सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
महासचिव नियुक्ति प्रक्रिया

संसदको महासचिवका लागि पाण्डेको सिफारिस राष्ट्रपति कार्यालयको ‘मुल्तबी’मा

संघीय संसदको महासचिव परिवर्तन गर्न लागिएपछि कर्मचारीदेखि गठबन्धन दल सशंकित
मङ्गलबार, २६ मङ्सिर २०८०, १६ : ४६
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ ।  संघीय संसदका महासचिव भरतराज गौतमको कार्यकाल बाँकी छँदै आएको आकस्मिक राजीनामा र लगत्तै नयाँ महासचिवका लागि प्रतिनिधि सभाका बहालवाला सचिव पद्मप्रसाद पाण्डेको नियुक्तिको सिफारिसलाई आशंकाका बिच हेरिएको बेला पाण्डेको सिफारिस राष्ट्रपति कार्यालयमा मुल्तबीमा परेको छ ।

गत आइतबार गौतमले महासचिव पदबाट राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पत्र बुझाएलगत्तै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेलाई महासचिवमा नियुक्त गर्न राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेका थिए ।

तर राष्ट्रपति कार्यालयले महासचिव गौतमको राजीनामा स्वीकृत नभइकन दोस्रो व्यक्तिको नाम महासचिवका लागि सिफारिस भएर आएकाले निर्णय नगरी अध्ययनका लागि राखेको छ ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले रातोपाटीसँग भने, ‘महासचिवमा पाण्डेको नियुक्तिका लागि गरिएको सिफारिस रितपूर्वक आएको नदेखिएकाले नियुक्तिको विषय अध्ययनको क्रममा छ ।’

कुनै एउटा पद खाली नभइ सो पदमा अर्को व्यक्तिलाई नियुक्त गर्नुपर्‍यो भनेर सिफारिस आएको राष्ट्रपति कार्यालयको अशय छ । 

अप्रत्याशित रुपमा महासचिव परिवर्तन गर्न लागिएपछि कर्मचारीदेखि गठबन्धन दल सशंकित

संघीय संसदको महासचिव भरतराज गौतमले एक्कासी राजीनामा दिएको र प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव बनाउन लागिएपछि गठबन्धन दलका सांसदहरुले शंकास्पद काम भनी टिप्पणी गरेका छन् ।

यता संघीय संसद सचिवालयका कर्मचारीहरु पनि जानकारी बिना महासचिवको राजीनामा र नयाँ महासचिवका लागि प्रतिनिधि सभाका बहालवाला सचिवको नाम सिफारिस भएपछि असन्तुष्ट बनेका छन् ।  

महासचिव गौतमले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा पत्र बुझाएका थिए भने सोको निर्णय भइनसक्दै सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेललाई पाण्डेलाई महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका थिए ।  

आगामी २०८१ साल भदौ ३ गतेसम्म कार्यकाल रहेका गौतमको अचानक राजीनामा आउनु र प्रतिनिधि सभाका सचिवलाई महासचिवमा सिफारिस गर्नु संयोग नभइ संसद सचिवालय नेतृत्वमा कुनै दल विशेषले आफ्नो कब्जामा लिन खोजेको संसद सचिवालयका एक कर्मचारीले बताए ।

नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘राजीनामा दिनेले पनि हामीलाई केही जानकारी नदिइ बेखर भएर गएको, नयाँ सिफारिस गरियो भन्ने पनि बाहिरबाट सुन्नमा आयो, औपचारिक रुपमा हामीलाई यसबारे केही जानकारी छैन ।’

उनका अनुसार चार दिनदेखि संसद सेवा दिवस मनाइरहेको बेलामा अचानक महासचिवको राजीनामा आउँदा कर्मचारीहरु आश्चर्यचकित भएका छन् । उनले भने, ‘कर्मचारीको नाताले यसबारे केही पनि थाहा पाउन सकेनौँ । अहिले त हामी नेतृत्वबिहीन जस्तो अवस्थामा छौँ । गत वर्ष पनि संसद सचिवालयको सचिवबाट अचानक राजीनामा गर्नुभयो र प्रतिनिधि सभाको सचिव हुनुभयो । अहिले कार्यकाल बाँकी हुँदै राजीनामा गर्ने र नयाँ सिफारिस हुने यो शृङ्खला चलिरहेको छ ।’

राजनीतिक तहबाट संघीय संसदको नेतृत्व आफ्नो कर्मचारीको नेतृत्वमा चलिरहोस् भन्ने अभिप्रायले यो प्रक्रिया चलिरहेको उनले बताए ।

महासचिवबाट राजीनामा गरेका गौतम नेकपा एमाले निकट हुन भने अहिले महासचिवमा सिफारिस भएका पाण्डे पनि एमाले निकट हुन् । आगामी फागुनमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल सकिँदैछ । उनको कार्यकाल सकिएपछि राष्ट्रिय सभा अध्यक्ष माओवादी वा कांग्रेसबाट आउने र त्यसो हुँदा एमाले निकट कर्मचारीलाई महासचिवमा नियुक्तका लागि समस्या पर्ने भएपछि बहालवाला महासचिव गौतमलाई राजीनामा गराएर नयाँ महासचिवमा आफ्नो दलको मान्छे सेट गर्न लागिएको संसद सचिवालय स्रोतले बतायो ।

गठबन्धन दलका सांसद पनि सशंकित

अप्रत्याशित रुपमा संघीय संसदको महासचिव परिवर्तन गर्न लागिएपछि सत्ता गठबन्धन दलका सांसदहरुले पनि आशंका व्यक्त गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता रमेश लेखकले संसदको महासचिव फेरबदलको काम अप्रत्याशित ढङ्गले आएको बताए । उनले भने, ‘संसदको महासचिवको एक्कासी राजीनामा आउने र अर्को व्यक्तिलाई तत्काल सिफारिस गर्ने अप्रत्याशित जस्तो देखिएको छ । यस्तो के भएको, विस्तृत बुझ्न पाएको त छैन तर अप्रत्याशित रुपमा आएको छ ।’

यता माओवादी केन्द्रका संसदीय दलका नेता हितराज पाण्डेले एक्कासी महासचिव परिवर्तन गर्ने काम ठिक ढङ्गले नभएको बताए ।  रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘ठिक ढङ्गले यो काम भइरहेको छ भन्ने लाग्दैन । पार्टीले त यसबारे छलफल गरेको छैन, तर मेरो व्यक्तिगत धारणा भन्नुपर्दा यो सहज ढङ्गले भएको छैन । अप्रत्याशित रुपमा यो विषय आएको छ ।’ 

संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय सभाको निर्वाचनको प्रक्रिया अघि बढिसकेको अवस्थामा हतार हतार महासचिव परिवर्तन गर्ने काम शंकास्पद रहेको बताए ।

सभापति खतिवडाले भने, ‘राजीनामा त घरायसी कारण देखाएर जसले पनि गर्न सक्छ । कहिलेकाहीँ प्रधानमन्त्रीले पनि गर्न सक्नुहुन्छ, राष्ट्रपतिले पनि गर्न सक्नुहुन्छ । सभामुख र राष्ट्रिय सभा अध्यक्षले पनि त्यसरी राजीनामा गर्न सक्नुहुन्छ । तर किन हतारहतार यस्तो गरिएको छ ? राष्ट्रिय सभाको निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ । राष्ट्रिय सभा अध्यक्ष पनि २ महिनापछि जाने हो । संसदको महासचिवको कार्यकालपनि बाँकी नै थियो । हतार हतार गर्नुको रहस्य हामीले पनि बुझेका छैनौँ ।’

कुनै पार्टीले संसदमा आफ्नो वर्चश्व स्थापित गरिराख्नका लागि यस्तो गरेको ठिक नहुने खतिवडाले बताए । उनले भने, ‘प्रक्रियागत रुपमा आउने मान्छेप्रति हाम्रो विवाद छैन, राम्रो योग्य मान्छे आउँदा विवाद पनि छैन तर हतारहतार गरेर गलत प्रक्रियाबाट काम गर्नुचाहिँ अलि शंकाको विषय बनेको छ ।’

महासचिवका लागि प्रस्ताव गरिएका पाण्डे प्रतिनिधि सभाको सचिव हुनुअघि महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायाधिवक्ता रहेका थिए । कार्यकाल बाँकी छँदै नायव महान्यायाधिवक्ताको पदबाट राजीनामा दिएर उनी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए । संसद् सेवाभन्दा बाहिरबाट आएका कर्मचारीलाई संसद्को महासचिव बनाउन लागेपछि संसद् सचिवालय कर्मचारी वृत्तमा भने असन्तुष्टि चुलिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप