शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फिर्केखोलाको खोलाघर नापजाँचसम्बन्धी प्राविधिक प्रतिवेदन बुझाइयो

शनिबार, ०६ असोज २०८०, १४ : ५८
शनिबार, ०६ असोज २०८०

पोखरा । फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट पोखरा महानगरपालिकालाई बुझाइएको छ । ‘फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०’ प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेव गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाएका हुन् । 

प्रतिवेदन बुझ्दै प्रमुख आचार्यले फिर्केखोलाका सम्बन्धमा प्राविधिक नापजाँच सहितको एक महत्त्वपूर्ण दस्ताबेज तयार भएको बताए । ‘यो प्रतिवेदनले खोलाघर माथिको अवस्था देखाइदिएको छ, यसको कार्यान्वयनका सम्बन्धमा महानगरपालिकाको कार्यपालिकामा आवश्यक छलफल गरी उपयुक्त निर्णय गर्नेछौँ,‘ प्रमुख आचार्यले भने, ’सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरी यसमाथिका संरचनाहरू हटाइनेछ ।’ दिगो पर्यटन विकास परियोजना अन्तरगत यसको संरक्षण, सम्बद्ध र विशेष सौन्दर्यीकरणको उद्देश्यसहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गरिने उनले बताए । 

उपप्रमुख मन्जुदेवी गुरुङले फिर्केखोला माथि बनेका संरचनाहरू हटाउने कार्यमा आमपोखरेलीहरुको साथ र सहयोग रहने अपेक्षा व्यक्त गरे । महानगरपालिकाले प्रतिवेदनका आधारमा खोलाघर खाली गर्ने बताउँदै उनले यसको संरक्षणका लागि तत्काल काम गर्नुपर्ने अवस्था रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सार्वजनिक सम्पत्तिको दोहनलाई रोक्दै संरक्षण तथा विकासका गतिविधिहरू सञ्चालन गरिने बताए । फिर्केखोलाको प्राविधिक प्रतिवेदनमा उल्लेख भएका विषयवस्तुहरूको कार्यान्वयनका लागि प्रशासनिक संयन्त्रका रूपमा पोखरा महानगरपालिका तयार रहेको उनले बताए । 

प्रतिकुल मौसम र भौगोलिक कठिनाइका बाबजुद खोलाको खोला नापजाँच कार्य सम्पन्न गरी प्रतिवेदन तयार गरिएको समितिका संयोजक वासुदेव पौडेलले बताए । खोलाघर माथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचनाहरू निर्माण गरेको पाइएको उहाँले जानकारी दिनुभयो । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचनाहरू र ३५ वटा स्थायी संरचनाहरू निर्माण गरेको पाइएको छ । खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरू निर्माण गरिएका छन् । 

साबिक ग्यारजाती पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं.१८,२,४,५,७,८,६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ ८ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ । खोलाको उचाइ ४ देखी ९ मिटरसम्म गहिरो रहेको पाइएको छ । फिर्केखोलाको प्राविधिक नाप जाँच पछि यकिन गरिएको खोला घरको पश्चिम तर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सीमा स्तम्भहरू गाडिएका छन् । प्रतिवेदन अनुसार फिर्केखोला माथि २५ वटा पुल तथा कल्भर्टहरू रहेका छन् । यसको नापजाँच कार्य ३२ दिनसम्म २८८ घण्टामा सम्पन्न गरिएको हो । 

फिर्के तथा बुलौदी खोला हुँदै फेवातालसम्म पुगेका प्लास्टिकजन्य फोहोर तथा सिसा र विषाक्त रसायनका कारण प्राणी जीवन सङ्कटमा पर्नुका साथै मानव जीवनमा समेत घातक प्रकृतिका जटिल रोगहरूको जोखिम बढ्ने गरी वातावरणीय प्रदूषण भइरहेको प्रतिवेदनमा उल्लेख छ । खोला फोहोर फ्याँक्ने डम्पिङ बन्दै गइरहेकाले तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनले देखाएको छ ।

खोलामा बग्ने विषाक्त पानीका कारण वरिपरिको कृषि उत्पादनमा ह्रास आइरहेको र खाद्यसंकटको सम्भावना रहेको, खोलाघरमै मापदण्ड विपरित पक्की संरचनाहरू निरन्तर निर्माण भइरहेकाले खोलाघरको हरियालीमा ह्रास आएको, सहरी तापमानमा वृद्धि भई जलवायु परिवर्तनका असरहरूको नकारात्मक प्रभाव मानव जीवन र वातावरणमा प्रत्यक्ष रूपमा देखिएको, खोला छेउमा रहेका सार्वजनिक तथा प्रतिजग्गाहरू निरन्तर अतिक्रमण भई भविष्यमा आइपर्ने कुनै पनि प्रकारका विपत्तिहरूमा सुरक्षाका लागि आवश्यक पर्ने खाली स्थानहरूको अभाव हुने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप