आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी-नेसपा एकता

एकता समायोजन समिति बनाउन माओवादीमा अलमल

वार्ता टोली सदस्य अनौपचारिक रुपमा सक्रिय
शुक्रबार, २२ मङ्सिर २०८०, २१ : ५५
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) एकता समायोजन समिति बनाउने/नबनाउने सम्बन्धमा अलमलमा परेको छ । मङ्सिर १ गते प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भएको भेटवार्तामा दुवैतर्फका शीर्ष नेतृत्वसहित एकता समायोजन समिति बनाएर जाने प्रस्ताव भएको थियो ।

पार्टी एकताका लागि माओवादीबाट अध्यक्ष प्रचण्डको नेतृत्वमा एकता समायोज समिति बनाउने र नेसपाबाट भट्टराईको नेतृत्वमा समिति बनाउने सहमति भएको थियो ।

सहमति बमोजिम मङ्सिर ६ गते बसेको नेसपाको केन्द्रीय समितिले भट्टराईको नेतृत्वमा समायोजन समिति बनाएको थियो । जसमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव र डा. जनक यादव सदस्य छन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी प्रचण्ड कोप–२८ मा भाग लिएर फर्किएपछि एकता समायोजन समिति बनाउने माओवादी केन्द्रका नेताहरूले बताएका थिए । तर अहिलेसम्म प्रचण्डको नेतृत्वमा समायोजन समिति बनाउने/नबनाउने सम्बन्धमा स्पष्ट भइसकेको छैन ।

कृष्णबहादुर महरा नेतृत्वको वार्ता कार्यदलले नै एकता प्रक्रिया अगाडि बढाइरहेकाले तत्काल अध्यक्षको नेतृत्वमा समिति बन्ने सम्भावना नरहेको माओवादीका एक नेताले जानकारी दिएका छन् । यद्यपि आवश्यक परे अध्यक्षलाई राखेर निर्णय लिन सकिने उनको भनाइ छ ।

‘महरा कमरेडकै नेतृत्वमा दुई पक्षबिच वार्ता र सम्वाद भइरहेको छ । तत्काल एकता समायोजन समिति बन्ने/नबन्ने निश्चित छैन । आवश्यक परेको खण्डमा अध्यक्षज्यूलाई राखेर निर्णय गर्न सकिन्छ’, ती नेताले भने ।

यता नेसपाका महासचिव यादवले माओवादीमा समायोजन समिति गठन नभए पनि अनौपचारिक रुपमा छलफल भइरहेको जिकिर गरेका छन् ।

‘एकता समायोजन समिति बनाउने दुवै पार्टीको अध्यक्षको बिचमा सहमति भएको थियो । सहमति अनुसार हामीले बाबुरामजीको नेतृत्वमा समिति बनाएका छौँ । उताबाट प्रचण्डजीकै नेतृत्वमा समिति बन्ला’, उनले भने ।

विचार मिल्ने पार्टीबिच एकताका लागि माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन  गरेको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत सदस्य छन् । साउनमा बसेको केन्द्रीय समितिले महरालाई समाजवादी मोर्चा र पार्टी एकता संयोजक बनाएको थियो ।

एकताका लागि वार्ता टोली सक्रिय

एकताका लागि दुवै पक्षबिच औपचारिक छलफल नभएपनि अनौपचारिक रुपमा वार्ता टोली सदस्यहरू सक्रिय रहेको दुवै पार्टीका शीर्ष नेताहरूले दाबी गरेका छन् । यसबिचमा प्रचण्ड र बाबुराम, देव गुरुङ र रमेश, महिन्द्र, गंगा र प्रचण्डबिच अनौपचारिक छलफल भइसकेको छ । उनीहरूले पार्टीको नाम र चिह्नमा खासै विमति नभए पनि समाजवादी राजनीतिक–वैचारिक कार्यदिशा, सांगठनिक संरचनाबारे बहस र छलफल भइरहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप