोहन वैद्यले अध्यक्ष प्रचण्डविरुद्ध फरक दस्तावेज राखेका थिए । त्यसपछि माओवादीभित्र विप्लवको फरक मत वैद्यले प्रतिनिधित्व गरेर निरन्तर अघि सारेको नेता कार्यकर्ताको भनाइ छ ।

०६७ सालमा गोरखाको पालुङटारमा प्रचण्ड र वैद्यबीच विवाद उत्कर्षमा पुग्यो । त्यसपछि जब प्रचण्डले बाबुरामको ‘शान्ति र संविधानको’ लाइन लिएपछि वैद्य थप सशक्त भए । पार्टीभित्र प्रचण्ड र वैद्यबीच विवाद चर्किदै गएपछि २०६९ सालमा वैद्यले आफ्नो नेतृत्वमा नेकपा–माओवादी गठन गरेका हुन्, जसमा विप्लव पनि सामेल भए ।

प्रचण्ड नेतृत्वको माओवादीबाट अलग हुँदा वैद्यले आफनो नेतृत्वमा ४० प्रतिशत नेता कार्यकर्ता लागेका थिए । दोस्रो संविधान सभा (२०७० साल)को चुनावमा वैद्य नेतृत्वको माओवादी प्रचण्ड नेतृत्वको माओवादीलाई देशैभर चुनाव हराउन लाग्यो । अध्यक्ष प्रचण्डसहित माओवादीका शीर्ष नेताहरुलाई लक्षित गर्दै बम विस्फोट समेत गराए । वैद्यबाट अलग भएर ०७१ सालमा विप्लवले आफ्नो नेतृत्वमा नेकपा गठन गरेका थिए । १२ वर्षमा खोलो पनि फर्किन्छ भने जस्तै ११ वर्षपछि फेरि प्रचण्ड र विप्लवबीच निकट्ता बढ्दै गएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप