बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ओरेक र इन्सेकको स्थलगत अध्ययनको निष्कर्ष : हिरासतमा रहेकी महिलामाथि यौन हिंसा भएको पुष्टि हुने आधार छन्

शुक्रबार, २२ भदौ २०८०, २० : ४७
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपककुमार रायले हिरासतमा रहेकी महिलालाई यौन हिंसा गरेको पुष्टि हुने आधार फेला परेको जनाएका छन् ।

संयुक्त रुपमा गरिएको स्थलगत अध्ययनका क्रममा हिरासतमा रहेकी महिलालाई बयानका लागि राति डीएसपी रायले बोलाएको प्रहरी अधिकारी र पीडित महिलाले बताएको ओरेकको निमित्त कार्यकारी निर्देशक सुनिता मैनालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

कर्तव्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी ३५ वर्षीय महिलालाई गत चैत ६ गते राति ११ः३० देखि १२ बजे सोही कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक रायले बयानका लागि आफ्नो कार्यकक्षमा बोलाएर दुई पटक बलात्कार गरेको पीडित महिलाले बताएको विज्ञप्तिमा उल्लेख छ ।

चैत ४ गते गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएकी महिलाविरुद्ध चैत १४ गतेमात्र प्रहरी प्रतिवेदनका आधारमा पक्राउ पुर्जी जारी भएको र चैत २० गते महिलाका जेठाजुको उजुरी समेतको आधारमा ज्यान सम्बन्धी कसुरको अभियोगका कारबाही प्रक्रिया अघि बढाएको देखिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै ओरेकका अध्यक्ष डा. रेणु अधिकारीले थुनामा राखेको महिलालाई सोधपुछ गर्न महिला प्रहरी नै हुनुपर्ने बताइन् । साथै घटनाको निष्पक्ष छानबिनको सुनिश्चितताका लागि सबै मानव अधिकार रक्षकहरु चनाखो हुनुपर्ने उनको भनाइ छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकार उल्लंघनका यस्ता घटनामा सबै मानव अधिकारकर्मीहरु एकजुट हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप