बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार

शुक्रबार, २२ मङ्सिर २०८०, २२ : ५३
शुक्रबार, २२ मङ्सिर २०८०

आज मिति २०८० साल मंसिर महिनाको २२ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

महासमिति बैठक सार्ने प्रस्ताव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठक आगामी फागुनमा सार्ने प्रस्ताव अगाडि सारेका छन् । सभापति देउवाले आसन्न पुस १६–१९ को महासमिति बैठक फागुनमा सार्न चाहेका हुन् ।

माओवादी–नेसपा एकता

नेकपा माओवादी केन्द्र एकता समायोजन समिति बनाउनेरनबनाउने सम्बन्धमा अलमलमा परेको छ । मङ्सिर १ गते प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल समाजवादीका अध्यक्ष डा। बाबुराम भट्टराईसँग भएको भेटवार्तामा दुवैतर्फका शीर्ष नेतृत्वसहित एकता समायोजन समिति बनाएर जाने प्रस्ताव भएको थियो ।

राज्य व्यवस्था तथा सुशासन समिति बैठक

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले प्रधामन्त्री प्रचण्डलाई बोलाएर एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छलफल गर्ने निर्णय गरेको छ ।  शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

राजदूत अनुमोदित

पोर्चुगलका लागि संसदीय समितिबाट अनुमोदित भएका राजदूत सनिल नेपालले नेपालमा पोर्चुगलका फुटबल खेलाडी ल्याउने कार्ययोजना प्रस्तुत गरेका छन् ।

शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपालले नेपालमा जलवायू परिवर्तनबाट हिमालमा हिउँ कम हुँदै गएको देखाउन पोर्चुगलका राष्ट्रिय फुटबल खेलाडीलाई नेपाल  बोलाएर नेपाली खेलाडीसँग खेलाउने कार्ययोजना प्रस्तुत गरेका हुन । यसबाट नेपाली खेलाडीहरुको कार्यक्षमता समेत अभिवृद्धि हुने उनको भनाई थियो ।


सुन तस्कर पक्राउ

भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।

शुक्रवार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पत्रकार सम्मेलनका क्रममा प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले एउटा अचम्मको तथ्य खोले । घुमाउरो शैलीमा उनले दिएको प्रतिक्रियामा यदि विमानबाट ओर्लने बित्तिकै चन्द्रलाई नियन्त्रणमा नलिएको भए सुन नभेटिन पनि सक्थ्यो ।

 

मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । मङ्सिर २२ गते जारी मौद्रिक नीतिको समीक्षाले मुलुकको वर्तमान आर्थिक स्थिति एवम् परिदृश्यका आधारमा आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीतिको कार्यदिशालाई कायमै राखिएको केन्द्रीय बैंकले जनाएको छ ।

आलु प्याज व्यापारीको आन्दोलन

आलु र प्याजको कारोबार व्यापारीको आन्दोलन फिर्ता लिएका छन् । आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा भ्याट नलाग्ने स्पष्ट पारेसँगै आलु र प्याजको कारोबार व्यापारीले आन्दोलन फिर्ता लिएका हुन् ।

 

यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । शुक्रबारको खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग सात विकेटले पराजित भयो ।

यो पनि...

रुसी सेनामा कार्यरत पाल्पाका विष्णुबहादुर पौडेल परिवारको सम्पर्कबाहिर रहेका छन् । बिरामी रहेर अस्पतालमा उपचार गराउँदै आएका उनी पछिल्लो समय परिवारको सम्पर्कबाहिर रहेका हुन् । पटक पटकको प्रयासपछि पनि सम्पर्कमा नआएपछि उनको परिवार चिन्तित बनेको छ ।


शान्ति सेनामा नेपाली सैनिकको संख्या करिब ६ हजार पुगेको छ । कन्टिनजेन्ट, मिलिटरी अब्जर्भर र स्टाफ अफिसरसहित अहिले युद्ध भइरहेका देशमा ५ हजार ९६४ जना नेपाली सैनिक परिचालन गरिएको सैनिक प्रवक्ता (सहायक रथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए ।

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता आह्वान गरेको हो ।

स्वतन्त्र सांसद अमरेसकुमार सिंहले एनसेलको सेयर हस्तान्तरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले शुक्रबार आजियाटा कम्पनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी गराएकी हुन् । उनले आर्थिक वर्षको बजेट वक्तव्यमा भनिएको कुरालाई सरकारले लागू गरेको बताइन् ।

नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले विभाग, प्रदेश, जिल्ला र पालिका इन्चार्जसहित सह इन्चार्ज तोकेको छ । युवा संघका महासचिव सुमन पुरीले सर्कुलर जारी गर्दै सवै प्रदेश र अन्तर जिल्ला विशेष प्रदेशका लागि इन्चार्जसहित सह इन्चार्ज तोकेको जनाएका छन् ।

रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चरणबद्ध आन्दोलन सुरु भएको छ ।

विमानस्थल नियमित रूपमा सञ्चालन गर्न विभिन्न निकायमा ज्ञापनपत्र बुझाएको सिद्धार्थ सञ्जाल, रुपन्देहीले  शुक्रबार भैरहवामा शान्तिपूर्ण प्रदर्शन गरेको छ । उक्त आन्दोलनलाई लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले पनि साथ दिएका छन् ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप