बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा डेंगुबाट तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित

सोमबार, ०१ असोज २०८०, १६ : २३
सोमबार, ०१ असोज २०८०

ढाका ।  बङ्गलादेशमा शनिबारदेखि आइतबार बिहानसम्मको २४ घण्टामा तीन हजार १२२ जना नयाँ डेंगुका बिरामी फेला परेका छन् । यस वर्ष एकै दिनमा अस्पताल भर्ना भएका बिरामीको यो सङ्ख्या अहिलेसम्मको नै सबैभन्दा बढी भएको ढाका ट्रिब्युनले जनाएको छ ।

प्रतिवेदनअनुसार यो अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने रोगका कारण थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यो वर्ष डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या ८२२ पुगेको छ ।   ढाका ट्रिब्युनका अनुसार ढाकाका अस्पतालमा ८४९ जना र राजधानी बाहिरका अस्पतालमा डेंगुका बाँकी बिरामी भर्ना भएका छन् ।

ढाकामा चार हजार ६६ सहित १० हजार ४३७ डेंगुका बिरामी हाल देशभरका अस्पतालमा उपचाररत छन् ।  यस वर्ष अहिलेसम्म एक लाख ६७ हजार ६८४ जनामा डेंगु को सङ्क्रमण देखिएको छ भने निको हुनेको सङ्ख्या एक लाख ५६ हजार ४२५ पुगेको छ ।

यद्यपि, यो महिना मृत्यु हुनेको सङ्ख्या २२९ पुगिसकेको छ र भेक्टरजनित रोग अनियन्त्रित रूपमा फैलिरहेको छ। बङ्गलादेशमा सन् २०२२ मा डेंगुका कारण २८१ जनाको मृत्यु भएको थियो ।  

सन् २०१९ मा १७९ जनाको मृत्यु भएको र यो बर्ष डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै १०० सङ्ख्याले बढी भएको हो । सन् २०२२ मा बङ्गलादेशमा ६२ हजार ४२३ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो भने ६१ हजार ९७१ जना निको भएका थिए ।

यसैबीच युनिसेफले बङ्गलादेशलाई डेंगुको प्रकोप नियन्त्रणका लागि २२ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता प्रदान गर्ने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले छिट्टै स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छताका क्षेत्रमा अन्य महत्वपूर्ण आपूर्ति र सेवाहरूका साथै तत्काल आवश्यक परीक्षण किटहरू र पेशेवरहरूको प्रशिक्षण प्रदान गर्नेछ । बङ्गलादेशको ६४  जिल्लामा अहिले डेंगुको प्रकोप फैलिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप