मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
मातृ स्वास्थ्य

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

मातृ मृत्यु भएकाहरूमध्ये १० प्रतिशत किशोरी
बिहीबार, ०४ असोज २०८०, १० : ०२
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । नेपालमा एक लाख जन्मिएका बालबालिकामध्ये १५१ जनाको मृत्यु हुने गरेको छ ।  उता, नेपाल जनसाङ्ख्यिक सर्वेक्षण २०२२ अनुसार भने नवजात शिशु मृत्यु दर प्रति १ हजारमा २१ रहेको छ । 

त्यस्तै प्रत्येक दिन २ जनाका दरले मातृ मृत्यु हुने गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको परिवार कल्याण महाशाखाको तथ्याङ्कले देखाउँछ । अनिच्छित गर्भ र असुरक्षित गर्भपतनका कारण मातृ मृत्यु कम गर्न चुनौती देखिएको अध्ययनले देखाएको छ । मातृ मृत्युको कारणमध्ये करिब ५ प्रतिशत गर्भपतनको जटिलता भएको उल्लेख गरिएको छ । 

त्यस्तै, मातृ मृत्यु भएकाहरूमध्ये १० प्रतिशत किशोरी रहेका छन् । त्यस्तै, उपयुक्त जन्मान्तरको कमीले पनि मातृ मृत्यु बढिरहेको महाशाखाले जनाएको छ । अझैपनि करिब आधा जति गर्भ अनिच्छित रहने गरेको महाशाखाद्वारा गरिएको अध्ययनले देखाएको छ ।

सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्यु दर रहेको छ ।

करिब दुई तिहाइ अनिच्छित गर्भपतन हुने गरेको छ । कुल गर्भपतनको करिब आधा असुरक्षित हुने गरेको समेत उल्लेख गरिएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार यदि दम्पतीले दुई गर्भबीच कम्तीमा २ वर्षको अन्तर कायम गरेमा परिवार योजना सेवाले ३० प्रतिशत मातृ मृत्यु र १० प्रतिशत बाल मृत्यु कम गराउने भनिएको छ । नेपालको हकमा भने करिब ५३ प्रतिशत मातृ मृत्युलाई कमी ल्याउन परिवार योजना सेवाको योगदान रहेको एक अध्ययनमा उल्लेख छ । 

कुन प्रदेश बढी मातृ मृत्यु दर ?

सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्यु दर रहेको छ । लुम्बिनी प्रदेशमा मात्रै २०७ मातृ मृत्यु दर रहेको छ । सबै भन्दा कम बाग्मती प्रदेशमा ९८ मातृ मृत्यु दर रहेको छ । दोस्रोमा कर्णाली प्रदेशमा १७२ मातृ मृत्युदर रहेको छ । 

यस्तै, क्रमशः गण्डकी प्रदेशमा १६१, कोशी प्रदेशमा १५७, मधेस प्रदेशमा १४० र सुदूरपश्चिम प्रदेशमा १३० मातृ मृत्युदर रहेको महाशाखाले जनाएको छ । 

नवजात मृत्यु दर 

नेपालमा नवजात मृत्यु दरमध्ये सबैभन्दा धेरै दुई वर्ष मुनिका नवजातको मृत्यु भएको पाइएको छ । परिवार कल्याण महाशाखाले नवजातको उमेर समूहलाई ४ भागमा विभाजन गरेको छ । जसमा दुई वर्ष, दुई वर्ष सम्मका, तीन वर्ष सम्मका र चार वर्षभन्दा माथिका नवजात भनेर उल्लेख गरिएको छ । 

समग्रमा नेपाल भरको शिशु मृत्यु दर १९.८ प्रतिशत रहेको छ ।

यी उमेर समूहका नवजातमध्ये सबैभन्दा भन्दा धेरै दुई वर्ष मुनिका नवजातको मृत्यु दर ४२ प्रतिशत रहेको छ । त्यस्तै, दोस्रोमा दुई वर्ष सम्मका नवजात मृत्यु १८ प्रतिशत, तेस्रोमा तीन वर्ष सम्मका नवजात मृत्यु १६ तथा  चार वर्ष भन्दा माथिका नवजातको मृत्यु १२ प्रतिशत रहेको छ । 

नवजातको मृत्यु दरको आँकडालाई केलाउँदा ठुलो उमेर समूहका भन्दा साना उमेर शिशुको मृत्यु दर अधिक रहेको पाइएको छ । 

शिशु मृत्यु दरको अवस्था

समग्रमा नेपाल भरको शिशु मृत्यु दर १९.८ प्रतिशत रहेको छ । महाशाखाको आँकडालाई केलाउँदा सात प्रदेशमध्ये शिशु मृत्यु दर सबैभन्दा बढी मधेस प्रदेशमा २८.९ प्रतिशत तथा सबैभन्दा कम गण्डकीमा ९.४ प्रतिशत रहेको पाइएको छ । 

क्रमशः लुम्बिनी प्रदेशमा १९.६ प्रतिशत, सुदूरपश्चिममा १८.६ प्रतिशत, कोशी प्रदेशमा १७.२ प्रतिशत, कर्णाली प्रदेशमा १५.६ बाग्मती प्रदेशमा १०.७ प्रतिशत मृत्युदर रहेको  परिवार कल्याण महाशाखाले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप