बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
उद्योग

रुपन्देहीमा एकै वर्ष २१७ उद्योग बन्द, १२ हजारले गुमाए रोजगारी

सोमबार, १५ साउन २०८०, ०६ : ४०
सोमबार, १५ साउन २०८०

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित आमाको भान्सा मसला उद्योग करिब ६ महिनादेखि बन्द छ । उद्योगका सञ्चालक ज्ञानेन्द्र बन्जाडेले अहिले बाँकी रहेको कच्चा पदार्थ र मेसिन घरमै लगेर थन्क्याएका छन् ।  

‘पछिल्लो समय उद्योगको लागि भारतबाट आउने कच्चा पदार्थ जिराको चरम मूल्यवृद्धि, अवैध तरीकाबाट आउने अन्य मसलासँग प्रतिस्पर्धा गर्न बजारमा सकस  भयो,’ बन्जाडे भन्छन्, ‘अर्कोतिर लोनको लागि बैंकको कडाइपछि उद्योग नै बन्द गर्नु पर्‍यो ।’ 

बन्जाडेको उद्योग खोलेको ठाउँको जग्गाभाडा मासिक १४ हजार थियो । १० जना कर्मचारी थिए । तलब र जग्गाभाडा जुटाउन सकस भएपछि, वातावरण सहज भएमा फेरि खोल्ने योजनासहित मेसिन घरमा लगेको उनले बताए । 

बन्जाडेजस्तै अर्का युवा उद्योगी विष्णु प्रसाद घिमिरेले पनि आभास चिया उद्योग करिब एक वर्षदेखि बन्द गरेका छन् । उद्योगले रुपन्देहीको तिलोत्तमाकै चिया ब्रान्डिङ  गर्थ्यो । पुँजी अभावको कारण उद्योग बन्द गर्नु परेको घिमिरे बताउँछन् ।

रुपन्देहीमा पछिल्लो समय विभिन्न कारणले बन्जाडे र घिमिरे जस्ता उद्योगीका साना तथा मझौला उद्योग धमाधम बन्द भइरहेका छन् । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार यो आर्थिक वर्षमा २१७ उद्योग बन्द भएको छ ।

बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक  उद्योग ६३ र पर्यटन उद्योगमा ५१ रहेका छन् । ती उद्योगहरूमा  कन्तीमा १२ हजारले रोजगारी गुमाएका छन् ।

लोडसेडिङ, बढ्दो आर्थिक मन्दी, बैङ्कको चर्को ब्याजदर मुख्य समस्या भएको उद्योगीहरूको भनाइ छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल औद्योगिक क्षेत्रको रूपमा चिनिएको रुपन्देहीमा एक वर्षमै २ सय भन्दा धेरै उद्योग बन्द हुँदा यसले यहाँका उद्योगीहरूको अवस्था कता जाँदैछ भन्ने सङ्केत गरेको बताउँछन् । 

उनले रुपन्देहीमा कोभिड महामारी, त्यसपछि बैंकको व्याजदार, आयात निर्यातमा केही नीतिगत समस्याले गर्दा उद्योगहरू चरम मारमा परेको बताए । 

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले रुपन्देहीमा सेवामूलक उद्योगहरू बन्द हुनुमा विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न ध्यान नदिनु, बैङ्कको ब्याज र बजारको समस्याले साना उद्योगलाई समस्या भएको बताए । 

उनले ठुला उद्योगहरू पनि समस्यामा भएको तर बन्द भने साना उद्योगहरू बढी देखिएको बताए । कसजुका अनुसार केही ठुला उद्योगहरू आफ्नो उत्पादन क्षमता २५ देखि ४० प्रतिशतसम्म मात्रै चलाएर केवल आफ्नो खर्च मात्रै उठाइरहेको बताए । 

साना उद्योगहरू पनि तिनको क्षमता भन्दा कम सञ्चालन भएको विषयमा आफूहरूलाई जानकारी नहुने घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका सूचना अधिकार नेत्रप्रसाद भुसालले रातोपाटीलाई बताए । 

रुपन्देहीमा घरेलुमा  करिब ११ हजार  ३० उद्योग दर्ता छन् । जिल्ला घरेलु कार्यालयले अहिलेसम्म ११०९ उद्योग नवीकरण भएको जनाएको छ । त्यसमा १ हजार भन्दा बढी त रुपन्देही उद्योग संघमै आबद्ध छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप