बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ओपनएआईमा फर्किएलान् स्याम अल्टम्यान ?

आइतबार, ०३ मङ्सिर २०८०, १३ : ३३
आइतबार, ०३ मङ्सिर २०८०

क्यालिफोर्निया । कृत्रिम बौद्धिकताले मान्छेको जागिर खाइदिने चिन्ताबीच एआई बनाउने कम्पनी ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम अल्टम्यानकै जागिर गयो । ओपनएआईको सञ्चालक समितिले अल्टम्यानलाई सीईओ पदबाट हटाए । कम्पनी चलाउन सक्ने उनको क्षमताप्रति सञ्चालक समितिलाई विश्वास नै भएन । ३८ वर्षीय अल्टम्यानले ओपनएआई लन्चमा कम्पनीलाई मद्दत गरेका थिए । च्याट जीपीटी बोट बनाउने कम्पनी हो ओपनएआई । च्याटजीपीटीको लञ्चपछि अल्टम्यान टेक उद्योगका हाई–प्रोफाइल व्यक्ति बनेका थिए ।

तर यतिबेला कम्पनीमाथि अल्टम्यानलाई फिर्ता ल्याउन दबाब बढिरहेको छ । कम्पनीका कयौँ लगानीकर्ताहरू अल्टम्यानको समर्थनमा आइरहेका छन् । उनलाई सीईओ पदबाट हटाउने फैसला फिर्ता गर्न केही लगानीकर्ताहरूले सञ्चालक समितिका सदस्यहरूलाई दबाब दिइरहेको खबर पनि यति बेला आइरहेको छ । अल्टम्यानको बर्खास्तीको खबरले कम्पनीका लगानीकर्ता र स्वयम् अल्टम्यान समेत अचम्मित बनेका थिए । उनको समर्थनमा कयौँ कर्मचारीले कम्पनी पनि छाडेका छन् । यसमा ओपनएआईका सह–संस्थापक ग्रेग ब्रोकम्यान पनि पर्दछन् ।

बहिनीकै कारण गएको हो त अल्टम्यानको जागिर ?

हालै अल्टम्यानको बहिनीले सामाजिक सञ्जालमा आफ्ना दाजुभाइले आफ्नो यौन शोषण गरेको आरोप लगाएकी थिइन् । यो पोष्टले निकै हंगामा मच्चाएको थियो । बहिनीको आरोपकै कारण अल्टम्यानको जागिर चैट भएको अड्कलबाजी पनि यति बेला भइरहेको छ । अल्टम्यानको बहिनी एनीले सामाजिक सञ्जालमा स्याम र ज्याकले आफ्नो शारीरिक, मानसिक शोषण गरेको अनि यौन उत्पीडन पनि गरेको बताएकी थिइन् ।

ओपनआईको भविष्यलाई लिएर अल्टम्यानले कुनै ठूलै कदम उठाउन चाहेको अनि सञ्चालक समिति यसप्रति सहमत नहुँदा उनलाई निकालिएको भन्ने खालको खबरहरु पनि आइरहेका छन् । कम्पनीमा सुरक्षा त्रुटि, गोपनीयताको हननको घटनालाई पनि अल्टम्यानको बर्खास्तीसँग जोडेर हेरिएको थियो । ओपनएआईको सबैभन्दा ठुलो लगानीकर्तामध्ये एक माइक्रोसफ्टले गएको केही  दिनयता च्याटजीपीटीको प्रयोगमा रोक समेत लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप