आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी–नेसपा एकता प्रक्रिया

कोप–२८ सम्मेलनपछि बाबुरामसँग एकता प्रक्रिया अगाडि बढाउने तयारीमा माओवादी

आइतबार, १० मङ्सिर २०८०, २३ : ४६
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । माओवादी केन्द्रले कोप सम्मेलनअघि बाबुराम नेतृत्वको नेसपासँग पार्टी एकता अगाडि नबढ्ने भएको छ । मङ्सिर ६ गते बसेको नेसपाको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसहित समाजवादी धारसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको थियो ।

बैठकले पार्टी एकताका लागि अध्यक्ष डा.बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय गरेको छ । तर माओवादीले नेसपाको निर्णयलाई स्वागत गर्दै छिट्टै पार्टीको बैठक बसेर निर्णय लिने बताएको थियो ।  प्रधानमन्त्री प्रचण्ड जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने तयारीमा छन् । उनी कोप सम्मेलनबाट फर्किएपछि एकता प्रक्रिया अगाडि बढ्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । 

‘कोप सम्मेलनअघि एकता प्रक्रिया अगाडि बढाउने सम्भावना छैन । प्रधानमन्त्रीज्यू फर्किएर आउनुभएपछि बैठक बस्ला’, उनले भने ।  यस्तै उपमहासचिव एवं वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले नेसपाको निर्णय पार्टी एकताका लागि सकारात्मक भएको भन्दै छिट्टै बैठक बसेर प्रक्रिया अगाडि बढाउने बताए । एकता समायोजन समिति बनाउने विषयमा बैठकले निर्णय गर्ने उनले जानकारी दिए । 

‘नेसपाको निर्णय पार्टी एकताका लागि सकारात्मक छ । समायोजन समिति बनाउने विषयमा अहिले कुनै छलफल भएको छैन । छिट्टै बैठक बसेर निर्णय गर्छ’, रातोपाटीसँग पोखरेलले भने ।

एकतासम्बन्धी धेरै काम गर्न बाँकी रहेकाले तत्काल एकताको सम्भावना नभएको उनले बताए । 

‘माओवादीको चार महिने अभियान नसकिएसम्म एकता प्रक्रियाले ठोस रूप लिने अवस्था छैन । त्यसपछि विधान सम्मेलन र विशेष महाधिवेशनले एकतासम्बन्धी विषय टुङ्ग्याउँछ’, उनले भने, ‘यद्यपि पार्टीको बैठक बसेर छिट्टै एकता समायोजन समिति बनाउनेबारे निर्णय गर्नेछ । तर तत्काल बैठक बस्ने अवस्था छैन । प्रधानमन्त्रीको कोप सम्मेलनपछि बैठक बस्छ होला ।’

मङ्सिर १ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र बाबुरामबिच भएको भेटवार्तामा दुवै पार्टीको शीर्ष नेतृत्वमा एकता समायोजन समिति बनाउने सहमति भएको थियो । मङ्सिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएससीसीसी) पक्ष राष्ट्रहरूको २८ औं सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड जाँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप