सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

भीम रावललाई ओलीको ‘ग्रीन सिग्नल’ : के पाउँदैछन् जिम्मेवारी ?

शुक्रबार, ०१ भदौ २०८०, ११ : ०७
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत साता पार्टीभित्र चर्चामा रहेका दुई वटा विषयमा सांकेतिक कदम चाले । पहिलो, पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने चर्चालाई ओलीले अस्वीकार गर्दै खण्डन गरे । दोस्रो, आफूसँग लामो समय संवादहीनताको अवस्थामा रहेका पूर्व उपाध्यक्षसमेत रहेका नेता भीम रावलसँग लामो भलाकुसारी गरे ।

यी दुई घटनापछि विभिन्न कोणबाट ओलीका कदमको विश्लेषण भइरहेका छन् । खासगरी ओलीका यी दुई कदमपछि पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीति गर्ने चाहनाप्रति ‘रेडलाइट’ अर्थात् रातो बत्ती बलेको रुपमा केही एमाले नेता कार्यकर्ताले बुझेका छन् भने रावलको हकमा ‘ग्रीन’ अर्थात हरियो बत्ती बलेको रुपमा चर्चा र विश्लेषण भइरहेका छन् ।

भण्डारी गत फागुन अन्तिम साताबाट राष्ट्रपतिको कार्यकाल सकाएर फुर्सदमा बसेकी छन् भने रावल गत ०७९ को निर्वाचनमा जिल्ला र प्रदेशबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भए पनि ओलीले टिकट दिएनन् भने हालसम्म भूमिकाहीन नै छन् । ओलीले महाधिवेशनमा आफूविरुद्ध उम्मेदवारी दिएको प्रतिशोधस्वरुप निर्वाचनमा रावललाई टिकट नदिएको चर्चा त्यसै बेलादेखि नै एमालेभित्रै चल्दै आएको थियो ।

२०७८ मंसिरमा सम्पन्न नेकपा एमालेको चितवन महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका नेता रावल त्यसयता पार्टीमा खासै सक्रिय थिएनन् । त्यसपछि २०७९ को निर्वाचनमा समेत टिकट नपाएपछि आफूविरुद्ध अन्याय भएको महसुस गर्दै आएका रावल बितेको झण्डै २० महिना एमालेको साधारण सदस्यको भूमिकामै सीमित रहे ।

महाधिवेशनपछि अध्यक्ष ओलीले रावललाई केन्द्रीय सल्लाहकार परिषदमा सदस्यको जिम्मेवारी दिए पनि उनले स्वीकार गरेका थिएनन् । तर पनि उनलाई सक्रिय बनाउन पार्टीभित्र दबाब भने बढ्दो थियो ।

महाधिवेशनको २० महिनापछि भने रावल पार्टीमा उपयुक्त जिम्मेवारी पाए सक्रिय बन्ने ‘मुड’मा देखिन्छन् । यद्यपि उनले अहिले नै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने स्पष्ट बताइसकेका छैनन् ।

यतिमात्रै हो कि अहिले अध्यक्ष केपी शर्मा ओली र नेता रावलबीचको लामो समयको संवादहीनता तोडिएको छ । संवादहीनता तोडिनुलाई अध्यक्ष ओली र रावल दुवैले सकारात्मक रुपमा लिएका छन् ।

‘लामो समयपछि विगतका तितामिठा विषय र घटनाक्रमबारे भलाकुसारी भयो । पुनः छलफल गर्दै अघि बढ्नेबारे कुराकानी भएको छ’, रावलले ओलीसँगको भेटवार्तामा भएको कुराकानीको प्रसंगबारे रातोपाटीसँग भने, ‘मसँग अहिले योभन्दा बढी भन्ने कुरा छैन ।’

रावलको यो प्रतिक्रियाबाटै ओलीसँगको संवाद सकारात्मक बनेको लख काट्न कठिन छैन ।

‘उहाँहरुबीच सकारात्मक कुराकानी भएको बुझिन्छ । सम्भवतः अब बस्ने बैठकपछि रावल कमरेड पार्टीको सक्रिय राजनीतिमा फर्कनुहुन्छ’, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको भनाइ छ । 

के पाउँछन् रावलले जिम्मेवारी ?

एमाले नेताहरुका अनुसार रावललाई पार्टी काममा सक्रिय बनाउन सचिवालय सदस्यहरुको पहिलेदेखि नै जोड थियो । त्यसमा सदस्यहरुले अध्यक्ष ओलीले नै पहल कदमी लिनु उपयुक्त हुने सुझाव समेत दिँदै आएका थिए ।

यसअघि उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको तीन सदस्यीय समितिले समेत रावलसँग एक चरण कुरा गरे पनि खासै प्रगति हुन सकेको थिएन ।

‘विगतका तीनचार वटा सचिवालय बैठकमा रावल कमरेडलाई सक्रिय गराउने विषयमा छलफल भएको हो’, एक पदाधिकारीले भने, ‘अन्ततः साउन ३० मा उहाँहरु दुवै जना बसेपछि सकारात्मक कुराकानी भयो । यसले पार्टीमा पनि सकारात्मक सन्देश गएको छ ।’

ती पदाधिकारीका अनुसार रावलले पार्टीको जिम्मेवारी समेत पाएपछि एमालेमा फरक ढङ्गको लहर चल्नेछ ।

त्यसो त रावललाई कस्तो जिम्मेवारी दिने भन्नेमा एमाले बैठकमा निर्णय भइसकेको छैन । पदाधिकारी बनाउन विधानतः नमिल्ने भएकाले तत्काल रावलले स्थायी कमिटी सदस्यको जिम्मेवारी पाउने निश्चितजस्तै छ । त्यसमा ओली समेत सकारात्मक छन् ।

‘अब बस्ने सचिवालय बैठकले तत्काललाई रावलजीलाई स्थायी कमिटी सदस्यको जिम्मेवारी दिन सक्ने सम्भावना छ । यद्यपि यसबारे कमिटीमा छलफल भइसकेको छैन’, ओली निकट एक पदाधिकारीले भने, ‘एकदुई दिनभित्रै बैठक बसेर निर्णय गर्छ ।’

श्रीमाया थकाली पनि निष्क्रिय !

एमालेले निष्क्रिय नेता कार्यकर्तालाई बिदाइ गर्ने नीति लिएको छ । त्यसैक्रममा केशव स्थापित र प्रमोद नारायण यादवलाई एमालेले बिदा गरिसकेको छ । एमालेले मुस्ताङकी एमाले नेतृ श्रीमाया थकालीलाई पनि उचित जिम्मेवारी दिएर पार्टीमा सक्रिय गराउने तयारी गरेको छ ।

थकाली २०७८ मा भएको एमालेको १० औं महाधिवेशनमा घटुवामा पर्ने एकमात्र नेतृ हुन् । महाधिवेशन अघि पोलिटब्यूरो सदस्य रहेकी थकाली महाधिवेशनमा केन्द्रीय सदस्यमा सीमित बनिन् । विगतमा राष्ट्रिय सभा सदस्य र संविधानसभा सदस्यको भूमिका समेत निर्वाह गरेकी थकाली झण्डै ४१ वर्षदेखि कम्युनिस्ट राजनीतिमा छन् । तर १० औं महाधिवेशनमा गण्डकी प्रदेशमै पनि उनीभन्दा जुनियर सीता गिरी ओलीलगायतका महिला नेतृलाई अध्यक्ष ओलीले पोलिटब्यूरोमा ल्याउँदा र थकालीसँगै राजनीति गरेकी थममाया थापालाई स्थायी कमिटी सदस्य बनाउँदा थकाली भने किनारामा पर्दै केन्द्रीय सदस्यमा सीमित थिइन् । त्यसपछि उनी पार्टीमा निष्क्रिय जस्तै बसेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप