बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सामूहिक बलात्कार प्रकरण : कराँते प्रशिक्षक राउत र सुवेदीलाई ८ वर्ष कैद

बुधबार, २२ कात्तिक २०८०, १८ : ०८
बुधबार, २२ कात्तिक २०८०

विराटनगर । एक १९ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीलाई जनही ८ वर्ष कैद सजाय निर्धारण गरेको छ । 

मोरङ अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले राउत र सुवेदीलाई बुधबार ८ वर्ष कैद र जनही ३–३ लाख रुपैयाँ जरिमाना तोक्दै फैसला गरेको हो । 

जबरजस्ती करणी मुद्दामा ७ वर्ष र सामूहिक बलात्कारमा थप १ वर्ष गरी दुवै जनालाई ८ वर्ष कैद सजाय निर्धारण गरिएको मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । 

विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । उनीहरुले सोही कलेजमा अध्ययनरत इटहरीकी १९ वर्षीय छात्रालाई सामूहिक बलात्कार गरेको आरोपमा मुद्दा लागेको थियो । 

पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको अभियोग पत्रमा उल्लेख छ । पीडितमाथि जेठ महिनामा विराटनगरको मुनाल पथस्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेको बताइएको छ । उनीहरुले युवतीको अश्लील भिडियो बनाई उनीमाथि पटक–पटक करणी गर्दै आएका थिए । 

जबरजस्ती करणी मुद्दामा राउत र सुवेदीलाई २०७९ भदौ ६ गते मोरङ जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालको इजलासले पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको थियो । अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागारमा रहेका थिए । 

यसअघि बिहीबारको इजलासले उनीहरूको कसुर ठहर भएको थियो । मुलुकी फौजदारी मुद्दामा कसुर ठहर भएपछि सजाय निर्धारण गरी फैसला हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप